३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

मुख्य सडक २५ मिटर हुने

शंकर आचार्य

पर्सा — लामो समयदेखि अड्किएको वीरगन्ज महानगरको मुख्य सडक विस्तारको मुद्दाले अब निकास पाउने भएको छ । वीरगन्जको सडकको हकमा सडक विभागले २५ मिटर नै विस्तार गर्ने निर्णय गरेको छ । 
वीरगन्ज महानगरपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले सडक विस्तारको निर्णय सडक विभागले हालै गरेको जानकारीसम्म आफूले पाएको बताए ।

‘सडक विभागले २५ मिटर सडक विस्तार गर्नेबारे मैले पनि सुनेको छु,’ उनले भने, ‘तर हामीलाई सडक विभागबाट उक्त निर्णयको लिखित जानकारी हालसम्म आइसकेको छैन ।’ केन्द्रको निर्णय कार्यान्वयन गर्न महानगरपालिकाको कार्यालयको कुनै आपत्ति वा असहयोग नहुने उनले बताए ।


वीरगन्ज महानगरको छिमेकी बाराको जितपुर सिमरा उपमहानगरपालिकाअन्तर्गत जितपुर बजारमा त्रिभुवन राजपथको दुवैतर्फको घर टहरा सडक विभागले यसै साता हटाएपछि वीरगन्ज महानगरको मुख्य सडकको विस्तारको चर्चा चुलिएको हो । वीरगन्ज पथलैया औद्योगिक करिडोरअन्तर्गतको जितपुर बजारमा सडक विस्तार नहुँदा त्यहाँ ६ लेनको व्यापारिक मार्ग निर्माणको काममा ढिलाइ भइरहेको थियो ।


जितपुरदेखि दक्षिण र उत्तर राजमार्ग विस्तार भइसके पनि जितपुरवासीको असहमतिका कारण जितपुरमा भने सडक विस्तार हुन सकेको थिएन । यस पटक स्थानीयको सहमतिबाटै सडक विभागले सडक विस्तारको काम सम्पन्न गरेको छ । यसअघि जितपुरको यसै समस्याको कारण मोतीहारी–रक्सौल–अमलेखगन्ज पाइपलाइनका पाइप जमिनमुनिबाट ड्रिल गरेर ओछ्याइएको थियो ।


वीरगन्जमा भने जितपुरको सडक विस्तार भए मात्र वीरगन्जको सडक विस्तार हुने आम बुझाइ रहँदै आएको थियो । केहीले महानगरका मेयर विजय सरावगीले चिनि मिलस्थित आफ्नै घर हटाएर उदाहरण बन्ने मुख्य सडकमा घर रहेका अन्यलाई पनि आआफ्नो घर हटाउन दबाब हुने चर्चा गर्दै आएका छन् । जितपुरसँगै अब वीरगन्जको सडक पनि विस्तार हुने चर्चा व्यापक रहेको छ ।

मुलुककै जेठो राजमार्ग त्रिभुवन राजपथको अझै विस्तार नहुँदा महानगरवासीलाई सास्ती हुँदै आएको छ । साँघुरो सडकका कारण विशेषगरी घण्टाघरदेखि छपकैयाँ क्षेत्रमा आवागमनमा बढी समस्या छ । सबैखाले सवारी साधन मुख्य सडकबाटै चलाउने गरिएको र सडकले सवारी साधनको चाप धान्न सकिरहेको छैन ।


मुलुकका अन्य सहरहरूको सडक विस्तार भई सहरले मुहार फेरिसक्दा मुलुकको प्रवेशद्वार वीरगन्जको सडक भने अझै पनि विस्तार हुन सकेको छैन । यो सडक विस्तारको चर्चा झन्डै ३ दशकदेखि हुँदै आए पनि त्यसले मूर्त रूप लिन सकेको छैन ।


