युवतीदेखि वृद्धाले बनाए बटसावित्री

श्यामसुन्दर शशि

जनकपुर — श्रीमान्‌काे दीर्घ जीवन तथा सुस्वास्थ्यको कामना गर्दै नवविवाहित युवतीदेखि वृद्धासम्मले सोमबार बटसावित्री पर्व मनाए । सुन्दर परिहनमा सजिएका महिलाले नजिकको बटवृक्षलाई सफा सुग्घर पारे । रातो र पहेलो धागाले वरिपरि घेरा हाले । सविधि पूजा पाठ गरी गर्मीबाट जोगाउन पंखा हम्के ।

युवतीदेखि वृद्धाले बनाए बटसावित्री

अनि वटवृक्षलाई आराम होस् भनेर जिउ पनि सुमसुम्याए । तातो घाममा काम सकेर घर फर्केका थकित श्रीमान्लाई सेवा गरे जस्तै...।


प्रकृतिपूजक मिथिला सभ्यतामा बट (बर) को रूखलाई जेठको औंसीका दिन विशेष पूजा गर्ने चलन छ । जसलाई बट सावित्री पर्व भनिन्छ । बटसावित्री पूजा गर्न बिहानैदेखि विवाहित महिलाको भीड बटवृक्षमुनि लागेको थियो । व्रतालुहरूमा नवविवाहिता युवतीदेखि ७० वर्ष नाघेका प्रौढ महिलाको पनि उल्लेख्य सहभागिता थियो ।


‘आफ्नो श्रीमानको दीर्घ जीवन तथा सुस्वास्थ्यको कामना गर्न व्रत बसेकी हुँ,’ ७० वर्षीया रम्भा मिश्रले भनिन । राममन्दिरस्थित रूखमुनि महिलाहरूको बाक्लै जमघट थियो । यसैगरी गंगासागर, धनुषसागर, बाह्रबिघाभन्दा उत्तरपूर्व अवस्थित बटवृक्ष मुनि श्रद्धालुको ओइरो नै लागेको थियो ।


ब्रतालु रीना देवी भगतका अनुसार उनीहरू ब्रत बस्नुभन्दा एक दिनअघि चोखो खाना खाई औंसीको दिन बिहानैदेखि उपवास बसेकी थिइन् । वटवृक्षको पूजा सकेर मात्र ब्रतालुहरू अन्न जल ग्रहण गर्ने परम्परा छ ।


प्रत्येक वर्ष जेठ औंसीको दिन मनाइने यो पर्व नव विवाहिताहरूका लागि विशेष महत्त्वको हुन्छ । बटवृक्षलाई मैथिलीमा ‘बरको गाछ’ पनि भनिन्छ । मैथिलीमा श्रीमान्लाई ‘बर’ पनि भनिन्छ । मिथिला संस्कृतिमा श्रीमानलाई देवताका रूपमा पूजा गर्ने पुरातन परम्परा हो ।


पण्डित दीगम्बर झा दिनमणिका अनुसार (सावित्रीले आफ्नो मृत पति सत्यवानको पुनर्जीवनका लागि बटवृक्षकै फेदमा पूजा गरेकी थिइन् । बटवृक्षको पूजापछि सत्यवानले पुनर्जीवन प्राप्त गरेको भन्ने पौराणिक मान्यता पाइन्छ । सावित्री आफ्ना श्रीमान्को दीर्घजीवनका लागि ब्रत बसेको दिन प्रत्येक वर्ष बटसावित्री पर्व मनाइने गरिएको पण्डित दिनमणिको कथन छ ।


आधुनिकताको प्रवेशसँगै केही पारम्परिक पर्व लोप हुने अवस्थामा पुगे पनि यस पर्व प्रतिको आकर्षण अझै बढेको छ । ब्रतालु ममता मिश्रका अनुसार सुरु–सुरुमा ब्राह्मण, कायस्थजस्ता केही जातिले मात्र आयोजन गर्ने बटसावित्री पर्व अचेल लगभग सबै जातिका महिलाले मनाउन थालेका छन् । व्रतालु पुनम झाले भनिन्, ‘श्रीमान्को दीर्घ जीवनका लागि आयोजन गर्ने पर्वमा जाति पातिको कुरा गर्नु उचित होइन् । यो मिथिलाञ्चलको मौलिक पर्व हो ।’

प्रकाशित : जेष्ठ २१, २०७६ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?