फर्जी तालिम दिने पक्राउ

लक्ष्मी साह

बारा — जिल्लाका विभिन्न विद्यालयका राहत शिक्षिका र बाल विकास सहयोगी कार्यकर्तालाई ‘शैक्षिक तालिम दिन्छौं’ भन्दै अवैद्य रकम असुल्ने गरेको पाइएको छ । एक सयभन्दा बढी शिक्षिकाबाट प्रति शिक्षक २ हजार ५ सयदेखि ३ हजारसम्म गरेर ३ लाखभन्दा बढी रकम असुल गरिएको पाइएको हो ।

प्रारम्भिक बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता र राहत दरबन्दीका शिक्षिकालाई तालिम दिने भन्दै अग्र्रिम रकम उठाउँदै हिँडेका एक जनालाई प्र्रहरीले पक्रेपछि यो रहस्य खुलेको हो ।

प्रहरीले ठगी गरेको आरोपमा सर्लाहीको हरिपुर नगरपालिका–२, का ३५ को विजय चौधरी भन्ने वीरेन्द्र कुवँरलाई कोल्हवी नगरपालिका–३, स्थित नेपाल राष्ट्रिय आधारभुत विद्यालयबाट रकम संकलन गर्दैगर्दा सोमबार पक्राउ गरेपछि अवैद्य रकम असुलेको पुष्टि भएको हो ।

पक्राउ परेका कुवँरको साथबाट रकम संकलनमा प्र्रयोग गरिएको १ ठेली रसिद, संस्थाको लेटर प्याड, केही थान सिडी चक्काहरू र उद्योग मन्त्रालयअन्तर्गतको कम्पनी रजिष्टारको कार्यालयमा दर्ता गरिएको एउटा गैरसरकारी संस्थाको प्र्रमाणपत्र बरामद भएको इलाका प्रहरी कार्यालय कोल्हवीका प्रहरी निरीक्षक पुष्कर बोगटीले बताए ।

प्रहरीले कुवँरमाथि ठगी मुद्दा दर्ता गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ । ‘पहिलेदेखि नै गुनासो आएको थियो,’ प्रहरी निरीक्षक बोगटीले भने, ‘विभिन्न विद्यालयबाट १ सय भन्दा बढीसँग रकम संकलन गरिसकेको रहेछन् ।’ निरीक्षक बोगटीले जिल्लाका दुर्गम क्षेत्रका विद्यालयमा कार्यरत शिक्षिकाबाट कुवँरले रकम संकलन गरेको उनले बताए ।

‘सेभ द स्कुल’ बहुउद्देश्यीय संस्थाको नाममा कुवँरले एक महिनायता जिल्लाको निजगढ, कोल्हवी, सिमरा र छिमेकी रौतहटका विभिन्न विद्यालयका प्रधानाध्यापक र शिक्षकलाईसमेत प्रभावमा पारेर तालिम दिने नाममा रकम उठाउदैँ आएका थिए । कुवँरले निजगढ नगरपालिकाको विभिन्न विद्यालयबाट २० जनासँग २५/२५ सयका दरले रकम उठाएको पाइएको छ । निजगढ–११ का नेपाल राष्ट्रिय माध्यमिक विद्यालय रतनपुरका शिक्षक कुलदिप ठाकुरका अनुसार कुवँरले जेठ २४ बाट तालिम संचालन गर्ने भन्दै एक महिना अघि पैसा लिइ तालिम दिएका छैनन् । ‘रकम लिएर गएपछि सम्पर्कविहिन भए, उनले भने, ‘अहिले एर्कैचोटी पक्राउ परेपछि ठगी गरेको थाहा भयो ।’

कुवँरले तालिम वापत हरेकसँग अग्र्रीम २ हजार ५ सय र प्रमाण पत्रको छुट्टै थप ५ सय गरी ३ हजारका दरले अवैद्य रकम अुलेको सुनाए । संस्थाले बालबालिकाको लागि उपयोगी शैक्षिक सामाग्र्री र पुस्तकसमेत सप्लाई गर्ने भन्दै कुवँरले विद्यालयमार्फत खरिदको लागि प्रस्ताव राख्ने गरेको पनि सुनाए । केही समयअघि चौधरीले कोल्हवी नगरपालिका कार्यालयमा पुगेर नगर भित्रका विद्यालयको लागि आफ्नो संस्था मार्फत शैक्षिक सामाग्र्री खरिद गरिदिन आग्र्रहसमेत गरेको कोल्हवी नगरपालिकाका प्रमुख भरतबहादुर भण्डारीले जानाकारी दिए ।

प्रकाशित : जेष्ठ ३०, २०७६ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

संस्कृति संरक्षण गर्दै होमस्टे

छुट्टी मनाउन, परिवार, साथीभाइ घुमफिर गर्नेदेखि अध्ययन अवलोकन, गोष्ठी, तालिमलगायत कार्यक्रम गर्न जानेको संख्या वृद्धि हुँदै गएको छ
सम्झना रसाइली

तनहुँ — होमस्टे सञ्चालनसँगै लोपको संघारमा पुगेका परम्परागत संस्कार र संस्कृति संरक्षणलाई प्राथमिकता दिन थालिएको छ । तनहुँको भानु नगरपालिका–१३ मिर्लुङस्थित टुटेपानी सामुदायिक होमस्टे (घरबास) सञ्चालकले आफ्नो समुदायको परम्पगरागत संस्कृति संरक्षणलाई पनि प्राथमिकतामा राखेका छन् ।

