कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

छात्रालाई ५ सय भत्ता

जनकपुर — प्रदेश २ को सरकारले कक्षा १ देखि ८ सम्म अध्ययनरत छात्रालाई मासिक ५ सय रुपैयाँ प्रोत्साहन भत्ता दिने योजना ल्याउँदै छ । प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले आइतबार आउने बजेटमा महिला शिक्षालाई प्रोत्साहन गर्न मासिक भत्ताको व्यवस्था गर्न लागिएको बताए ।

जनकपुरमा शुक्रबार आयोजित एक कार्यक्रममा मुख्यमन्त्री राउतले अशिक्षाले सामाजिक कुरीतिलाई मलजल गरेको बताउँदै छोरी शिक्षालाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए । ‘महिलालाई शिक्षामा प्रोत्साहित गर्नका लागि आउँदो वर्षदेखि कक्षा १ देखि कक्षा ८ सम्मका बालिकालाई मासिक ५ सय रुपैयाँ दिने सरकारले योजना ल्याउँदैछ,’ मुख्यमन्त्री राउतले लैंगिक हिंसा, भ्रुण हत्या, बालविवाह, दाइजो लगायतका कुरीतिविरुद्ध आयोजित अन्तरक्रियामा भने ।


मुख्यमन्त्री राउतले अशिक्षा हटाउन नसके समाजमा सुधार नहुने तर्क गरे । ‘समाजिक कुरीतिको मुख्य कारण अशिक्षा छ,’ उनले भने, ‘अशिक्षा हटाउनमा सबैको सामूहिक प्रतिबद्धताको खाँचो छ ।’ समाजिक कुरीति उन्मुलनबिना सभ्य समाजको कल्पना गर्न नसकिने उनले जिकिर गरे ।


‘सामाजिक कुरीति उन्मूलन गर्न छोरीलाई शिक्षा दिनुपर्छ,’ मुख्यमन्त्री राउतले भने, ‘यो अभियानमा प्रदेश सरकार लागिपरेको छ ।’ छोरी शिक्षित भए समाज शिक्षित हुने भएकाले यसतर्फ सबैको सहयोग अपरिहार्य रहेको उनले बताए ।


महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राउतले समाज सुधारका लागि प्रदेश सरकारले महिला शिक्षामा जोड दिएको बताए । कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले महिला विरुद्धको हिंसा उन्मुलन गर्नका लागि निरन्तर आवाज उठाउनुपर्ने बताइन् ।

प्रकाशित : जेष्ठ ३२, २०७६ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?