धनुषा — जनकपुर उप महानगरपालिका–२२ बसबिट्टीस्थित विद्यालयको कक्षा ९ मा अध्ययनरत मनीषा मण्डल नियमित विद्यालय आउँछिन । तर, पढन पाउँदिनन् । विद्यालय आएदेखि उनी तल्लो कक्षाका विद्यार्थीलाई पढाउँछिन् ।
‘पढ्ने किताब र कक्षामा पढाउने शिक्षक पनि छैनन्,’ उनले भनिन्, ‘बिहानै ६ बजे आएर १२ बजे सम्मको समय विद्यालयमै बित्छ । घरमा अभिभावक र विद्यालयका शिक्षकलाई गुनासो गरे पनि पढाइ भएको छैन ।’ विद्यालयका शिक्षकले पढाउन नमान्दा यहाँका विद्यार्थीले नै तल्लो कक्षा कोठामा गएर भाइबहिनीलाई पढाउने गरेका छन् ।
विद्यालयमा नयाँ शैक्षिकसत्रदेखि कक्षा ९ सञ्चालनमा भएको छ । शैक्षिक सत्र सुरु भएको २ महिना बितिसक्दा विद्यार्थी पढन पाएका छैनन् ।
विद्यालयका शिक्षक हाजरी गरी घर फर्किने र उपस्थित शिक्षक कार्यालयमा गफमै मग्न बन्दा विद्यार्थीलाई पढाउन मनीषालाई उनकै सहपाठीहरू काजल र निलमले पनि सघाउँछन् । मनीषा, काजल र नीलम तल्लो कक्षा पढाइरहँदा उनीसँग पढने कक्षाका अन्य विद्यार्थी खेलेरै घर फर्किने गरेको कक्षा ९ मा अध्ययनरत चञ्चलकुमार मुखियाले बताए ।
उप महानगरस्तरीय कक्षा ८ को बोर्ड परीक्षामा राम्रो अंक ल्याउन नसेकेका यहाँका विद्यार्थीलाई पुनः परीक्षा लिएर नतिजा प्रकाशन गरेको छैन । नतिजा प्रकाशन नभएका कारण विद्यालयको कक्षा ९ मा अध्ययनरत विद्यार्थी पाठयपुस्तक पाउन नसकेको प्रधानाध्यापक श्यामसुन्दर मण्डलले बताए ।
कक्षा ९ यसै वर्ष सुरु गरे पनि शिक्षक अभावमा सञ्चालन गर्न समस्या भएको बताए । विद्यालयमा कक्षा थप गर्ने जनशक्ति नहुँदा पनि स्थानीय तहका जनप्रतिनिधिले जबरजस्ती थप गर्न खोज्दा २ महिनादेखि पाठय पुस्तक र शिक्षक अभाव भएको प्रअ मण्डलले बताए ।
जनकपुरधाम उप महानगरपालिका– २२ का वडा अध्यक्ष शिवरत्न पाण्डेले विद्यालयको समस्या समधानका लागि प्रयास भइरहेको बताए । ‘शिक्षक र पाठ्य पुस्तक ल्याउन पहल गरेको छु,’ उनले भने । विद्यालयका विद्यार्थी २ महिनासम्म पढन नपाउनुमा आफ्नो पनि त्रुटि भएको वडा अध्यक्ष पाण्डेले स्वीकार गरे ।
उपमहानगरका शिक्षा संयोजक मेहिलाल यादवले पाठय पुकस्तकको रकम विद्यालयमा पठाएको बताए । विद्यालयमाथि मुद्दा रहेको अवस्थामा कक्षा थप गर्न उप महानगरले अनुमति दिंदा विद्यार्थीको भविश्य अन्योलमा परेको यादवले बताए ।
'बेटी’लाई झन समस्या
कक्षा ९ मा अध्ययनरत मनीषा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ल्याएको ‘बेटी पढाऊ, बेटी बचाऊ’ बारे सञ्चार माध्यममा सुने पनि आफूहरूलाई पढन कुनै सहुलियत नभएको बताउँछिन् ।
‘प्रदेश सरकारले बेटी (छोरी) पढाउन योजना ल्याएको सुनेको छु तर हामीलाई सरकारले पढाउने शिक्षक र किताब समेत दिन सकेको छैन,’ उनले भनिन्, ‘गाउँका केटाहरू पढन अर्को गाउँ र बोर्डिङ स्कुलमा जान्छन् । हामीलाई जान दिइएको छैन ।’ जनकपुर सहरभन्दा २ किलोमिटर पश्चिममा रहेको बसबिट्टीबाट आवतजावतको समस्या र सुरक्षाका कारण देखाएर छोरीलाई पढाउन सहर जान नदिएको उनले बताइन् ।
उनको गाउँमा निजी विद्यालयका बस जान्छन् । धनिका छोराछोरी बस चढेर सहरको सम्पन्न विद्यालयमा पढछन् । गरिब र दलितका छोराछोरी मात्र गाउँको विद्यालयमा पढने गरेका छन् । जनकपुरधाम उप महानगरपालिका– २२ का वडा अध्यक्ष शिवरत्न पाण्डेले छोरीलाई बाहिर पढन जान समस्या हुने भएर गाउँकै विद्यालय मावि स्तरको बनाउन लागेको बताए ।
‘छोरी बाहिर पढन जाँदा असुरक्षित हुन्छन्,’ उनले भने, ‘समय र समाज दुवैलाई मध्यनजर गरी गाउँमै छोरीले पढन पाउने गरी व्यवस्थापनमा जुटेको छु ।’
सरकारीमा मनपरी
उप महानगरको अधारभूत तहको प्रावि र निमावि सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी दलित र गरिब छन् । विद्यार्थी संख्या न्यून भएको विद्यालयमा पहुँचवाला नेता र कर्मचारीको आफन्त शिक्षक छन् । तर, पढाइ नहुँदा सामुदायिक विद्यालयको अवस्था दयनीय बनेको छ । नगर भित्रका सामुदायिक विद्यालय शिक्षकको जागिर खाने केन्द्र बनेका छन् ।
उप महानगर भित्रका विद्यालयमा शिक्षक समयमा नआउने, हाजरी गरी घर फर्किने, विद्यालयमा बसे पनि कक्षा कोठामा नजाने, गफ चुटने प्रवृत्तिका कारण गरिब दलित पढने विद्यालयको अवस्था कमजोर बनेको छ ।
तत्कालीन जिल्ला शिक्षा कार्यालयले सहर क्षेत्रका विद्यालयमा दरबन्दीभन्दा बढी शिक्षक थुपारेका थिए । जुन समस्या अझ समाधान हुन सकेको छैन । उप महानगरमा रहेका शिक्षाका कर्मचारी निजी विद्यालयको अपग्रेड र अनुगमनको बहानमा आर्थिक लाभ लिन व्यस्त छन् ।
निजी विद्यालय अपग्रेडमा उप महानगरका कर्मचारीले ५० हजारदेखि २ लाखसम्म लिने गरेकोआरोप छ । निजीलाई कडाइ गर्ने शिक्षाका कर्मचारी सामुदायिक विद्यालयमा अनुगमन गर्न नै पुग्दैनन् ।
प्रकाशित : असार १, २०७६ ०९:५४