२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

जनप्रतिनिधि–कर्मचारी मनमुटाब

‘सुरक्षाको प्रत्याभूति नभए काम गर्दैनौं’
अवधेशकुमार झा

राजविराज — अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको मतभेदका कारण सप्तरी जिल्लाको राजगढ गाउँपालिकाको कामकाज गत शुक्रबारदेखि ठप्प छ । आर्थिक वर्षको अन्तिम समयमा अन्य स्थानीय तहका कार्यालयमा सम्झौता गर्ने, भुक्तानी लिने लगायतका कार्यको चाप भइरहेका बेला राजगढमा कामकाज ठप्प हुँदा सर्वसाधारण मर्कामा छन् । 

असुरक्षा भएको भन्दै प्रमुख प्रशासकीय अधिकृत राजिवकुमार झा सहितका कर्मचारी सुरक्षाको प्रत्याभुति नहुन्जेल काम गर्न नसकिने भन्दै गत शुक्रबारदेखि कार्यालय गएका छैनन् । कार्यालय जाने कर्मचारी पनि बिना कामकाज घर फर्किने गरेका छन् । योजनाहरू कार्यान्वनयन गराउन उपभोक्ता समिति गठन, भुक्तानी लगायतका विषयमा गाउँपालिका अध्यक्ष परमानन्द यादव र प्रमुख प्रशासकीय अधिकृत झाबीच मतभेद भएको हो ।


‘हामी कार्यालयमै असुरक्षित भएपछि कसरी काम गर्न सक्छौं ?’ प्रमुख प्रशासकीय अधिकृत झाले भने, ‘असुरक्षित भएपछि प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएर कार्यालय जान छाडेका हौं ।’ झा र नायव सुब्बा दिनेश यादवमाथि अध्यक्ष परमानन्द यादवका भाइ अशोककुमार यादवले दुर्व्यवहार गरेको कर्मचारीको आरोप छ । काम गर्ने वातावरण नभएसम्म हामी कार्यालय जान सक्देनौं,’ अधिकृत झाले भने, ‘प्रक्रियासंगत नमिलेका कार्यहरू, भुक्तानी गर्न सक्दैनौं ।’


आर्थिक वर्षको अन्तिम समयमा गाउँपालिकाको कार्यालय ठप्प भएपछि प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले अध्यक्ष र प्रमुख प्रसासकीय अधिकृतबीच समन्वय गरी सहज वातावरण बनाउने प्रयास गरे पनि निश्कर्षमा पुग्न सकेको छैन् । ‘कर्मचारीहरूले असुरक्षा भएको भन्दै जानकारी गराएपछि मैले समन्वय गरी दुईपटक छलफल गरें,’ प्रजिअ पौडेलले भने, ‘अध्यक्षजीले उचित वातावरण बनाएर शनिबार साँझसम्म फोन गर्छु भन्नुभएको थियो तर कुनै कुरा आएन्, म फेरि समाधानका लागि प्रयासरत छु ।’


अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीच कार्यक्षेत्रको विवाद हो जस्तो मलाई लाग्छ । प्रजिअ पौडेलले भने । यसबारे गाउँपालिका अध्यक्ष परमानन्द यादवले गाउँपालिकामा देखिएको केही असहज स्थिति सहज भइसकेको दाबी गरे । ‘कुनै ठूलो विवाद छैन्, कार्यालय सञ्चालन भइसकेको छ । अधिकृत मात्रै आएका छैनन्,’ अध्यक्ष यादवले भने, ‘अधिकृतजीले सानो कुरालाई ठूलो बनाउनु भयो, जसका कारण केही असहज स्थिति भयो ।’


विकास बजेट खर्च शून्य

अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको मत भिन्नताका कारण गाउँपालिकाको कार्यालय ठप्प हुँदा राजगढको विकास बजेट खर्च हुन सकेको छैन् ।


कार्यालय सञ्चालनको न्यून खर्च बाहेक विकासित खर्च शून्य अवस्थामै रहेको प्रमुख प्रशासकीय अधिकृत झाले जानकारी दिए । चालू आर्थिक वर्षका लागि ३ सय ५० वटा योजना छनोट भई बजेट छुटयाइएकोमा अहिलेसम्म ३५–४० वटा योजनामा मात्र सम्झौता हुन सकेको उनले जानकारी दिए । तर अध्यक्ष परमानन्द यादवले सबै विकास खर्च आर्थिक वर्षको अन्तसम्म भइसक्ने दाबी गरे ।


गाउँपालिकाको गाउँसभा समयमा हुन नसक्नु, अध्यक्ष र प्रशासकीय अधिकृतबीच मतभेद हुनु, जनप्रतिनधिहरूकै बीचमा पनि कुरा नमिल्नु लगायतका कारणले गाउँपालिकाका विकासका काम सुरु हुन सकेका छैनन् ।


‘कर्मचारी र जनप्रतिनिधिबीच विवाद भएर विकास ठप्प हुनु दुर्भाग्यपूर्ण हो,’ राजगढ गाउँपालिका घर भएका राजपा नेपालका सह महामन्त्री गजेन्द्र मण्डलले भने, ‘विकासका काम हुन नसकेर बजेट फ्रिज भए त्यसको दोष अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले नै लिनुपर्ने हुन्छ ।’ कर्मचारी र जनप्रतिनिधिबीचको विवादका कारण स्थानीय सरकारको अनुभुति नै हुन नसकिरहेको उनले बताए । ‘मेरो घर रहेको वडामा ८० लाख रुपैयाँ बराबरको योजना विनियोजित छ तर विवादका कारण एउटा पनि सम्झौता हुन सकिइरहेको छैन,’ मण्डलले भने, ‘विवादले समग्र गाउँपालिकाकै विकास लथालिङ भएको छ ।’

प्रकाशित : जेष्ठ २८, २०७६ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?