चार वर्षअघिदेखि सञ्चालित होमस्टेमा आउने पाहुनालाई गुरुङ समुदायको परम्परागत संस्कृति देखाएर स्वागत गर्नुका साथै आफ्ना नयाँ पुस्तालाई संस्कृतिका विषयमा जानकारी गराउन थालेका हुन् । ३१ घर गुरुङ समुदायको बसोबास रहेको टुटेपानीमा १६ घरमा होमस्टे सञ्चालन गरिएको छ ।

करिब ४० पाहुना राख्ने क्षमता रहेको होमस्टेमा आउने पाहुनालाई परम्परागत संस्कृति देखाउँदै जातीय वेशभूषामा सजिएर स्वागत गर्ने होमस्टे सञ्चालक समितिका अध्यक्ष होमबहादुर गुरुङ बताउँछन् । स्थानीयले बाँसुरीको सुरिलो धुन र मादल बजाएर प्रवेशद्वारबाटै फूलमालाले स्वागत गर्छन् ।

आफ्नो सांस्कृतिक नृत्य तथा रिपा लगाउनुका साथै सगुन (रक्सी) खुवाएर स्वागत पनि गरिन्छ । होमस्टे सञ्चालनसँगै लोपको संघारमा पुगेका गुरुङ समुदायको परम्परागत संस्कृतिलाई पनि देखाउन थालिएको अध्यक्ष गुरुङ बताउँछन् । उनले भने, ‘पाहुनालाई मनोरञ्जन तथा आफ्नो गाउँका बारेमा जानकारी गराउने गीत, परम्परागत सांस्कृतिक नृत्य बाह्रमासे घाटु, सोरठी, पाउदुरे, कोडी, कृष्णचरित्र, चुटका रस्थानीय लोकसंस्कृति प्रस्तुत गरिन्छ ।’

‘होमस्टेमा आउने पाहुनालाई गुरुङ समुदायको सांस्कृतिक नृत्य देखाई मनोरञ्जनका साथै लोपोन्मुख संस्कृति संरक्षण र हाम्रा नयाँ पुस्तालाई संस्कृतिका विषयमा जानकारी गराउनु हाम्रो मुख्य लक्ष्य छ,’ अध्यक्ष गुरुङ भन्छन्, ‘पराम्परागत संस्कृति भुल्दै गएका छोरानातिलाई आफ्नो संस्कृतिबारे जानकारी दिन तथा पाहुनालाई पनि मनोरञ्जन दिन होमस्टे कार्यक्रम निकै प्रभावकारी भएको छ ।’

होमस्टेका कारण स्थानीयमा नेतृत्व गर्ने क्षमताको विकास भएको होमस्टे सञ्चालक समितिका सचिव अम्मर गुरुङ बताउँछन् । उनी भन्छन्, ‘पहिला गाउँमा कोही आउँदा को आयो ? किन आयो ? सोध्न पनि सकिँदैनथ्यो । होमस्टे सञ्चालनपछिका तालिम, अध्ययन अवलोकन भ्रमणसाथै गाउँमा विभिन्न स्थानबाट आउने पाहुनाका कारण बोल्ने कलाको विकास भएको छ भने आर्थिक उपार्जनको पाटो पनि बलियो बन्दै गएको छ ।’

महिलामा जागरण आएको छ । चुलोचौकोबाट नेतृत्व तहसम्म पुगेका छन् । होमस्टेमा आउने पाहुनालाई स्वागत गर्नेदेखि उनीहरूसँग सहजै बोलचाल, एकआपसका अनुभव आदानप्रदान गर्दै अगाडि बढ्न सहज हुँदै गएको सुनादेवी आमा समूहकी अध्यक्ष नन्दकुमारी गुरुङ बताउँछिन् । उनी भन्छिन्, ‘हामी चुलोचौका, मेलापातमा मात्रै भुलेका थियौं, होमस्टे सञ्चालनपछि नेतृत्वदायी भूमिका निर्वाह गर्दै नयाँनयाँ मान्छेसँग बोल्न, समस्या, आवश्यकता सरोकारवाला निकायसम्मपुर्‍याउनसमेत सक्षम भएका छौं ।’

हरियाली जंगलको बीचमा अवस्थित सुन्दर, शान्त वातावरण, एउटै रातो रङले रंगिएका घरका छानाका साथै जिल्लाकै दोस्रो अग्लो पहाड मिर्लुङकोटको काखमा अवस्थित छ गाउँ । ७ जिल्ला, हिमशृंखलाको दृश्यावलोकन, मिर्लुङकोट भयाँरथानको मन्दिर, ऐतिहासिक ठुलोढुंगा र ढुंगाभित्रको सिद्ध गुफा, स्थानीय उत्पादित खानाका परिकार, सहिद पार्क आदि यहाँका आकर्षण हुन् ।

ग्रामीण पर्यटनको उत्कृष्ट गन्तव्यका रूपमा विकास हुँदै गएको यो गाउँमा आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउन थालेको छ । होमस्टेमा छुट्टी मनाउन, परिवार, साथीभाइ घुमफिर गर्नेदेखि होमस्टेसम्बन्धी अध्ययन अवलोकन, गोष्ठी, तालिमलगायत कार्यक्रम सञ्चालन गर्नजानेको संख्या वृद्धि हुँदै गएको छ ।

प्रकाशित : जेष्ठ ३०, २०७६ ०९:४४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT