योजना माग्न मन्त्रालय जाने बढे

चालु आर्थिक वर्ष सकिन २ महिनामात्र बाँकी रहँदा मन्त्रीको जिल्लाका नेता तथा कार्याकर्ता योजना लैजाने दौडधुपमा व्यस्त
सन्तोष सिंह

धनुषा — सर्लाही, मलंगवा–२ स्थित श्रीराम कबिर मठका महन्थ रामरुप दास वैरागी केही दिन यता प्रदेश २ को सामाजिक विकास मन्त्रालयको गेटमै भेटिन्छन् । मठमा मन्दिर निर्माणका लागि एक सतादेखि मन्त्रालय धाउँदै छन् ।

योजना माग्न मन्त्रालय जाने बढे

मन्त्रीको आश्वासन पाएर मन्त्रालय धाएका वैरागी कुनै पनि मन्त्री र कर्मचारीसँग कुरा नहुँदा चारतल्ले मन्त्रालयको भुइँमै बसेर दिन बिताउँछन् ।


महन्थ वैरागीलाई सहयोग गर्न मलंगवाबाट जनकपुर आएका राजकिशोर यादवले मन्त्रलाय धाउँदा वास्ता नभएको मन्दै मन्त्रीहरूमाथि आक्रोष पोखे । ‘भोट लिने बेलामा अनेक प्रलोभन बाँडने नेता ठाउँमा पुगेपछि मतलव नै गर्दैनन,’ उनले भने । प्रदेश २ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश रायसँग मन्त्रालयमा भेट नहुँदा आक्रोष पोख्दै राजकिशोरले भने, ‘जिल्लामा जाँदा ठूलो भाषण गर्छन । जनकपुर बोलाउँछन् । तर, यहाँ आउँदा भेट हुँदैन ।’ सर्लाही घर भएका मन्त्री रायसँग योजना लिन आउनेहरू भेटन नपाएर फर्किने गरेका छन् । मन्त्री राय अधिकांश समय निवासमै बस्ने गरेका छन् ।


चालु वर्षको एक महिना मात्र बाँकी रहँदा प्रदेश २ का मन्त्रालयमा चहल पहल बढेको छ । सुनसान रहने मन्त्रालयमा पछिल्लो समय भिडभाड हुन थालेको छ । मन्त्री रहेको जिल्लाका नेता, कार्यकर्ता र आफन्त योजनाका लागि मन्त्रालयमा दिनभरि डेरा जमाउने गरेका छन् ।


भूमि व्यवस्थापन कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह र सामाजिक विकास मन्त्री नवल किशोर साह सप्तरीका भएका कारण दुवै मन्त्रालयमा सप्तरीकै नेता तथा कार्यकर्ताको भीड देखिन्छन् । भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनल बाराका भएकाले मन्त्रालयमा बारा र पर्साका नेता तथा कार्यकर्ताको भीड छ ।


दिनभरि मन्त्रीसँग भेटन प्रतीक्षा गर्नेको लर्को लागेको देखिन्छ । अन्य मन्त्रलायको तुलनामा आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा भीड कम हुन्छ । मन्त्री नबस्ने कारणले गर्दा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा खासै भीड देखिँदैन । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा राज्यमन्त्री सुरेश मण्डलसँग भेटन आउने अधिकांश सिरहाकै नेता तथा कार्यकर्ता हुन्छन् ।


जिल्ला र निर्वाचन क्षेत्रमा बढी चिनजान भएका कारण मन्त्रीसँग भेटन आउनेहरू जिल्लाका बढी हुने गरेको राज्यमन्त्री मण्डलले बताए । तर, आर्थिक मसान्तको अन्तिममा योजना वितरण गर्नु र माग गर्नु गलत हो, उनले भने । मन्त्रालयबाट भएको कामको भुक्तानी लिनेहरू पनि मन्त्रालयमा चक्कर लगाउने गरेका छन् ।


चालु आर्थिक वर्षको एक महिना मात्र बाँकी रहँदा नेता तथा कार्यकर्ता योजना लिन दौडधुपमा छन् । आर्थिक वर्षको एक महिना मात्र बाँकी रहँदा प्रदेश सांसदको योजना शिलान्यासमा व्यस्त भएका छन् । मन्त्रालयमा बढेको भिडभाडलाई मध्यनजर गर्दै मन्त्रलायभित्र सुरक्षा सतर्कता अपनाइएको छ ।


मन्त्रीलाई उपलब्ध गराएको सुरक्षाकर्मी अतिरिक्त सुरक्षाकर्मी मन्त्रालयमा खटाइएको हो । आर्थिक वर्ष ०७६/७७ को बजेट र योजना तयारीमामा जुटेको अर्थ मन्त्रालयको गेटमा अतिरिक्त सुरक्षाकर्मी खटाइएको हो ।

प्रकाशित : जेष्ठ ३२, २०७६ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?