रातु पुल ९ महिनामै खाल्डै-खाल्डा

सुनीता बराल

(बर्दिवास) — पूर्वपश्चिम राजमार्गको महोत्तरी र धनुषा जोड्ने रातु पुल प्रयोगमा आएको ९ महिना नबित्दै भत्कन थालेको छ  । कालिका टु दी रसुवा जेवी कम्पनीले निर्माण गरेको रातु पुलमा गत असोज महिनाबाट सवारी आवागमन खुल्ला गरिएको थियो  ।

पुल संचालनमा आएको थोरै समयमै माथिको कालोपत्रे उप्केर अहिले ठूल्ठूला भ्वाङ परेका छन् । २०७६ पुसभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएको पुल डेढ वर्षअगावै बनेको भन्दै स्थानीय खुसी भएका थिए । अहिले प्रयोगमा आउना साथ पुल भत्कन थालेपछि स्थानीयमा पुल दिगो नहुने हो कि भन्ने चिन्ता सुरु भएको छ ।
बर्दिवास–१ की रिदिमा सिंहले रातुको पुरानो पुल भत्किएपछि पाएको सास्ती सम्झँदै नयाँ पुल बनेपछिको खुसी पनि धेरै टिक्न नसकेको बताइन् । ‘पुलमा भएका खाल्डा हेर्दा स्तरीय बनेनछ भन्ने लागेको छ,’ उनले भनिन्, ‘पुरानो पुल पनि काम नलाग्ने भयो । नयाँ पुल पनि धेरै टिक्ने देखिंदैन ।’

पूर्वपश्चिम राजमार्गमा पर्ने रातु नदीमा २०२६ सालमा बनेको पुल २०७१ को बाढीले भासिएको थियो । पुल भासिएपछि आवतजावतमा कठिनाइ भएसँगै नयाँ पुल निर्माण गरिएको हो ।२४ करोड ६० लाखमा निर्माण खर्चेर बनेको पुल सञ्चालनमा आएको ९ महिनामै २० वटाभन्दा बढी भ्वाङ परेपछि धरापजस्तै देखिएको छ ।

सडक विभाग र निर्माण ठेकेदार कम्पनिको सम्झौताअनुसार अझै पुल सडक विभागले जिम्मा लिने समय नभएकाले उक्त निर्माण कम्पनीले विभाग पुल नबुझाउँदै भत्किन थालेको हो । पुलमा कालोपत्रे उप्केर भ्वाङ बनेपछि अहिले निर्माण कम्पनीले गुणस्तरीय काम नगरेको गुनासो बढेको छ ।

निर्माण कम्पनीका साइट इन्चार्ज कृष्ण ढुंगेलले भने आफूहरूले स्तरहीन काम गरेको नभई रंगरोगन गर्ने बेलाको असावधानीले कालोपत्रे उप्केर भ्वाङ परेको दाबी गरे । ‘हामीले गुणस्तरीय निर्माण सामग्रीको प्रयोग गरेर नै पुल निर्माण गरेका हौं,’ उनले भने, ‘रंगरोगन गर्ने फरक कम्पनीले काम गर्दा ‘थिनर’ भनिने केमिकल जहाँ पर्‍यो त्यही पिच उप्केर भ्वाङ परेको पाइयो ।’ पुल भत्किनुको कारण पत्ता लागिसकेकाले अब केमिकल परेको कालोपत्रे उप्काई पुलको पुनः मर्मत गरिने उनले बताए ।

प्रकाशित : जेष्ठ २९, २०७६ १२:२८
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बिरामीको चाप धान्ने छैन जनशक्ति

जनस्वास्थ्यको प्रत्यक्ष सरोकार राख्ने सेवामा पूर्वाधार र जनशक्ति व्यवस्थापनका लागि तीनै तहका सरकारले ध्यान दिनुपर्ने अवस्था
कान्तिपुर संवाददाता

सरकारी स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्दो छ । चापलाई धान्ने गरी न स्वास्थ्यकर्मी छन्, न त स्रोत साधन । जिल्ला अस्पतालहरूमा अपर्याप्त जनशक्तिसँगै सरकारप्रदत्त बजेट पनि अपुग छ ।

