२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

दलित बस्ती नागरिकताविहीन

सुनिता बराल

बर्दिवास — महोत्तरीको गौशाला नगरपालिका–१० भरतपुरस्थित मुसहर बस्तीकी ६० वर्षीय अघनिया सदाले नागरिकता पाएकी छैनन् । उनले अब जीवनमा नागरिकता देख्न पाउने आशा कम हुँदै गएको छ । उनले तीन छोरीको विवाह गरिसकेकी छन् । एउटै छोरा सुकुदेव सदा २४ वर्ष पुगिसक्दा पनि नागरिकता पाएका छैनन् । नागरिकरता नपाएपछि रोजगारीका लागि भारतमा बस्छन् ।

अघनिया छोरा साथैमा भैदिए हुन्थ्यो भन्ने मात्रै आशा भएको बताउँछिन् । छोरो २४ वर्ष पुगे पनि नागरिकता नबनेपछि भारत जानुपरेकोमा मात्रै चिन्ता लागिरहने उनले बताइन् । ५० वर्ष पुगेकी मदिना सदालाई नागरिकता कस्तो हुन्छ ? हेर्ने ठूलो रहर छ । नागरिकता नदेखिकनै श्रीमान्को देहावसान भएको उनले सुनाइन् । ‘भएको एउटा सन्तान पनि मद्रासमा छ,’ मदिनाले भनिन्, ‘हाम्रो नागरिकता नभएपछि छोराको पनि छैन । ऊ अहिले २५ वर्षको भयो, १५ वर्षदेखि भारतमै छ ।’ मदिनाका छोरा प्रगाश सदा मात्रै होइन उनकी श्रीमती शिलादेवीको पनि नागरिकता छैन ।


मुसहर समुदायकै गोपी सदा ५५ वर्ष पुगेका भए पनि उनीसँग नागरिकता छैन । गोपीका ३ छोराहरू पनि नागरिकताविहीन छन् । ‘यहाँ केही काम गर्न जाँदा नागरिकता खोज्छ, केही सहयोग र सहुलियत पनि पाइँदैन, गोपीले भने, मेरो बुबा आमाको पनि नागरिकता थिएन, मेरो पनि छैन । त्यसैले छोराहरूको नागरिकता नबनेपछि उनीहरू भारतको पंजाबमा बसेर काम गरी घर चलाइरहेका छन् ।


महोत्तरीको गौशाला १० भरतपुर मुसहरबस्तीमा बसोवास गर्ने मुसहर समुदायका अधिकांश मानिससँग नागरिकता छैन । ७० घरपरिवार भएको मुसहर समुदायका पुरुषहरू अकिकांश घरमा छैनन् । नागरिकता नभएकाले नेपालमा पढ्न र काम गर्न समस्या भएपछि उनीहरू सानै उमेरमा भारत लाग्ने गरेका छन् ।


आर्थिक अवस्था अत्यन्तै कमजोर भएका मुसहरहरू गौशालामा सयौं वर्षदेखि बसोवास गर्दै आएका भए पनि नागरिकता नभएकाले उनीहरूले समस्या झेल्दै आएका छन् । पढ्न लेख्न, सरकारी सेवा सुविधा प्रयोग गर्न र रोजगारीको अवसरबाट पनि उनीहरू वञ्चित हुँदै आएका छन् ।


बुबा आमाको नागरिकता नभएपछि मुसहर समुदायका बालबालिकाको जन्मदर्ता पनि छैन । जन्मदर्ता बिना स्कुलमा भर्ना नलिने भएपछि छोराछोरीले पढ्न नपाएको प्रमिला सदाले बताइन् । नागरिकता नभएकै कारण मुसहरहरूले भोट हाल्ने अधिकार पनि नपाएको र कसैले मुसहरलाई सहयोग नगरेको उनको गुनासो छ ।


वर्षौंदेखि बसोबास गर्दै आएका भए पनि सरकारले बनाएको कानुन अनुसारका कागजपत्र उनीहरूसँग नभएका कारण सरकारी सेवा सुविधा दिन नसकिएको वडा नं १० का वडाध्यक्ष जलिल शेषले बताए ।


जन्मका आधारमा नागरिकता पाउने भएपछि १५/२० जना मुसहरलाई नागरिकताको सिफारिस दिइएको शेषले जानकारी दिए । आफ्नो वडामा गरिब, दलित र पछाडि परेको बस्तीलाई आाफूले प्राथामिकतामा पारेको भए पनि मुसहर समुदायमा नागरिकताको समस्या भएको हुँदा सरकारी सेवा सुविधा कटौती हुने गरेको उनले बताए ।


काम छोडेर भारत नफर्किने सोच लिएर नेपालमा आएका मंगनिया सदा वडाबाट सिफारिस लिएर नागरिकताका लागि २ महिनादेखि भौतारिहेका छन् । २५ वर्ष पुगेका सदालाई नागरिकता बने नेपालमै बसेर काम गर्ने ठूलो इच्छा छ । अनेकौं कागजपत्र ल्याउन भनी प्रशासन कार्यालयले दुःख दिएको भन्दै उनले गुनासो गरे । नागरिकता नभएपछि उनीजस्तै ३ सय युवा तथा पुरुष भारतमा दिन बिताइरहेका छन् । नागरिकता बनाइदिन र नेपालमै काम गर्ने वातावरण मिलाईदिन मुसहर समुदायको जोडदार माग छ ।

प्रकाशित : जेष्ठ २४, २०७६ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?