२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

मन्दिरमा फरार महन्तकै रजाइँ

श्यामसुन्दर शशि

जनकपुर — उच्च अदालत जनकपुरले सरकारी कागज कीर्ते तथा ठगी मुद्दामा थुनामा राख्ने आदेश गरेयता फरार रत्नसागर मन्दिरका अपदस्त महन्त वैकुण्ठ दास वैष्णवले नै मन्दिर चलाएको खुलेको छ ।

दासले नियुक्त गरेका आफ्नै भाइ अनिल तिवारीसहित ५ पूजारी, २ टहलु, २ नोकर तथा भान्सेहरू मन्दिरमा अझै पनि कार्यरत छन् भने जनकपुर उपमहानगरपालिका ८ स्थित मठको स्वामित्वमा रहेको ५ बिघा जग्गाको रेखदेख अझै पनि वैकुण्ठ दासका भिनाजु रामचन्द्र कुँवरकै जिम्मा छ ।


सर्वोच्च अदालतको २०७६ वैशाख १६ गतेको फैसलाले महन्त दासको उत्प्रषेण रिट निवेदन खारेज हुने ठहर गरेको थियो । गुठी संस्थान प्रधान कार्यालय धार्मिक तथा सांस्कृतिक सम्पदा व्यवस्थापन शाखाले २०६९ साल असोज १७ गते महन्त पदावधि समाप्त भइसकेकाले दासको जिम्मामा रहेको मठको सबै सामान बुझारथ गर्न पत्र पठाएको थियो । गुठी संस्थानको उक्त ‘पत्राचार बदर गरी पाउँ’ भनी सर्वोच्च गुहारेका दासको रिट निवेदन खारेज गरेपछि उनी महन्त पदबाट स्वतः मुक्त भएका हुन् ।


सर्वोच्चको फैसलापछि गुठी संस्थान प्रधान कार्यालयले गत वैशाख २७ गते गुठी संस्थान शाखा कार्यालय जनकपुरधामलाई निर्णय कार्यान्वयन गर्ने बारे पत्र लेखी रत्नसागर मठका तत्कालीन महन्त दासको जिम्माको मठका सबै सामान बरबुझारथ गरी लिने तथा अर्को व्यवस्था नभएसम्म संस्थानको निर्देशन बमोजिम पुजारीमार्फत पर्व, पूजा, जात्राआदि धर्मलोप नहुनेगरी कार्यालयकै रेखदेख, नियन्त्रण र निर्देशनमा परम्पराबमोजिम चलाउन लगाउने निर्देशन दिएको थियो । गुठी संस्थान प्रधान कार्यालयले उक्त पत्रमा महन्त दाससँग तीन दिनभित्र बुझबुझारथ गरी प्रधान कार्यालयलाई सूचित गर्न निर्देशन समेत दिएको थियो ।


तर प्रधान कार्यालयले पत्र लेखेको झण्डै तीन साता भइसके पनि गुठी संस्थान जनकपुर शाखाले रत्नसागर मठका तत्कालीन महन्तसँग बरबुझारथ गर्न सकेको छैन । प्रधान कार्यालयको निर्देशन अनुसार मठको रेखदेख र नियन्त्रण समेत गर्न सकेको छैन ।


जनकपुर उपमहानगरपालिका ८ स्थित सुन्दर सदन मन्दिरका महन्त नवलकिशोर दासले रत्नसागर मठको सञ्चालन अझै पनि बैकुण्ठ दास वैष्णवले नियुक्त गरेका पूजारी तथा कर्मचारीमार्फत भइरहेको स्वीकार गरेका छन् । ‘मैले नयाँ केही देखेको छैन । पुरानै पूजारी, पुरानै टहलु अनि पूरानै जग्गा रेखदेख गर्ने व्यक्ति अनि महन्त हटाइएको वा फेरिएको कसरी बुझ्ने ?’ नवकिशोर दासले भने ।


गुठी संस्थान शाखा कार्यालय जनकपुरका एक कर्मचारीका अनुसार मन्दिरको रेखदेख तथा कागजपत्र सुरक्षाका लागि शाखा कार्यालयका एक कर्मचारीलाई मठमै खटाइएको छ । ‘महन्त (वैकुण्ठ दास) जीले नै एक किराना पसलबाट सामान ल्याउने बन्दोवस्त मिलाई दिनुभएको छ । पूजा अर्चनामा लाग्ने खर्चको जोहो पनि उहाँले नै गरिरहनु भएको छ,’ पूजारी बालानन्द झाले भने ।

प्रकाशित : जेष्ठ १९, २०७६ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?