सीमित जनशक्तिले चाहेर पनि सबैलाई स्तरीय सेवा दिन सम्भव नभएको कार्यरत स्वास्थ्यकर्मीको भनाइ छ ।

जिल्ला अस्पताल कलैयामा आउने सुत्केरीले एक वर्षदेखि यातायात खर्च पाउन सकेका छैनन् । सरकारले सुत्केरीलाई यातायात खर्चबापत एक हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ । प्रदेश सरकारले निकासा नगरेका कारण सुत्केरीले यातायात खर्च पाएका छैनन् ।

अस्पताललाई आउनुपर्ने रकम एक वर्षदेखि सुत्केरीलाई वितरण गर्नुपर्ने रकम उपलब्ध गराउन नसकेको अस्पतालले जनाएको छ । राज्यले दिएको सुविधा पाउन सुत्केरीहरू यातायात खर्च पाउन अस्पताल धाउन बाध्य छन् । अस्पताल व्यावस्थापनका लागि सुत्केरी गराउन आवश्यक उपकरण खरिद गर्न नसकेको जनाएको छ । चिकित्सक, नर्सले अतिरिक्त काम गरेबापत पाउनुपर्ने तीन सय रुपैयाँ भत्तासमेत पाउन सकेका छैनन् । गत साउनदेखि हालसम्म साढे तीन हजार सुत्केरीले यातायात खर्च पाउन नसकेको अस्पतालका मेडिकल सुपरिटेन्डेड त्रिभुवनचन्द्र झाले बताए ।

‘चालु आर्थिक वर्ष सुत्केरीलाई यातायात खर्चबापत ९० लाख रुपैयाँ निकासा हुनुपर्ने रकम हालसम्म प्राप्त भएको छैन,’ उनले भने, ‘अस्पतालमा विडम्बना छ ।’ उनले सुत्केरीलाई खर्च नदिई घर पठाएको बताएका छन् ।

‘पटक–पटक माग गर्दा पनि रकम आएको छैन,’ उनले भने, ‘प्रदेश सरकारको मातहतमा आएदेखि अस्पतालको बिजोग छ ।’ राज्यले दिएको यातायात खर्च नपाएपछि सुत्केरीलाई रकम नभएको जानकारी गराउँदा निराश भएर फर्किने गरेको डा.झाले बताए ।

अस्पताल आफैं बिरामी
जिल्लाको ५० शय्याको सुविधायुक्त जिल्ला अस्पतालमा दरबन्दीअनुसार चिकित्सक, स्वास्थ्यकर्मी नआएका कारण बिरामी मर्कामा परेका छन् । लामो समयदेखि अस्पतालको व्यावस्थापन सुधार नभएपछि सेवाग्रही बिरामी अन्यत्र जाने गरेका छन् । यहाँका बिरामी भारतको विभिन्न अस्पतालमा महङ्गो रकम खर्चेर उपचार गराउन बाध्य छन् ।

‘अस्पतालमा जनशक्ति अभाव छ, बिरामीले रोगको उपचार पाउन सकेका छैनन्,’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट त्रिभुवनचन्द्र झाले भने, ‘कलैया अस्पतालको लामो समयदेखि यो स्थायी समस्याजस्तै भएको छ ।’ अस्पतालमा आईसीयू, ब्लड बैंकसमेत छैन् । दरबन्दीका चिकित्सक, स्वास्थ्यकर्मी, उपकरण नहुँदा बिरामीलाई बीरगन्ज अस्पताल जान सिफारिस गर्न बाध्य रहेको झाले बताए ।

अस्पतालमा प्रयोगशाला, एक्सरे, गर्भवतीको शल्यक्रियाका लागि आधारभूत संरचना शल्यक्रिया कक्ष नै छैन । अस्पतालमा गर्भवती जाँच र गम्भीर किसिमको सुत्केरीलाई आकस्मिक रूपमा शल्यक्रिया गर्नुपर्दा प्रयोगशाला र ल्याब असिस्टेन्ट कर्मचारी छैन ।

