मुख्यमन्त्री कार्यालयमा साइकल थुप्रिए

सन्तोष सिंह

धनुषा — जनकपुरस्थित प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय परिसर साइकलले भरिएको छ । मुख्यमन्त्री ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत प्रदेशको ८ वटै जिल्लामा छात्रालाई प्रदान गर्न साइकल खरिद गरिएको छ । पहिलो चरणमा वितरण गरिने साइकल मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा धमाधम तयार गरिँदै छ ।

मुख्यमन्त्री कार्यालयले सामुदायिक विद्यालयमा अध्ययनरत ८ जिल्लाका १४ हजार छात्रालाई साइकल वितरण गर्न लागेको छ । छोरीलाई पढाइमा प्रोत्साहित गर्ने उद्देश्यले पहिलो चरणमा ४ हजार र दोस्रो चरणमा १० हजार साइकल वितरण गर्न लोगेको ‘बेटी पढाउ बेटी बचाउ’ अभियानका कार्यक्रम संयोजक प्रियंका यादवले बताइन् । कार्यालय १० हजार साइकल खरिद गर्ने प्रक्रियामा रहेको उनले बताइन् ।


पहिलो चरणमा ४ हजार साइकल खरिद गरी वितरण गरिने प्रक्रियामा छ, संयोजक यादवले भनिन्, ‘दलित, गरिब, जेहन्दार र टाढाबाट आउने विद्यार्थीको नाम विद्यालयले सिफारिस गरेपछि मागअनुसार साइकल उपलब्ध गराउने छौं ।’ रौतहट, बारा र पर्साका विद्यालयका लागि वीरगन्जमा, सर्लाही, महोतरी र धनुषाका विद्यालयका लागि जनकपुरमा, सिरहा र सप्तरीका लागि राजविराजमा साइकल राखिएको छ ।


पहिलो चरणमा सामुदायिक विद्यालयको कक्षा ८ देखि १० कक्षासम्म र दोस्रो चरणमा कक्षा १२ सम्मका छात्राहरूलाई साइकल वितरण गरिने योजना रहेको मुख्यमन्त्री कार्यालयले जनाएको छ । प्रदेश २ मा अधारभुत तहको पढाइपछि छात्रा विद्यालय छोडने संख्या उच्च रहेकाले माध्यमिक तहसम्म छात्रालाई पढन प्रोत्सान गर्न साइकल उपलब्ध गराउन लागिएको संयोजक यादवले बताइन ।


५/६ कक्षा पढदा पढदै छोरी विद्यालय जान छोडछिन्, यादवले भनिन्, ‘माध्यमिक स्तरको विद्यालय घरबाट टाढा हुन्छ । टाढा भएकै कारण छोरी विद्यालय जानबाट वञ्चित हुनु परेको छ ।’ साइकल पाएपछि छात्राको विद्यालय जाने उत्साह बढने आपेक्षा राखेका छौं, उनले भने । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ल्याएको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत छोरी बिमा, विद्यालयमा छात्रामैत्री शौचालय, साइकल वितरण कार्यक्रम भइरहेको छ ।


सरकारले छोरी बिमा कार्यक्रममा २० वर्ष १ लाख २५ हजार रकम दिने योजना ल्याएको छ । ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानले प्रदेशमा सामाजिक रूपान्तरणको प्रयास भएको मुख्यमन्त्री राउत बताउँछन् । प्रदेशमा बालविवाह, महिला हिंसा र भ्रुण हत्या न्यूनीकरण गरी शिक्षामा छोरीको पहुँच बढाउन अभियनले ल्याइएको हो ।

प्रकाशित : जेष्ठ ३१, २०७६ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?