२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

ल्यावबिनाको प्रयोगशाला

भरत जर्घामगर

सिरहा — प्रदेश २ का ८ जिल्लाका किसानले लगाउने विभिन्न बालीनालीमा लाग्ने रोग र किराको पहिचान, व्यवस्थापनका लागि प्रत्यक्ष रूपमा प्रयोगशाला सेवा उपलब्ध गराउने उद्देश्यले सदरमुकाम सिरहामा खोलिएको बाली संरक्षण प्रयोगशाला बजेट र जनशक्ति अभावमा उपयोगविहीन भएको छ । प्रयोगशाला नहुँदा सेवा प्रभावित भएको छ ।

ल्यावबिनाको प्रयोगशाला

प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, पर्सा क्षेत्रमा उत्पादन र उत्पादकत्व वृद्धिमार्फत खाद्य सुरक्षा र आय–आर्जनमा टेवा पुर्‍याउने उद्देश्यले प्रदेश सरकार मातहतमा रहने गरी सदरमुकाम सिरहामा २०७५ कात्तिक ७ मा बाली संरक्षण प्रयोगशाला स्थापना गरिएको थियो ।


‘प्रयोगशाला स्थापनाका लागि ६० देखि ७० लाख लाग्ने भए पनि ४ लाख मात्र बजेट दिइएको छ,’ बाली संरक्षण प्रयोगशालाका कार्यालय प्रमुख अशोककुमार यादवले भने, ‘४ लाख रुपैयाँले एउटा माइक्रोस्कोप, किरा समात्ने उपकरण, सुकाउने र संकलन गरेर बाकसमा राख्ने सामग्री मात्र खरिद गर्न पुग्यो ।’


उनका अनुसार उपकरण पूरा नभएकाले नै प्रयोगशाला सुचारु गर्न सकिएको छैन । बाली संरक्षण प्रयोगशालालाई कृषकहरूको खेतबारीमा निरीक्षण गरी रोग किराको नमुना संकलन र तिनको संरक्षणमार्फत बालीनालीको क्षति न्यूनीकरणमा कृषकलाई सहयोग पुर्‍याउने जिम्मेवारी तोकिएको छ ।


त्यसैगरी कार्यालयले कृषिबाली उत्पादनमा नोक्सानी पुर्‍याउने शत्रु जीव र फाइदा पुर्‍याउने मित्र जीवबारे कृषक पाठशाला, स्थानीय जडिबुटीको प्रयोगबारे कृषकलाई जानकारी गराई एकीकृत बाली संरक्षण व्यवस्थापनमा सहयोग पुर्‍याउने, हानिकारक रासायनिक विषादीको प्रयोगमा कमी ल्याउनमा सहयोग गर्नुपर्नेछ ।


त्यसैगरी प्रदेश २ मा उत्पादन हुने बालीनालीमा लाग्ने रोग र किराको पेस्ट म्याप तयार गर्ने, रोग र किराको संकलन तथा संरक्षण गरी पेस्ट म्युजियम स्थापना गर्ने र यसका माध्यमबाट रोग किराको पहिचान तथा व्यवस्थापन सेवा उपलब्ध गराउने लगायत १३ वटा महत्त्वपूर्ण जिम्मेबारी कार्यालयको भए पनि बजेटसँगै जनशक्ति र प्रयोगशाला अभावमा ती सेवा सञ्चालनमा समस्या भएको कार्यालयले जनाएको छ ।


कार्यालयमा प्रमुख यादवसहित एक जना बाली संरक्षण अधिकृत, प्राविधिक सहायक १, सहलेखापाल १ र १ कार्यालय सहयोगीसहित ५ कर्मचारी कार्यरत छन् । जनशक्ति अभाव र सवारी साधन एउटा जिपको भरमा प्रदेश २ का ८ जिल्लामा सेवा प्रवाह गर्न कठिनाइ भएको कार्यालय प्रमुख अशोक कुमार यादवले जानकारी दिए ।

प्रकाशित : जेष्ठ १३, २०७६ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?