१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

'हात्तीले निदाउनै सकिएन’

सुनिता बराल

महोत्तरी — महोत्तरीको उत्तरी क्षेत्रमा एक सातादेखि जंगली हात्तीको आतंकले स्थानीय त्रासमा छन् । बर्दिवास ३ राजवासमा ७ दिनभित्र हात्तीले ५ वटा घर भत्काएको छ भने किसानले लगाएको खेतिपातिमा ठूलो क्षति पुर्‍याएको छ ।

हात्तीले बुधबार पनि २ वटा घर भत्काएसँगै किसानले लगाएका मकै र धानबालीमा ठूलो क्षति पुर्‍याएको बर्दिवास–३ का वडा सदस्य गणेश बस्नेतले जानकारी दिए । हात्तीले घर भत्काउन र बाली नष्ट गर्न थालेपछि स्थानीय धुनी बालेर रात बिताउन बाध्य छन् ।


बर्दिवास ३ राजवासकी अप्सरा कार्कीले हात्तीको आतंकले ५ दिनदेखि रातभरि जाग्राम बस्नु परेको बताइन् । ‘दिनभरि हात्ती जंगल जान्छ,’ उनले भनिन्, ‘रात परेपछि गाउँ छिर्ने भएकाले १५/१५ जनाको टोली बनाएर रातभरि आगो बालेर बस्ने गरेका छौं ।’ आगो बालेर टोलटोलमा बसे पनि हात्ती नयाँ बाटो खोजेर गाउँ पस्ने र घर भत्काएर, बाली सखाप पारेर निस्कने गरेको कार्कीले बताइन् । मान्छे धपाउन जाँदा आक्रमण गर्न आउने भएकाले निकै समस्या भएको उनले बताइन् ।


विगत २ वर्षदेखि चुरेक्षेत्रबाट हात्तीगाउँ पसेर घर भत्काउने, बालिनाली नष्ट गर्ने, मानिसलाई आक्रमण गर्ने जस्ता गतिविधि हात्तीले गर्न थालेपछि बर्दिवास नगरपालिकाभित्रको पर्साइधाप, राजवास, मर्का, कालापानी, पाटु, गौरीडाँडा लगायतका ठाउँका मानिस निकै त्रसित छन् । आफ्नो खेतमा लगाएको चैते धानमा हात्तीले ठूलो क्षति पुर्‍याएको राजवासका स्थानीय विष्णु थापाले बताए ।


हात्तीले खानेपानी र सिंचाइको पाइप पनि भाँचिदिएपछि स्थानीयलाई खानेपानीको पनि समस्या परेको छ । खानेपानीको पाइप भाचिदिएपछि करिब ४५ घरपरिवारले कुवाको पानी खान बाध्य भएको वडा सदस्य बस्नेतले बताए । अहिलेसम्म हात्तीले सो क्षेत्रका २ दर्जनभन्दा बढी घर भत्काइसकेको छ भने ५० वटा भन्दा बढी घरमा आंशिक क्षति पुर्‍याएको छ ।


हात्तीले दुःख दिन थालेपछि स्थानीय सम्बन्धित निकायसँग हात्ती आतंक नियन्त्रण गर्न हारगुहार गर्न थालेका छन् । चितवन राष्ट्रिय निकुन्जबाट हात्ती तराईको चुरे क्षेत्रमा प्रवेश गरेको भन्दै स्थानीयले हात्ती निकुन्जमै फर्काइ दिन माग गरेका छन । जिल्ला डिभिजन वनकार्यालय महोत्तरीले हात्ती लखेट्न र मानिसलाई सचेत गराउन ६ जनाको टोली खटाएको डिभिजन वन अधिकृत हेमन्तप्रकाश साहले जानकारी दिए ।


स्थानीयलाई समूहमा बस्न, हातमा टर्च लिएर बस्न र आगो बालेर बस्न पनि उनले सुझाव दिए । हात्तीलाई लखेट्ने उपाय स्थानीयले अपनाए हात्ती आफै ठाउँ छोडेर जाने साहले बताए । हात्ती लखेट्ने प्रयास भइरहेको उनको भनाइ छ ।


बर्दिवास नगरपालिकाका मेयर विदुरकुमार कार्कीले हात्ती लखेटिदिन जिल्ला डिभिजन वन कार्यालयसँग अनुरोध गरिरहेको र हात्तीले भत्काएका घरहरू निर्माण गर्न नगरपालिकाले पीडितहरूलाई सकेको सहयोग गरिने बताए ।

प्रकाशित : जेष्ठ ३२, २०७६ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?