कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

अलपत्र पुलको ‘डिजाइन रिभ्यू’

शिव पुरी

रौतहट — दुर्गा भगवती गाउँपालिका ५ स्थित रौतहट–सर्लाही सीमाक्षेत्रको बडहर्वा नजिक बागमती नदीमा निर्माणाधीन पुलको ‘डिजाइन रिभ्यु’को काम सुरु भएको छ । 

अलपत्र पुलको ‘डिजाइन रिभ्यू’

नदीले धार परिवर्तन गरेपछि झन्डै ६ वर्षदेखि निर्माण बन्द भएको थियो । सम्झौता भएको ८ वर्ष बिते पनि सम्पन्न हुन नसकेर पुल अलपत्र अवस्थामा छ । डिजाइन पुनर्मूल्यांकनको प्रतिवेदन आएपछि सम्बन्धित निकायले काम सुरु गर्न पहल थाल्ने जनाएको छ ।


हुलाकी राजमार्ग अन्तर्गतको लामो समयदेखि अलपत्र पक्की पुलको पुनर्मूल्यांकन बुधबारबाट सुरु भएको हो । हुलाकी सड निर्देशनालयको पहलमा अभियान कन्सलटेन्ट काठमाडौंले रिभ्युको जिम्मा लिएको छ । कन्सलटेन्टका इन्जिनियरद्वय विवेक गौतम र मुनिव वैद्यले द्रोण क्यामराको मद्दतबाट भरपर्दो र आकर्षक पुलका लागि डिजाइन रिभ्युको काम सुरु गरेको हुलाकी सडक योजना पर्साका योजना प्रमुख दिपेन्द्र पाण्डेले जानकारी दिए ।


‘खोलाले धार परिवर्तन गरेको अवस्था छ,’ उनले भने, ‘अब कसरी निर्माण गर्ने भन्ने डिजाइन रिभ्युको प्रतिवेदन हेरेर आगामी वर्षबाट काम सुरु गर्न ठेकेदारलाई भन्छौं ।’ बागमतीमा पक्की पुलको स्पान तयार हुँदै गर्दा नदिले भार परिवर्तन गरेपछि काम बन्द भएको थियो । तराईका जिल्ला सदरमुकामलाई जोड्ने महत्त्वाकांक्षी परियोजना अन्तर्गत नदीमा निर्माण भईरहेको पुल ६ वर्षदेखि अलपत्र अवस्थामा छ ।


समयमा निर्माणको काम सम्पन्न नहुँदा स्थानीयलाई वर्षा याममा जोखिम मोलेर वारीपारी गर्न डुंगाको भर पर्नुपर्छ । पुलको लुम्बिनी बिल्डर्स प्रालि सिद्धार्थनगरले ३५ करोड ८९ लाख ९ हजार ४ सय ३३ रुपैयाँमा ठेक्का सकार गरेको हो । ठेक्का लुम्बिनीले सकार गरे पनि निर्माणको काम पप्पु कन्सन्ट्रक्सनले थालेको हो । ठेक्का सकार गर्ने बेला पप्पुको कम्पनी कालोसूचीमा परेको थियो । उसले लम्बिनीको नाममा ठेक्का सकारेर काम थालेको हो ।


पप्पु कन्ट्रक्सनका तत्कालीन सञ्चालक रौनियारले सडक विभागसँग २०६७ जेठ ३१ गते लिखित रूपमा हस्ताक्षर गर्दै २०७० जेठ ३० गते पुलको निर्माण सम्पन्न गर्ने सम्झौता गरेका थिए । निर्माण हुने पुलको लम्बाई ६३३ मिटर र चौडाई डबल लेन्थको छ । पुलमा १७ स्पान सहितको सम्झौता भएको थियो । अहिले १७ वटैको काम सकिएको छ । हुलाकी सडकका अनुसार अहिलेसम्म ६० प्रतिशतको हाराहारीमा काम सकिएको छ । फर्म लुम्बनीको भए पनि सम्पूर्ण कामको जिम्मा पप्पु कन्ट्रक्सनले लिएको आयोजना प्रमुख पाण्डेले जनाए ।


एकतर्फि ठेक्का रद्ध

निर्माणाधीन पुलको ठेकेदारले एकतर्फि रूपमा ठेक्का रद्द गरेर बसेको छ । नदीले धार परिवर्तन गरेपछि झण्डै ६ वर्षदेखी निर्माणको काम बन्द भएको थियो । सम्बन्धित निकायले निर्माण सुरु गर्ने विषयमा निर्णय लिन ढिला गरेको भन्दै निर्माण कम्पनीले एकतर्फि ठेक्का रद्द गरेको हो ।


हुलाकी सडक आयोजना योजना अन्तर्गत दुवै जिल्लाको सीमा जोड्ने गरी बागमतीमा पुल निर्माणकै क्रममा काम बन्द गरिएको थियो । नदीले धार बदलेपछि निर्माणको विषयमा अनुसन्धान गर्नुपर्ने आयोजनाले जानकारी दिँदै काम अघि नबढाउन भनिएको थियो । साविकको स्थानभन्दा पूर्वबाट खोला बग्न थालेपछि निर्माणको काम तत्कालै रोकियो ।


ठेकेदारले डिजाईन गलत भएको भन्दै एकतर्फि रुपमा ठेक्का रद्ध गरेको पत्र पठाएको छ । उसलेले आफ्नो तर्फबाट ठेक्का तोडेको पत्र पठाएको छ,’ प्रमुख पाण्डले भने, ‘डिजाईन रिभ्यूको काम सकेर प्रतिबेदन आएपछि ठेकेदारलाई काम सुरु गर्न भन्छौं ।’ उसले काम नगरेको अवस्थामा नयाँ टेन्डर निकाल्नुको बिकल्प नरहेको हुलाकी सडकले जनायो । पुल निर्माण गरीएको भन्दा ८ सय मिटर पूर्वबाट खोला बग्न थाले पछि काम रोकिएको सडक निर्देशनालयले जनायो ।

प्रकाशित : जेष्ठ ३०, २०७६ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?