दरबन्दीअनुसारको चिकित्सक र प्राविधिक नहुनुले यो समस्या बल्झेको उनले बताए । यस्तै कर्मचारी अभावमा अस्पतालभित्रका फार्मेसी दैनिक दुई/चार घण्टा मात्र खुल्छ । कहिलेकाहीं त्यो पनि खुल्दैनन् । डा.झाका अनुसार अस्पतालमा ६० जना स्वास्थ्यकर्मीको दरबन्दीमध्ये भएकोमा २२ जना कार्यरत छन् । अधिकांश चित्सिक स्वास्थ्यकर्मी करारमा छन् ।

अस्पतालमा ९ जना दरबन्दीमध्ये एक जना मेडिकल सुपरिटेन्डेन्ट र अन्य मेडिकल अफिसर ८ जना करारमा छन् । ‘करारमा आउनेलाई टिक्न पनि समस्या छ,’ उनले भने, ‘आकस्मिक सेवा नपाएपछि सेवाग्रहीले चित्सिकलाई दुर्व्यवहार गर्छन् ।’ त्यस्तो अवस्थामा चिकित्सकलाई टिक्न समस्या हुन्छ । विगतमा गर्भवती जाँच, सुत्केरी र शल्यक्रिया सेवा भए पनि उपकरण र जनशक्ति अभावले बन्द छ ।
जनशक्ति र आवश्यक उपकरण अभावमा सञ्चालनमा आउन नसकेको धनुषाको धनुषाधाम प्राथमिक अस्पताल । तस्बिर : शिव र शाहीमान/कान्तिपुर


ग्रामीण क्षेत्रमा झन् समस्या
जनकपुरधामदेखि करिब २५ किलोमिटर उतर धनुषाधाम नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा दरबन्दीअनुसार कर्मचारी छैन । चिकित्सक, स्वास्थ्य सहायक, अहेब, नर्स अनमी, ल्याव असिस्टेन्ट, कार्यालय सहयोगीसहित १४ जनाको दरबन्दी रहे पनि एक जना चिकित्सक, नर्स, स्वास्थ्य सहायक र कार्यालय सहयागीसहित ५ जना मात्र कार्यरहत रहेको स्वास्थ्य केन्द्र प्रमुख डा.अशोक साहले बताए ।

उनका अनुसार स्वास्थ्य केन्द्रमा आवश्यक औषधिसमेत छैन । तीनवटा बेडसहित वहिरङ सेवा मात्रै सञ्चालित स्वास्थ्य केन्द्रमा सेवाग्रहीले आधारभूत स्वास्थ्य सेवासमेत पाउन सकेका छैनन् ।

गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि आरामदायी स्वास्थ्य भवन निर्माण पूरा गरी सहरी विकास तथा भवन निर्माण विभागले धनुषाधाम नगरपालिकालाई हस्तान्तरण गरिसकेको भए पनि सञ्चालनमा आएका छैन । स्वास्थ्य केन्द्रवाट सेवाग्रहीलाई १५ शय्यासहित स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्य भए पनि नवनिर्मित स्वास्थ्य केन्द्रमा आधारभूत भौतिक संरचना व्यावस्थापन भइनसकेकाले संचालनमा नआएको डा.साहले बताए । उनका अनुसार स्वास्थ्य केन्द्रका लागि २० लाख रुपैयाँ बराबरको औषधि टेन्डर गरी खरिद प्रक्रियामा छ ।

स्वास्थ्य संस्थाको व्यावस्थापकीय जिम्मेवारी स्थानीय तहमा दिए पनि स्थानीय तहमा समेत दरबन्दीअनुसार कर्मचारी अभाव र बजेट निकासाको झन्झटिलो प्रक्रियाका कारण फागुनदेखि तलब पारिश्रमिक पाउन नसकेको स्वास्थ्य केन्द्र प्रमुख डा.साहले बताए ।

