हत्या आरोपी ३७ वर्षपछि पक्राउ

बारा — प्रहरीले पञ्चायतकालीन हत्याको घटनामा संलग्न एक जनालाई ३७ वर्षपछि बिहीबार पक्राउ गरेको छ । साविक मधुरी जब्दी गाउँ पञ्चायत–३, हाल महागढीमाई नगरपालिका–११ मधुरी टोलका ७२ वर्षीय वीरबहादुर चौधरी पक्राउ परेका हुन् ।

अदालतले उनलाई दोषी ठहर गर्दै २० वर्ष कैद सजायको फैसला गरेकाले प्रहरीले उनलाई पक्राउ गरी कारागार पठाएको हो ।

तत्कालीन मध्यमाञ्चल क्षेत्रीय अदालत हेटौंडा र सर्वोच्च अदालतको क्रमशः २०४३ फागुन १९ र २०४५ असोज १७ गतेको फैसलाले चौधरीलाई २० वर्ष कैद सजायको फैसला गरेको थियो । चौधरी ७२ वर्षको उमेरमा अहिले पक्राउ परेका हुन् ।


चौधरीले २०३९ जेठ ८ मा साविक मधुरी जब्दी गाउँ पञ्चायत–५, का सुकदेवसाह सोनारलाई घरबाट बोलाई उसको घाँटी रेटी हत्या गरेर गाउँ नजिकको डेरा नदीमा शव फालेको अदालतले पुष्टि गर्दै उनलाई उक्त सजायको फैसला गरेको थियो । सोही मुद्दामा दाषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाइएका सोही गाउँका प्रतिवादी पलटसाह सोनार एक वर्षअघि पक्राउ परी जेल सजाय भुक्तान गरिरहेका छन् ।


यसैबीच प्रहरीले महागढीमाई नगरपालिका–१ सेमरा तेगछियामा दुई वर्षीय बालिकालाई हत्या प्रयास गरेको आरोपमा एक महिलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । पुरानो रिसइबी साध्न हत्या प्रयास गर्न खोजेको आरोपमा प्रहरीले ४० वर्षीया कलावती देवी गिरीलाई पक्राउ गरी थप अनुसन्धान सुरु गरेको हो ।


दुई वर्षीया बालिकाको गुप्ताङ र मुखमा कपडा कोचेर उसको हातखुट्टा बाँधी फालेकाले पक्राउ गरी जबरजस्ती करणी र ज्यान मार्ने उद्योग मुद्दा चलाएको छ ।

प्रकाशित : जेष्ठ ३२, २०७६ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?