मुख्य सडकमै बजार

साताको दुई दिन सडकमै पसल सञ्चालन हुँदा सवारी आवगतम तथा पैदल यात्रुलाई समस्या, दुर्घटनाको जोखिम
सुनिता बराल

महोत्तरी — महोत्तरीको भङगाहा नगरपालिका ५ स्थित मुख्य सडकमा साताको दुई दिन बजार लाग्ने गर्छ । सोमबार र शुक्रबार मुख्य सडकमै लाग्ने ठूलो बजारले सवारी साधन प्रयोगकर्ता तथा पैदल यात्रीले वर्षौंदेखि सास्ती खेप्दै आएका छन् । 

मुख्य सडकमै बजार

सीतापुरबाट पूर्व–पश्चिम राजमार्गको धनुषा जमुनिवास जोड्ने सडक तथा महेन्द्रनगर–सीतापुर, औरही–सीतापुर, सीतापुर–गौशाला सडक खण्डमा चल्ले साना तथा ठूला सवारीलाई बजारमा लाग्ने भीडका कारण निकै समस्या पर्ने गरेको छ ।


बाटोमा लाग्ने बजारमा भएको भीडका कारण पैदलयात्रीलाई मात्रै समस्या नभएर सवारीधसाधन वारपार गराउँदा दुर्घटनाको जोखिम पनि बढ्दै गएको स्थानीय रामजतन मण्डलले बताए । धनुषाको वटेश्वर गाउँपालिकाबाट सीतापुर बजारमा किराना सामान बेच्न आएका सुकेश्वर सिंह आफूले २० औं वर्षदेखि सडकमै पसल थापेर बस्ने गरेको बताउँछन् ।


‘यहाँ पसल राखे बापत सातामा ४० रुपैयाँ ठेक बुझाउनपर्छ,’ सिंहले भने, ‘बजार लाग्ने ठाउँ नै यही हो, अनि कहाँ जाने ? आजसम्म सडकमा पसल किन राखेको भनेर कसैले नसोधेको सिंह बताउँछन् ।


सिंह जस्तै सडकमै पसल थाप्ने धेरै व्यापारीलाई सडकमा पसल राख्दा जोखिम हुन्छ भन्ने थाहा छ, तर बजार गर्ने उचित ठाउँको बन्दोबस्त नगरपालिकाले नमिलाइदिएकाले सडकमै पसल गर्नुपरेको व्यापारीहरू बताउँछन् ।


तीनतिर जाने सडकको संगममा सीतापुर बजार लाग्छ । एउटा बजारमा सयभन्दा बढी पसल राखिन्छन् । ती पसलहरूलाई अन्यत्र व्यवस्थित ठाउँ नभएकाले सडकमै राख्नुपर्ने बाध्यता रहेको व्यापारी रामभगत साहले बताए ।

सडकमै किराना पसल चलाएकी रबिता साहले सडकमा लाग्ने भिडका कारण मानिस अडिएर सामान किन्न सक्दैनन् ।


‘सवारी पास गराउन बाटो खाली गर्नु पर्छ,’ उनले भनिन्, ‘अनि सामान किन्नै लागेका ग्राहाक पनि कता हराउँछन् कता ?’ सडकमा व्यापार गर्दा खासै फाइदा नभएको उनी बताउँछिन् । नगरपालिकाले कुनै समय बजार व्यवस्थापन गरिदेला भन्ने आशामा सडकमै पसल सञ्चालन गर्दै आएको उनले बताइन् ।


३ लाख ३० हजारमा ठेक्का

भंगाहा नगरपालिकाले भने सडकमै लाग्ने बजारलाई वर्षको ३ लाख ३० हजारमा ठेक्का लगाएको छ । सडकमा राखिने पसलहरू नगरपालिकाकै अनुमतिमा सञ्चालन भएका छन् ।


नगरपालिकासँग बजार ठेक्कामा लिएर पसल चलाउन दिएका ठेकेदार प्रमोद यादवले बजार राख्ने ठाउँ सडक भएकाले जोखिम भएको बताए । उनले भने, ‘सडकको व्यापर कम भएकाले व्यापारीहरू सीतापुर बजारलाई छाडेर अन्य जान थालेका छन् ।’


भंगाहा नगरपालिकाका मेयर संजिवकुमार साहले सडकमै बजार लगाउनु नगरको बाध्यता भएको बताए ।वर्षौंदेखि लाग्दै आएको बजारलाई अन्य ठाउँमा सार्न जग्गाको अभाव रहेको साह बताउँछन् । ‘हामी साना हुँदादेखि नै बजार सडकमै लाग्थ्यो,’ उनले भने, अहिले म मेयर भएपछि व्यवस्थापन गर्ने सोच बनाएको छु तर जग्गा छैन ।’


मन्त्रालयले जग्गा किन्ने अनुमति दिएमा आगामी सालको बजेटबाट जग्गा खरिद गरेर भए पनि बजारलाई व्यवस्थापन गर्ने उनले बताए । सडकबाट अन्य ठाउँमा बजार सार्न स्थानीय तथा व्यापारीहरूले माग गरिरहेका छन् ।

प्रकाशित : जेष्ठ १४, २०७६ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?