कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

'व्यापारिक मार्गले ३ सय उद्योग डुब्ने’

शंकर आचार्य

पर्सा — निर्माणाधीन पथलैया वीरगन्ज व्यापारिक मार्गको संरचनाका कारण वीरगन्ज पथलैया औद्योगिक करिडोरका तीन सयभन्दा बढी उद्योग डुबानमा पर्ने गुनासो यहाँका उद्योगी व्यवसायीले गरेका छन् । उनीहरूले व्यापारिक मार्ग आयोजना कार्यालयले अविलम्ब यो समस्या समाधान नगरे आउँदो वर्षामा यहाँका ६० प्रतिशत उद्योग डुबानमा परेर उद्योगको उत्पादन नै ठप्प हुने बताएका छन् ।

'व्यापारिक मार्गले ३ सय उद्योग डुब्ने’

उद्योगी प्रदीप केडियाले यो समस्या पथलैयादेखि गण्डकसम्म नै रहे पनि परवानीपुरदेखि गण्डकसम्म बढी रहेको बताए । हाल अधिकांश उद्योगको जमिनको स्तर भन्दा करिब ४ फिट अग्लो सडक निर्माण भइरहेको बताए ।


यसले गर्दा उद्योगबाट बिसर्जन हुने पानीको निकास रोकिनुका साथै वर्षाको पानी समेत उद्योगमै थुनिएर उद्योग ठप्प हुने स्थिति आउने उनले बताए । अर्का उद्योगी गणेश लाठले विगतमा करिडोरका अधिकांश उद्योगको पानी ह्युम पाइपबाट निकास गरी उद्योग अघिल्तिरको परम्परागत नालामा खसाइने गरेकोमा हाल निर्माणाधीन सडकमा सानो नाला बनाइएको तर उक्त नाला सडकबाट झर्ने पानीका लागि मात्र बनाइँदै गरेको बताए ।


विगतमा परवानीपुर क्षेत्रको पानी गण्डक नहर तर्फ, सिमराको क्षेत्रको पानी जितपुर तर्फ, जितपुर क्षेत्रको पानी परवानीपुरतर्फ विभिन्न खोलामा निकास हुने गरेको थियो । हाल विगतको भन्दा अग्लो सडक बनाइनुका साथै करिडोरका विभिन्न क्षेत्रमा नयाँ औद्योगिक तथा व्यापारिक प्रतिष्ठान थपिएपछि उत्तरी भेगमा रहेको वन र खेत आदिको पानीको निकास पनि यस वर्ष थुनिने प्रबल सम्भावना छ ।


यसले गर्दा आसन्न वर्षायाम करिडोरका उद्योगका लागि अत्यन्त पीडाकारक हुने सम्भावना रहेको उनले औंल्याए । वीरगन्ज उद्योग वाणिज्य संघका सचिव माधव राजपालले जितपुरमा उखु बाली अनुसन्धान केन्द्र, त्यससँगै जोडिएको नेपाली सेनाको ब्यारेक जस्ता सरकारी भवन तथा संरचना पनि जोखिममा रहेको बताए । संघका अध्यक्ष गोपाल केडियाले यो समस्याबारे आफूहरूले डेलिगेसन दिई व्यापारिक मार्ग आयोजना कार्यालय पथलैयाका प्रमुख सन्जय मिश्रलाई यो समस्या अविलम्ब समाधान गर्न आग्रह गरेको बताए ।


तर मिश्रले डिजाइनमा आफूले केही परिवर्तन गर्न नसक्ने अडान लिएर बसेकाले आफूहरूको चिन्ता बढिरहेको उनले बताए । सरकारले आफूहरूको उद्योग ठप्प पार्ने मनसाय बनाएको भए आफूहरू उद्योगको साँचो सरकारलाई हस्तान्तरण गर्ने र सरकारले नै बैंकको ब्याज तिरिदिनु पर्ने माग राख्ने मनस्थिति बनाएको उनले बताए ।


परवानीपुरदेखि उत्तर पथलैयासम्म २५ मिटर सडक कालोपत्रे गरिनुका साथै सडकको दुवै तर्फ सर्भिस सडक, नाला आदि समेत निर्माण गरिँदैछ । तर परवानीपुरदेखि दक्षिण गण्डकसम्म १५ मिटर कालोपत्रे सडक र दुवै तर्फ १० मिटर सडकमा हाललाई बाटो सम्याएर माटो मात्र राखिँदैछ ।


उद्योगी व्यवसायीले यस अघि नै करिडोरको दुवै खण्डमा उद्योगको परम्परागत प्रवेशद्वार नै थुनिने गरी सडक निर्माण गरिएको गुनासो गर्दै आएका छन् । यसरी सडक निर्माण गर्दा उद्योग व्यवसायले प्रयोग गर्दै आएको बाटो र मुख नै थुनिने गरी निर्माण गरिँदा औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानमा मालबाहक सवारीको आवागमन नै ठप्प हुने स्थिति आएको छ ।


पथलैया वीरगन्ज व्यापारिक मार्ग आयोजना कार्यालयका सूचना अधिकृत एवम् इन्जिनियर अशोक यादवले हाल निर्माणाधीन सडकको उचाई साविककै सडकको सरहनै रहेको दाबी गरे । सडक छेउमा नाला बनेकाले हाल सडक अग्लो भएको जस्तो देखिए पनि यथार्थमा त्यसो नरहेको उनल बताए । अब नयाँ बनेको नालाको उपयोग गर्न सम्बन्धित उद्योगहरू आआफ्नो नालाको निकास आफैले तयार पार्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित : जेष्ठ ३१, २०७६ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?