कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कृषि विज्ञहरू भन्छन्–गाँजरझार नियन्त्रण नगरे समस्या

झारको सम्पर्कमा आउने मानिस र पशुलाई स्वास्थ्यमा समस्या आउँछ, अन्य वातावरणमैत्री झारलाई सखाप पार्ने भएकाले पारिस्थितिक प्रणालीसमेत प्रभावित हुन्छ ।
शंकर आचार्य

पर्सा — मानव र पशु दुवैका लागि हानिकारक मानिएको गाँजर झारलाई समयमै नियन्त्रण गर्नुपर्ने विज्ञहरूले बताएका छन् । उनीहरूले यो झारले अन्य उपयोगी झारलाई असर मात्रै गर्दैन, यसको सम्पर्कमा आउनेहरूको स्वास्थ्यमा नकारात्मक प्रभाव छाडछ ।

कृषि विज्ञहरू भन्छन्–गाँजरझार नियन्त्रण नगरे समस्या

मानिसले यो झार कुनै कारणले छुन पुग्दा वा उसको शरीरको सम्पर्कमा आउँदा डरमेटाइटिस, एक्जिमा, एलर्जी, ज्वरो, दमा र ब्रोंकाइटिस जस्ता रोग लाग्न सक्ने विज्ञहरूले जनाएका छन् । यो झारको नजिकै पशुहरू पुगेको अवस्थामा चौपायाको कलेजो, मृगौला र पाचन प्रक्रियामा नराम्रो असर पुर्‍याउँछ । यसको प्रभावले गाई, भैंसीको दूधमा पनि कमी आउँछ । डरमेटाइटिसले पशुमा सेप्टेसिमिया हुन्छ । जसले गर्दा पशुहरू मर्न सक्ने विज्ञहरू बताउँछन् ।

क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरका निर्देशक तुफेल अख्तरले यो झार हानिकारक भएकाले निमिट्यान्न पार्नुपर्ने बताए । उनले भने, ‘यसलाई हातले उखेल्नु हुँदैन ।’ अख्तरले यो झारको कम्पोस्ट मल बनाउन सके नियन्त्रणसँगै मानिस र पशुमा पर्ने असरलाई न्यूनीकरण पनि गर्न सकिने बताए ।

कृषि वैज्ञानिक राजेन्द्र भट्टराईले भारतका धेरै ठाउँमा यो झारबाट मल बनाउने गरिएको र यसबाट ब्रिकेट पनि बनाउन सकिने बताए । फूल फुल्नुअघि नै यसको मल बनाउन सके मानव स्वास्थ्यमा कम हानि पुग्ने उनको भनाइ छ । फूल फुलेको झार भए फूल हटाएर मात्र प्रयोग गर्नु उचित हुने उनले बताए । हातले सोझै नछोई पन्जा, प्लास्टिक वा लामो बाहुला भएको कपडा लगाएर यसलाई छुनुपर्ने उनको सुझाव थियो ।

अर्की कृषि वैज्ञानिक रेणुका श्रेष्ठले यो झारलाई समयमै नियन्त्रण नगरिए यसले अन्य उपयोगी झारहरूलाई पनि लोप गरिदिने खतरा रहेको बताइन् । वैज्ञानिक नाम ‘पार्थेनियम’ रहेको यो झारलाई नेपाल र भारतमा गाँजर तथा कांग्रेस झार पनि भन्ने चलन छ । धेरै दुःख दिने यो घाँस भारतमा सन् १९५० मा अमेरिकाबाट गहुको बिउसँगै भित्रिएको हो । नेपालमा सन् १९६७ मा भारतबाट भित्रिएको हो ।

अहिले यो झार भारत र नेपालमा ठूलो समस्याका रूपमा देखिँदै छ । अनुपयोगी जग्गाहरू रेल्वे लाइन, नहर र सडकको छेउ, आवास क्षेत्र, स्कुल, कलेज, सहरभित्रको बाँझो सार्वजनिक जग्गाहरूमा बढी देखिन्छ । वीरगन्जस्थित चिनी कारखाना सडक, नारायणी सिँचाइको नहर र वीरगन्ज पथलैया सडक छेउहरूमा प्रशस्त मात्रामा पाइन्छ ।

तरकारी, गहुँ, मुसुरो, आलु, उखु, तोरी र राजमा लगाइएको खेतमा पनि कृषकहरूको माझ एउटा ठूलो समस्याका रूपमा देखा परेको छ । यो झार वीरगन्ज, पथलैया, जीतपुर, हेटौंडा, चन्द्रनिगाहापुर, जनकपुर, लाहान, नारायणघाट, बुटवल, भैरहवा र काठमाडौं उपत्यकाका विभिन्न बाँझो ठाउँहरूमा पनि प्रशस्त मात्रामा पाइन्छ । भारतमा कग्रेस आईको सरकार रहेको बेलामा यो झार भित्रिएकाले यसलाई ‘कांग्रेस घाँस’ पनि भन्ने चलन छ ।

यो झार द्रुत गतिमा फैलिने भएकाले अन्य उपयोगी वनस्पतिहरू, स्थानीय जैविक विविधता र पर्यावरणमा समेत प्रतिकूल प्रभाव पर्छ । यसको पात धनियाँको पात जस्तो मिल्दोजुल्दो देखिने भएकाले बजारमा धनियाँको पातसँग मिसाई बेच्ने गरिएको छ । यो एक वर्षीय झार हो । यसको डाँठ भुवादार एवं धेरै हाँगा भएको र गोलो आकारको हुन्छ ।

यसको उचाइ १ देखि डेढ सेन्टिमिटर हुन्छ । यसको एउटा झारमा ५ हजारदेखि १० हजारसम्म बिउ हुन्छ । चिस्यानमा यसको बिउ २४ घण्टामै उम्रन्छ र बिउको उम्रने क्षमता ३ देखि ४ वर्षसम्म रहन्छ । यसले आफ्नो जीवनचक्र ३ देखि ४ महिनामै पूरा गर्छ । एक वर्षमा ३ देखि ४ पुस्ता हुन्छ ।

यसलाई नियन्त्रण गर्न फूल फुल्नुभन्दा अगाडि उखेलेर डाँठलाई राम्ररी जलाउनुपर्छ । प्रभावित क्षेत्रमा सयपत्रीको फूल लगाउन, बालीयुक्त जग्गामा सनई ढैंचा, ग्वार, बाजरा जस्ता छिटो पाक्ने बाली लगाउनु, फूल फुल्नुभन्दा अगाडि नै यो झारलाई उखेली कम्पोस्ट मल बनाउनु, फूल फुल्नुभन्दा अगाडि खाने नुन एक लिटर पानीमा १५ ग्राम मिलाई स्प्रे गर्नुलगायत उपाय विज्ञहरूले सुझाएका थिए ।

बाली विज्ञान महाशाखा खुमलटारले बुधबार परवानीपुरमा आयोजना गरेको पार्थेनियम झारसम्बन्धी जनेचतना अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले यसको नियन्त्रणमा जोड दिइएको हो ।

प्रकाशित : जेष्ठ १८, २०७६ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?