स्थानीय तह नगरपालिका र गाउँपालिका कार्यालयले शिक्षक, स्वास्थ्यकर्मी, कृषि, भेटरेनरी, महिला विकासलगायत मातहतको कार्यालयका कर्मचारीको तलब भुक्तानी दिने व्यावस्था गरिएको छ । तर स्थानीय तहका कर्मचारी लेखा अधिकृत, लेखापाललगायत कर्मचारीले तलब भुक्तानीमा ढिलाइ गर्दै आएको गुनासो गरेका छन् । धनुषाधाम स्वास्थ्य केन्द्रकै जस्तो समस्या जिल्ला र प्रदेशभरका स्वास्थ्यकर्मीले भोग्दै आएको डा.झाले सुनाए ।

रौतहटमा विशेषज्ञ डाक्टर छैनन्
सदरमुकाम गौरमा रहेको एक मात्र सरकारी अस्पतालमा दुई बर्ष देखि बिशेषज्ञ चिकित्सक छैनन् । जिल्ला अस्पतालमा ९ जना बिशेषज्ञ चिकित्सकको दरबन्दीमध्ये एक जना मात्र कार्यरत छन् । चिकित्सक नभएपछि अस्पतालमा आउने बिरामी स्वास्थ्य सेवावाट बञ्चित छन् । ५० शय्याको सुविधासम्पन्न भनिएको जिल्ला अस्पतालमा एक जना मेडिकल सुपरिटेण्डेन्ट डा.कृष्ण साह मात्र विशेषज्ञ चिकित्सकको रूपमा कार्यरत छन् ।

डा.साह अस्पताल प्रमुख पनि हुन् । अस्पतालमा ९ जना बिशेषज्ञ, मेडिकल अफिसर ४ जना र डेन्टल सर्जन १ जनाको दरबन्दी रहेपनि स्वास्थ्य मन्त्रालयले चिकित्सक पठाएको छैन । मन्त्रालयले मेडिकल अफिसरको दरबन्दी करारमा राखेको छ । करारका चिकित्सक असार मसान्तमा फिर्ता हुन्छन् । त्यसपछि एक जना डाक्टरको भरमा अस्पताल धान्नुपर्ने अवस्था रहेको प्रमुख डा.साहले बताए ।

‘लामो समय सम्म चिकित्सकको अभाव झेलेको अस्पतालमा दरबन्दीअनुसार नहुँदा समस्या भएको छ,’ उनले भने, ‘मन्त्रालय विभागमा पटक पटक जानकारी गराइएको छ । तर पठाउने काम भएको छैन ।’

स्वास्थ्य मन्त्रालय पनि छात्रवृत्ति र करारको भरमा मेडिकल अफिसर पठाएको छ । ती सबैको असारमा म्याद सकिन्छ । दरबन्दीका ६ जना स्टाफ नर्समध्ये एक जना मात्र कार्यरत रहेको प्रमुख डा.साहले बताए ।

अस्पतालमा तीन जना ल्याब टेक्निसियनमध्ये एक जना मात्र छन । उनले दरबन्दीका कर्मचारी पठाइदिन मन्त्रालयमा पटक–पटक पत्राचार गरे पनि सुनुवाइ नभएको सुनाए । जनशक्ति अभाव र आधारभूत पूर्वाधार व्यवस्थापन अभावको कारण अस्पतालको सेवा प्रभावित हुँदै गएकोमा सेवाग्राहीले चौतर्फी विरोध गर्न थालेका छन् । सरकारी अस्पतालमा गुणस्तरीय सेवा प्रवाह गर्न नसकेकाले बिरामी भारतलगायत नेपालको चितवनलगायत अन्यत्र जान बाध्य छन् । अस्पतालमा दैनिक एक सयदेखि दुई सय जनासम्म बहिरङ सेवामा भर्ना हुने गरेका छन् ।

छिमेकी भारतबाट समेत बिरामी आउने हुनाले अस्पतालमा बिरामीको चाप छ । गौर नगरपालिकाका उपमेयर किरण साहले अस्पतालको अवस्था सुधार गर्नुपर्ने बताइन् । ‘लामो समयदेखि विशेषज्ञ चिकित्सक छैनन्, माथिल्लो निकायलाई चासो छैन,’ उनले भने, ‘सम्बन्धित निकायमा जानकारी गराउँदा पनि बेवास्ता गर्नु दुर्भाग्य हो ।’

