१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

भुसको नाममा मटर निकासी

मटरको मूल्य नेपालभन्दा भारतमा किलोमै २५ रूपैयाँ बढी पर्ने भएपछि अवैध निकासी बढेको हो 
भूषण यादव

रक्सौल — एकीकृत भन्सार चौकी (आईसीपी) वीरगन्जबाट मटर चुनी (भुस) को नाममा जाँचपास भएको दुई ट्रकमा मटर बरामद भएको छ ।

भुसको नाममा मटर निकासी

प्रक्रिया सकाएर सोमबार साँझ जाँचपास गरी निस्केको बीआर ०६ जी २८३८ र एमपी ०९ एचएफ ८९०९ नम्बरको ट्रकलाई भारत रक्सौल पन्टोकास्थित हवाई अड्डा पोस्टका भारतीय सुरक्षा बलले नियन्त्रणमा लिएको थियो ।

ट्रकमाथि र अगाडिको भागमा भुस राखिएको भए पनि भित्री भागमा २२ टन मटर बरामद भएको छ ।


भारतीय सुरक्षा बलका निरीक्षक अविनाश कुमारका अनुसार एउटा ट्रकबाट ४ सय बोरा मटर बरामद भएको छ । एउटा बोराको तौल ५० केजी रहेको छ । अर्को ट्रकको सामान अहिले चेकजाँच गरिएको छैन । ‘विशेष सूचनाको आधारमा हामीले चेकजाँच गरेका हौं,’ उनले भने, ‘बढ्दो गर्मी र ठूलो परिमाणका कारण अर्को ट्रक हालसम्म चेकजाँच गर्न सकिएको छैन ।’


दुईवटा एकीकृत भन्सार चेक पोस्ट पार गरी आएको ट्रकबाट ठूलो परिमाणमा मटर बरामद हुँदा सुरक्षाकर्मी आश्चर्यमा परेका छन् । मटरको मूल्य नेपालभन्दा भारतमा किलोमै २५ रुपैयाँ बढी पर्ने भएपछि यसको अवैध निकासी बढेको हो । तेस्रो मुलुकबाट नेपाल भित्र्याइएको मटर अवैध तरिकाले भारत निकासी हुने गरेको छ ।


ट्रक चालकबाट बरामद भएका कागजातका अनुसार गत जेठ १ मा वीरगन्जको जय मा बिन्धवासनी इम्पेक्सले सीमावर्ती रक्सौल आश्रम रोडको भरत ट्रेडिङलाई २५ हजार किलो मटर चुनी बिक्री गरेको छ । त्यसैको आधारमा वीरगन्ज उद्योग वाणिज्य संघले उत्पत्तिको प्रमाणपत्र जारी गरिदिएको छ ।


नेपाली उत्पादनको उत्पत्तिको प्रमाणपत्र, इनभ्वाइस बिल र प्याकिङ लिस्टको आधारमा आईसीपी भन्सारका कर्मचारीले जाँचपास गरेका छन् । प्रज्ञापनपत्रमा मटरको चुनी घोषणा गरिएको भए पनि ट्रकभित्र कुन वस्तु लोड गरिएको छ भनेर कसैले भौतिक परीक्षण गरेका छैनन् । वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले वस्तुको भौतिक परीक्षणको जिम्मेवारी संघको नरहेको बताए ।


‘निकासी हुने भन्सार नाकाका कर्मचारी र प्रहरी प्रशासनको अधिकार हो चेकजाँच गर्ने,’ केडियाले भने, ‘गाडी चेकजाँच गर्ने काम संघको हैन, कागजको आधारमा उत्पत्तिको प्रमाणपत्र जारी गर्ने मात्र अधिकार हो ।’ जय मा बिन्धवासनी इम्पेक्सको नाममा संघले २५ हजार किलो मटर चुनी उत्पादन गरेको उत्पत्तिको प्रमाणपत्र जारी गरिदिएको छ ।


आईसीपी भन्सार कार्यालयका प्रवक्ता मनीष महतोले मटर चुनीको नाममा जाँचपास भएको ट्रकबाट मटर बरामद भएको आधिकारिक रूपमा जानकारीमा नआएको प्रतिक्रिया दिए । भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएका दुईवटै ट्रक सोमबार ग्रिन लेनबाट जाँचपास भएको महतोले बताए ।


उनका अनुसार ग्रिन लेनबाट जाँचपास हुँदा वस्तुको भौतिक परीक्षण गरिंदैन । दुवै ट्रकको निकासी शुल्कबापत १२ हजार ५ रुपैयाँ दाखिला गरिएको छ । ट्रकचालक जकी अहमदका अनुसार बाराको परवानीपुरस्थित नारायणी दाल मिल परिसरबाट मटर लोड गरिएको थियो । ‘भन्सार एजेन्ट पशुपतिजीले जाँचपासको काम गराउनुहुन्छ,’ उनले भने, ‘मटर लोड भए पनि भन्सारमा उनले भुसको कागज दिएका हुन् ।’

प्रकाशित : जेष्ठ १५, २०७६ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?