विद्यार्थीले गरे मतदान

विद्यार्थीलाई दिइने निर्वाचनसम्बन्धी व्यावहारिक ज्ञानले मत बदर हुने सम्भावनामा कमी आउने
शिव पुरी

रौतहट — विद्यालय परिसरमा डोरीको घेराबेरा लगाइएको थियो । मतपेटिका एकातर्फ राखिएको थियो । दृश्यले निर्वाचनमा मतदानको झल्को दिइरहेको थियो । विद्यार्थीहरू यतउता भौंतारिँदै थिए । धेरै जसो कानेखुसी गर्थे । उनीहरू उम्मेदवार र मतदाता भएको पछि मात्र शिक्षकले जानकारी दिएका थिए । त्यसपछि सबै मख्ख परे ।

विद्यार्थीले गरे मतदान

चन्द्रनिगाहपुर–६ स्थित बाल निकेतन माविले विद्यार्थीकै प्रत्यक्ष सहभागितामा निर्वाचन गराएको दृश्य साँच्चिकै हेर्न लायकको थियो । दुई दिनअघि विद्यालय परिसरमा सबै तयारी पूरा गरी विद्यार्थीलाई निर्वाचनसम्बन्धी जानकारी र व्यावहारिक ज्ञान दिइएको थियो । त्यो पनि मतदान मार्फत् ।


विद्यालयले दलको नाम, दल दर्ता, उमेदवार चयन लगायत निर्वाचनका सबै प्रक्रिया अपनाएको थियो । त्यसपछि स्कुल क्याप्टेन लगायत अन्य पदका लागि निर्वाचन गराएको थियो । विद्यार्थी मतदाताका रूपमा उत्साहपूर्वक लाईन बसे । आफ्ना उमेदवारलाई मतदान गरे । निर्वाचनमा कक्षा ५ देखि १० सम्मका विद्यार्थीले भाग लिएका थिए ।


कक्षा ८ देखि १० सम्मका विद्यार्थी उम्मेदवारका रूपमा चुनावी मैदानमा थिए । निर्वाचनका क्रममा ६ वटा दल दर्ता गरेका थिए । स्कुल क्याप्टेन, प्रथम भाइस क्याप्टेन, द्वितीय भाइस क्याप्टेन, स्कुल क्याप्टेन (केटा) स्कुल क्याप्टेन (केटी) गरी ५ वटा पदका लागि ३० जना विद्यार्थीले उम्मेदवारी दिए ।


निर्वाचनका लागि अपनाइने प्रक्रियाका बारे विद्यार्थीलाई व्यावहारिक रूपमै अभ्यास गराइएको विद्यालयका प्रिन्सिपल वृजकिशोर चौरसियाले बताए । विद्यार्थीले निर्वाचन बारे धेरै कुरा प्रष्ट बुझेको बताए । स्कुल क्याप्टेन पदका उम्मेदवार विनु दर्लामीले किताबमा पढेका कुराको यसरी प्रयोगात्मक अभ्यास गर्न पाउँदा निकै खुसी लागेको बताइन् । ‘हाम्रा लागि यो बिल्कुलै नौलो अनुभव हो,’ उनले भनिन्, ‘निर्वाचन के हो ? कसरी उमेदबार बन्ने ? र कसरी मतदान गर्ने भन्नेमा हामी ढुक्क भयौ ।’


उनी मतदानबाट स्कुल क्याप्टेन पदका लागि विजयी भइन् । पार्टी निमार्ण, उम्मेदवार छनोट, मतदातासँग कक्षा/कक्षामा गएर भोट माग्दा आफूहरूमा नेतृत्व तथा निर्णय क्षमताको विकास भएको दर्लामीको अनुभव छ । निर्वाचनको दौरान सिकेका ज्ञान भविष्यमा काम लाग्ने विद्यार्थीको भनाई छ ।


विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा अम्बिका मिश्राले निर्वाचन माध्यमबाट क्याप्टेनहरू छान्न पाउँदा खुसी लागेको बताइन् । विद्यार्थीले निर्वाचनका क्रममा सिकेका ज्ञानलाई गाउँ–घरमा पनि सिकाउने प्रतिबद्धता व्यक्त गरे । पढाइसँगै सिकाइ पनि महत्त्व रहेको उनीहरूको भनाई छ ।


देशमा हुने विभिन्न निर्वाचनमा ठूलाले मतदान गरे जसरी नै विद्यालयमा मत हाल्न पाउँदा विद्यार्थी खुसी देखिएका थिए । विद्यालयतहदेखि नै निर्वाचनको अभ्यास गराउने सके मत बदरको समस्या कम गर्न सकिने विद्यालयका सामाजिक शिक्षक अनमोल कार्कीले बताए । निर्वाचनका लागि दुईवटा बुथ बनाइएको थियो । मतदान अधिकृत, दलका एजेन्ट, सुरक्षाकर्मी लगायत निर्वाचनका लागि आवश्यक सम्पूर्ण कार्यको जिम्मा विद्यार्थीलाई नै दिएको थियो ।

प्रकाशित : जेष्ठ २६, २०७६ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?