कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

द्रुत मार्गमा ‘एनिमल पास’

द्रुत मार्गमा बन्ने पक्की संरचनाले वन्यजन्तुका प्राकृतिक मार्ग प्रभावित हुने भएकाले स्वाभाविक लाग्ने गरी निर्माण गर्नुपर्ने दायित्व आयोजासाग रहेको छ । वन्यजन्तु हिँड्ने परम्परागत बाटोमा एउटा र लालखोला पुलको उचाइ बढाएर अर्को बनाउनु पर्ने निकुन्ज प्रशासनको सुझाव
शंकर आचार्य

पर्सा — निर्माणाधीन निजगढ–काठमाडौं द्रुत मार्गमा वन्यजन्तुको सहज आवागमनका लागि २ वटा एनिमल पास बनाउनु उपयुक्त रहेको पर्सा राष्ट्रिय निकुन्ज प्रशासनले सुझाएको छ ।

द्रुत मार्गमा ‘एनिमल पास’

द्रुत मार्ग आयोजनाले एनिमल पासको हकमा सुझाव मागेपछि यस्तो सुझाव दिइएको निकुन्जका सहायक संरक्षण तथा सूचना अधिकृत अशोक रामले जानकारी दिए ।


यसका लागि वन्यजन्तु हिंड्ने परम्परागत बाटोमा एउटा र लालखोलामा अर्को गरी २ वटा पास बनाउन सकिनेछ । लाल खोलाको पुलको उचाई बढाई दिए त्यसले एनिमल पासको काम पनि गर्नेछ । लालखोला पूर्व पश्चिम लोकमार्गबाट करिब ५ किमि उत्तरमा रहेको छ । हालसम्म मार्गका पुलको डिपिआर बनी नसकेकाले डिपिआर बनाउनु अघिनै यसतर्फ सचेत हुन आवश्यक रहेको उनले बताए ।


अर्को पास लोकमार्गबाट करिब २ किमि उत्तरमा हुने सुझाइएको छ । दुबै पास निकुन्जभन्दा करीब २ किमि पूर्व पर्ने छन् । निकुन्जमा रहेका जंगली हात्ती, बाघ, गैंडा, चितुवा जस्ता दुर्लभ वन्यजन्तुको सहज आवागमनका लागि पास निर्माण गरिनुपर्ने निकुन्ज प्रशासनको सुझाव हो ।


द्रुत मार्ग निर्माणका लागि निजगढमा स्थापना गरिएको नेपाली सेनाको सडक निर्माण कार्यदलले भने हाल ७२ जोड ७५० र ७२ जोड ८५० च्यानेजमा गरी २ वटा एनिमल पास निर्माण गर्ने योजना यस अघि नै बनाएको छ । सेनाको प्रस्तावित दुवै पासका बीचमा करिब सय मिटर दूरी रहेको छ ।


हात्ती, चितुवा आदि वन्यजन्तु आवागमन गर्ने परम्परागत मार्ग नबिथोलिने गरी एनिमल पासका लागि हाललाई द्रुत मार्गको संरचना त्यहाँ केही खाली राखिएको छ । पछि मार्ग कालोपत्रे गर्दा एनिमल पासको भौतिक संरचनानै निर्माण गर्ने योजना छ ।


निकुन्ज र राष्ट्रिय वन जोडिएका छन् । निकुन्जको पूर्वी सिमानाभन्दा करिब २ किमि पूर्व बाराको राष्ट्रिय वन अन्तर्गतको सामुदायिक वनको बाटो भएर द्रुत मार्ग गुज्रेको छ । वन्यजन्तुको कुनै सीमा नहुने र उनीहरूले आहाराको खोजीमा वन क्षेत्रमा लामो यात्रा तय गर्ने भएकाले सहज आवागमनका लागि द्रुत मार्ग कालोपत्रे गरिनु अघिनै एनिमल पास निर्माण गरिनु पर्ने माग सरोकारवालाले राख्दै आएका छन् ।


लाल खोलाको हकमा निर्माण गरिने पुलकै उचाई कम्तीमा २४ फिटको भए त्यसले एनिमल पास र पुल दुवैको काम गर्नेछ । यसले मार्गको निर्माण लागत पनि घटनेछ । उक्त क्षेत्र निकुन्जका रैथाने हात्तीको झुण्ड आवागमन गर्ने क्षेत्र हो । हाल एनिमल पास बनाउन लागिएका स्थान जंगली हात्तीको पुरानो पदमार्गका रूपमा चिनिन्छ ।


हात्तीको उक्त पदमार्ग हात्तीडण्डी नामले प्रसिद्ध छ । अति संवेदनशील मानिने हात्तीले जहिले पनि एउटै पदमार्ग प्रयोग गर्ने भएकाले यसो गर्दा निकुन्जका हात्तीको पुरानो पदमार्ग पनि बिथोलिँदैन । नयाँ संरचना देखेपछि संवेदनशील वन्यजन्तुले असुरक्षित महसुस गरे हिंडडुल नै बन्द गर्ने सम्भावना पनि हुन्छ ।


द्रुत मार्गमा पक्की संरचना हुने र त्यहाँ द्रुत गतिमा सवारी गुडनेछन् । वनको बीचमा नयाँ संरचना हुने र त्यसमा द्रुत गतिमा सवारी गुडदा वन्यजन्तुले सहजै द्रुत मार्ग काटन सक्दैनन् । यसले उनीहरूको प्राकृतिक मार्ग समेत बिथोलिने भएकाले यो समस्या आउनु अघिनै त्यसतर्फ सजगता अपनाउन लागिएको हो । हात्ती, बाघ, गैंडा तथा अन्य वन्यजन्तु निकुन्जको पूर्वी सिमाना हुँदै बारा, रौतहट, सर्लाहीको राष्ट्रिय वन क्षेत्रसम्म पनि पुग्ने गरेका छन् ।

प्रकाशित : जेष्ठ ३२, २०७६ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?