यस अवधिमा थुप्रै सरकार परिवर्तन र त्यससँगै सडक विस्तारसँग सरोकार राख्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी फरक फरक दल तथा पृष्ठभूमिबाट आएका मन्त्रीले पाउँदै आएका छन् । उनीहरूले पनि वीरगन्जको मुख्य सडक निकट भविष्यमै विस्तार हुने दाबी गर्दै आए तापनि त्यसो हुन सकेको छैन । महानगरको मुख्य सडक विस्तारको योजना सधैं तुहिँदै आएको छ ।


५ वर्षअघि सडक विस्तारको चर्चा चलेसँगै घरधनीहरूले सडक विस्तार कार्यलाई रोक्न संघर्ष समिति नै गठन गरेर संघर्षका कार्यक्रम पनि गरेका थिए । कहिले सडक छेउका घर धनीले अदालतमा रिट दायर गरेर त कहिले शक्तिकेन्द्रहरूलाई प्रभावमा पारेर सडक विस्तारको काममा अवरोध हुँदै आएको छ । वीरगन्ज महानगरपालिकाको नगरसभाले गत वर्ष महानगरको मुख्य सडक १५/१५ मिटर विस्तारका लागि नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।


वीरगन्जको मुख्य सडकमा महानगरका अधिकांश ठूला उद्योगी व्यवसायी तथा व्यापारिक घरानाहरूको घर तथा व्यापारिक प्रयोजनले निर्माण गरिएका भवन रहेको र उनीहरूले आफ्नो पहुँच प्रयोग गरेर पटक पटक सडक विस्तारको योजनालाई तुहाउँदै आएको आरोप लाग्ने गरेको छ ।


त्रिभुवन राजपथ पथलैया, सिमरा, जितपुर, परवानीपुर हुँदै गण्डक, पावरहाउस चोक भएर महानगरभित्र प्रवेश गर्छ । हाल महानगरको मुख्य सडकको रूपमा प्रयोग हुँदै आएको यो राजपथ घण्टाघर, माईस्थान चोक, आदर्शनगर चोक, अलखिया चोक, छपकैयाँ हुँदै रक्सौल सीमामा पुगेर अन्त्य भएको छ । पावरहाउस चोकदेखि घण्टाघरसम्म त्रिभुवन राजपथको समानान्तर पश्चिमतर्फ महानगरपालिकाको कार्यालय अर्को २ लेन सडक निर्माण गरेको छ ।


तर घण्टाघरदेखि दक्षिणतर्फ त्रिभुवन राजपथ भने अझै पनि २ लेनमै सीमित रहेको छ । वीरगन्ज महानगर अव्यस्थित हुनुको मुख्य कारण महानगरको मुख्य बजार क्षेत्रको साँघुरो सडक नै रहेको श्रीपुर निवासी जसपाल सिंह बताउँछन् । यहाँको मुख्य सडक नै साँघुरो भएपछि महानगरको शोभा नै घटेको उनले बताए । यो सडक विस्तार भए महानगरको शोभा बढ्ने मात्र नभई ट्राफिक जाम तथा अव्यवस्थासमेत समाप्त हुने उनले बताए ।


मुख्य सडकबाटै सबै खाले सवारी गुड्ने र पार्किङ पनि यही सडकमा गरिने भएकाले आधा सडक मोटरसाइकल र अन्य हलुका सवारीले ओगटेको हुन्छ । अलखिया चोकबाट घडिअर्वा हुँदै माईस्थानसम्म एकतर्फी सवारीसाधन चल्ने नियम बनाइए पनि माईस्थानदेखि घण्टाघरसम्म दुवैतर्फ सवारी चल्ने भएकाले यस खण्डमा बढी भीडभाड हुने र जाम लाग्ने समस्या हुन्छ ।


महानगरका सडकमा थपिएका इरिक्साको चापको कारण यो सडकखण्ड झनै अव्यवस्थित भएको छ । त्रिभुवन राजपथको समानान्तर पूर्वतर्फ थप २ वटा सडक छन् । २ र ३ नम्बर सडक नामकरण गरिएका यी सडक झनै साँघुरा छन् । तिनले १ नम्बर सडकलाई वैकल्पिक सडकको रूपमा सहयोग गरेका छैनन् ।


प्रकाशित : जेष्ठ २२, २०७६ ११:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?