चिसो पानीका लागि घैंटो

सुनिता बराल

बर्दिवास — साताको बुधबार र शनिबार लाग्ने हाटबजारमा तीस वर्षदेखि माटोका भाँडा बेच्दै जीवजीकोपार्जन गर्दै आएका इन्द्र पण्डित यो व्यवसायबाट सन्तुष्ट छन् । उनले माटोका भाँडो बिक्री निकै बढेको बताए । पण्डितले चाडपर्वमा र गर्मी बढेपछि माटोका भाँडाकुँडाको बिक्री बढ्ने गरेको अनुभव सुनाए । 

चिसो पानीका लागि घैंटो

‘विगतमा थाप्लोमा बोकेर बिक्री गर्नुपर्थ्यो, कुनै बेला बिक्री कम हुन्थ्यो, बोकेरै फर्किनुपर्थ्यो,’ उनले भने, ‘अहिले गाडीले बोक्छ, बिक्री पनि हुन्छ ।’ सातामा ४ हजार रुपैयाँभन्दा बढी मूल्य बराबर भाँडा बिक्री गर्दै आएको उनले बताए । गौशाला नगरपालिका–१ रामनगरबाट बर्दिवास आएकी रामपियारी देवीले पनि व्यापारबाट राम्रो आम्दानी गर्दै आएको बताइन् ।


चाडपर्वमा कलश, पाला, धुपौरो, हन्डी बढी बिक्री हुने गरेको र गर्मीमा भने घैला सुराई जस्ता भाँडाको व्यापार बढी हुने उनको अनुभव छ । महोत्तरीको दक्षिण भेगका भंगाहा, गौशला, रामगोपालपुर, औरही लगायतका धेरैजसो बजारमा यतिबेला माटोका भाडा किन्नेको भिड लाग्ने गरेको छ । गर्मी मौसममा माटोका भाँडामा राखेको पानी चिसो हुने भएकाले तराईबासीका घरमा यसको प्रयोग बढी हुन्छ ।


फागुनदेखि गर्मी सुरु भएपछि भदौसम्म घैलाको बिक्री बढी हुने गरेको अर्का व्यापारी सुशील पण्डितले बताए । फ्रिज नहुनेको घरमा घैला लोकप्रिय छ । आफैं माटोका भाँडा बनाएर बिक्री गर्दै आएका अर्का महोत्तरीको औरही गाउँपालिका–४ कविलासीका सुरेश पण्डितलाई यतिबेला भाँडा बनाउने र बिक्री गर्न भ्याइनभ्याइ छ ।


उनी घरमै माटोका भाँडा बनाउँदै बजारका दिन बर्दिवासस्थित हाटबजारमा पुग्छन् । दिपावली, छट, चौथी, विवाह, व्रतबन्धलगायत विभिन्न चाडवाडमा भाँडा बनाउन भ्याइनभ्याइ हुने गरेको पण्डितले जनाए । उनले तीन दशकदेखि माटोको भाँडा बिक्री गरेर २० जनाको परिवार पाल्दै आएको उनी बताउँछन् ।


गाग्रो ६० रुपैयाँदेखि २ सय ५० मूल्यमा दैनिक १० देखि १५ वटासम्म बिक्री गरेको उनी बताउँछन् ।

प्रकाशित : जेष्ठ २६, २०७६ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?