१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

३८ अर्बको बजेट आउँदै

जनकपुर — प्रदेश नं २ सरकारले करिब ३८ अर्बको बजेट आइतबार सार्वजानिक गर्ने भएको छ । गत वर्षभन्दा दश अर्ब बढीको बजेट ल्याउन लागेको प्रदेश सरकारले १ अर्ब ३० करोड रुपैयाँ ऋण लिने लक्ष्य राखेको छ । 

आर्थिक मामिला तथा योजना मन्त्रालय अन्तर्गत बजेट महाशाखा स्रोतका अनुसार प्रदेश सरकारले आव ०७६/७७ को अनुमानित ३७ अर्ब ९७ करोड ७७ लाख रुपैयाँको बजेट सार्वजानिक गर्ने भएको छ ।


आव ०७५/७६ को बजेट शुक्रबारसम्म करिब २१ प्रतिशत मात्र खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । गतवर्ष प्रदेश २ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले २९ अर्ब ७८ करोड ६९ लाख ३८ हजार रुपैयाँको बजेट सार्वजानिक गरेका थिए ।


सङ्घीय सरकारको असहयोग र कर्मचारीको अभावको कारण यसवर्ष बजेट कार्यान्वयन गर्न नसकेको स्वीकार गर्दै आर्थिक मामिला मन्त्री यादवले आगामी वर्ष बजेट कार्यान्वयनका लागि व्यवस्थापन गर्ने बताए । मन्त्री यादवले आगामी आर्थिक वर्षका लागि सङ्घीय सरकारले उपलब्ध गराएको वित्तीय समानीकरण अनुदान ७ अर्ब ८ करोड ५९ लाख, राजस्व बाँडफाँटतर्फ दस अर्ब ४३ करोड ९३ लाख र ससर्त अनुदान ११ अर्ब ५० करोड गरी २९ अर्ब एक करोड ५९ लाख र समपूरक अनुदान एक अर्ब ५० करोड रुपैंयाा बजेट विनियोजन गरेर सार्वजानिक गर्दैछन् ।


प्रदेश सरकारले आन्तरिक आयतर्फ विज्ञापन कर १२ लाख, मनोरञ्जन कर एक लाख, दण्ड जरिवाना १२ लाख, विशेष रकम एक अर्ब ५० करोड, वैदेशिक सहायता ५० करोड, प्राकृतिक रोयल्टीको बाँडफाँट दश करोड, सेवा दस्तुर ५० करोड, चालू आर्थिक वर्षको बचत हुने २ अर्ब ५५ करोड रुपैयाँ र १ अर्ब ३० करोड रुपैयाँ आन्तरिक ऋण लिने लक्ष्य राखेको छ ।


चालू आर्थिक वर्ष ०७५/७६ मा एक अर्ब रुपैयाँ आन्तरिक ऋण लिने लक्ष्य राखे पनि कतैबाट ऋण नलिएको आर्थिक मामिला मन्त्रालयको बजेट महाशाखा श्रोतले जनाएको छ ।


चालूआर्थिक वर्ष वित्तीय समानीकरण अनुदान ७ अर्ब एक करोड ६१ लाख, राजस्व बाँडफाँटतर्फ ८ अर्ब ५२ करोड ८७ लाख ३८ हजार र सशर्त अनुदान ९ अर्ब १८ करोड ११ लाख, समपूरक अनुदान ४४ करोड रुपैंयाँ थियो ।


आन्तरिक आयतर्फ विज्ञापन कर ५० लाख, मनोरञ्जन कर ५० लाख, दण्ड जरिवाना १० लाख, विशेष रकम ६८ करोड ७६ लाख ९८ हजार, सेवा शुल्क दस्तुर ५५ करोड रुपैंयाँ हुने अनुमान गरिएको थियो । तर आन्तरिक आय शून्य रहेको छ । चालू आर्थिक वर्ष एक अर्ब रुपैयाँ आन्तरिक ऋण लिने लक्ष्य थियो ।

प्रकाशित : असार १, २०७६ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?