२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

७४ करोड खर्च हुन बाँकी

शंकर आचार्य

पर्सा — आर्थिक वर्ष सकिन डेढ महिना मात्र बाँकी रहँदा जिल्लाका विकास निर्माणसम्बन्धी कार्यालयहरूले बजेट खर्च गर्न सकेका छैनन् ।

कोष तथा लेखा नियन्त्रक कार्यालय वीरगन्जको तथ्यांक अनुसार बजेट खर्च गर्न नसक्ने कार्यालयहरूमा हुलाकी सडक आयोजना कार्यालय, सघन सहरी तथा भवन निर्माण आयोजना, व्यापारिक मार्ग विस्तार आयोजना वीरगन्ज पथलैया खण्ड छन् ।


यी कार्यालयले जनतासँग प्रत्यक्ष सरोकार राख्ने सडक, भवन आदि निर्माण गर्छन् । यिनले बजेट खर्च नसक्दा जनतालाई नै प्रत्यक्ष मार पर्छ । तथ्यांक अनुसार हुलाकी सडक आयोजना कार्यालयको पुँजीगत बजेट १ अर्ब ३७ करोड ४२ लाख १२ हजार रुपैयाँ रहेकोमा मंगलबारसम्म ६२ करोड ८९ लाख ८६ हजार ३ सय ४० रुपैयाँ मात्र खर्च गर्न सकेको छ ।


सघन सहरी तथा भवन निर्माण आयोजनाको पुँजीगत बजेट २ अर्ब १ करोड ३२ लाख ९४ हजार रुपैयाँ रहेकोमा मंगलबारसम्म जम्मा ७३ करोड ४ लाख ५६ हजार ३ सय ३५ रुपैयाँ खर्च गरेको छ । व्यापारिक मार्ग बिस्तार आयोजना पथलैयाको पुँजीगत बजेट ७२ करोड ५८ लाख ७५ हजार रुपैयाँ रहेकोमा ६७ करोड ८ लाख ६२ हजार १ सय २१ रुपैयाँ खर्च गरेको छ ।


पुँजीगत बजेट विकास निर्माणको काममा खर्च गरिन्छ । सामान्यता आर्थिक वर्षको अन्तिम महिना अर्थात् असार महिनामा विकास बजेट बढी खर्च हुने प्रवृत्ति रहेको छ । तर हतारमा गरिने निर्माण गुणस्तरहीन हुने सम्भावना बढी हुन्छ ।


सघन सहरी तथा भवन निर्माण आयोजनाका सूचना अधिकृत एवम् इन्जिनियर अमरेन्द्र झाले चालु आवको असारपछि कार्यालय वीरगन्ज वा जनकपुरमध्ये कहाँ हुने भनी अन्योलले केही ढिलाइ भएको बताए ।


यसबाहेक कार्यालय स्थान निश्चित भएपछि प्राविधिक रूपमा काम गरी ठेक्का सम्झौता गर्न माघ/फागुन महिनासम्म लम्बिएकाले पनि काम ढिलो भएको उनले बताए । कर्मचारी समायोजनपछि कार्यालयमा जनशक्ति अभाव हुँदा पनि काम प्रभावित हुन पुगेको उनले बताए ।

प्रकाशित : जेष्ठ ११, २०७६ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?