२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

जनकपुरमा सिटी रिक्साको मनोमानी

सन्तोष सिंह

धनुषा — जनकपुर उपमहानगरपालिका–७ बस्ने सिटी रिक्सा चालक श्रवण साहले एक महिला यात्रीमाथि गालीगलौज गर्दै हातपात गरे । रामानन्द चोकमा रिक्सा चढेकी महिलाले करिब १ किलोमिटरको दूरीमा रहेको भ्रमरपुरा चोक ओलिर्एपछि साहले २० रुपैयाँ भाडा मागे । तर, महिलाले १० रुपैयाँ मात्र भाडा रहेको भन्दै बढी दिन नमानेपछि चालक साहले हातपात गरे । 

गएको बिहीबार मुरली चोकमा साँझ करिब ८ बजे एक वृद्ध र रिक्सा चालकबीच भाडाको विषयमा विवाद भयो । रामानन्द चोकबाट तीन किलोमिटर रिक्सा चढेर आएको ती वृद्धसँग चालकले ६० रुपैयाँ माग्दै थिए । तर उनले भने ४० रुपैयाँभन्दा बढी दिन तयार नभएपछि विवाद भयो ।


प्रदेश २ को केन्द्र जनकपुरमा सिटि रिक्सा चालकले मनलाग्दी भाडा असुल्दै गरेका यी प्रतिनिधि घटनामात्र हुन् । सरोकारबाला निकाय मौन बस्दा चालकहरूले मनपरी भाडा लिने गरेका छन् । चारजना यात्रु ओसार्ने रिक्सामा ६ जनासम्म यात्रु चढाउँछन् । जनकपुरधाम उपमहानगरपालिकाले निर्धारण गरेको भाडादर कार्यान्वयन हुन नसक्दा सेवाग्राहीले र चालकबीच हातपातको अवस्था आउने गरेको छ । भाडा दर निर्धारण गरे पनि कार्यन्वयन नहुँदा समस्या भएको उपमहानगरकी उपप्रमुख रिता मिश्रले बताइन । अनुगमन हुन नसक्दा चालकले मनोमानी भाडा अशुल्दै छन्, उनले भने ।


उपमहानगरले ५ सय १ वटा अटोरिक्सा चलाउन सिफारिस गरी दर्ता बन्द गर्दा रिक्साधनीले यातायात व्यवस्था कार्यालय र सिडियो कार्यालयबाट सिफारिस लिएर रिक्सा चलाउने गरेका छन्, उनले भने, ‘जनकपुरमा आवश्यकताभन्दा बढी रिक्सा छ । हामीले दर्ता बन्द गर्दा अरू ठाउँबाट सिफारिस गराएर रिक्सा खरिद गरिएको छ ।’


इ रिक्सा सञ्चालनका लागि सिफारिस स्थानीय तहले दिनुपर्ने हो तर अन्य निकायले अनुमति दिंदा समस्या भएको उपमहानगरकी उपप्रमुख रीता झाले भनिन् । रिक्साकै कारण ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण भएको धनुषा ट्राफिक प्रहरी कार्यालयका प्रमुख दीपक साहले बताए ।

प्रकाशित : जेष्ठ ३०, २०७६ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?