विगतमा १५ शय्याको जिल्ला अस्पताललाई दुई वर्षदखि ५० शय्या क्षमतामा स्तरोन्नति गरिएको हो । सरकारले सरकारी अस्पतालबाट ७२ प्रकारको औषधि निःशुल्क प्रदान गर्ने घोषणा गरे पनि सेवाग्रहीले पाउन सकेका छैनन् । गौर अस्पतालमा लामो समयदेखि औषधिसमेत अभाव छ । निःशुल्क भनिएकोमध्ये मुस्किलले ३० प्रकारको औषधि उपलब्ध छ ।

पर्सामा रगत मौज्दात घट्यो
कुनै पनि बेला पर्सामा रगतको अभाव हुन सक्छ, किनकि रगत बैंकमा मौज्दाज घट्दो छ । गत साता केन्द्रमा १ सय ५० देखि २ सयको हाराहारीमा मात्र रगतको मौज्दात रहेको छ । कुनै सामूहिक दुर्घटना भई हाले वा बिरामीको चाप बढे यतिको मौज्दातले धेरै दिन धान्न नसक्ने अवस्था छ ।

मौज्दात सहित नियमित माग धान्न केन्द्रमा कम्तीमा ५ सय देखि ६ सय पोका सम्म रगतको केन्द्रका प्रमुख सौरभराज पाण्डेले गर्मी मौसम र मुस्लिम समुदायको रमजान महिनासमेत परेकाले रक्तदान कार्यक्रम नियमित रूपमा नभएर रगतको मौज्दात घटेको बताए ।

‘नेपालमा मात्र होइन, एसियामै बर्सेनि जेठ र असार महिनामा गर्मीका कारण रक्तदान गर्ने प्रवृत्तिमा निकै कमी आउछ, त्यसमाथि यस वर्ष मुस्लिम समुदायको रमाजन महिना परेकाले रक्तदाताको कमी भएको हो,’ उनले भने, ‘यो सातादेखि नियमित रक्तदान कार्यक्रमको तालिका छ, रगतको मौज्दात बढ्ने आशा गरेका छौं ।’

हाल केन्द्रमा एबी पोजेटिभ रक्त समूहको रगतको मौज्दात नरहेको उनले बताए । ओ पोजेटिभ र बी पोजेटिभको मौज्दात भने रहेको छ । वीरगन्जमा हालका दिनमा दैनिक ३० देखि ४० पोका रगतको आवश्यकता रहेको छ । यहाँका झन्डै एक दर्जन ठूला साना तथा साना अस्पताल तथा नर्सिङ होमबाट दैनिक रगतको माग आइरहन्छ । त्यसबाहेक रगतकै कारण कतिपय भारतीय बिरामीहरू यहाँका अस्पतालमा भर्ना भई उपचार गराउँछन् ।

सीमावर्ती क्षेत्रमा रगत नपाइने भएकाले मृगौलाको डायलोसिस, थाल्सेमिया, एनिमियाजस्ता रोगका बिरामीहरू नेपाल आई उपचार गराउँछन् । यस्तो अवस्थामा भारतीयको रगतको मागको चाप पनि यसै केन्द्रले धान्नुपरेको छ । रगतको अभाव हुँदा कतिपय बिरामीलाई दुर्लभ रक्त समूहको रगतको आवश्यकता पर्दा यहाका सामाजिक अभियन्ताहरूले सामाजिक सञ्जालको प्रयोग तथा व्यक्तिगत सम्पर्क माध्यमबाट पनि रगत जुटाउँदै आएका छन् ।

शाहीमान राई (जनकपुर), शिव पुरी (रौतहट), लक्ष्मी साह (बारा) र शंकर आचार्य (पर्सा)

प्रकाशित : जेष्ठ २९, २०७६ १२:२५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्