१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

बसपार्क निर्माण सुस्त

अवधेशकुमार झा

राजविराज — राजविराजको बहुचर्चित योजनामध्येको एक राजविराज बसपार्क निर्माण कार्य सुस्त भएको छ । ठेकेदार कम्पनीको लापरवाही तथा पटक पटक अदालतमा म्द्दुा परेका कारण बसपार्क निर्माणको कार्य सुस्त भएको हो । 

राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादवले बसपार्क निर्माणको कार्य सुस्त भएको स्वीकारे । ‘जुन गतिमा काम हुनुपर्ने हो भइरहेको छैन’ यादवले भने, ‘ठेकेदार कम्पनीलाई समयमै काम सम्पन्न गर्न पत्राचार गरिसकिएको छ ।’


मेयर यादवका अनुसार बसपार्क निर्माण कार्यको अहिलेसम्म २० प्रतिशत काम मात्र भएको छ । ‘अब बाँकी रहेको समयमा यही गतिमा काम सम्पन्न हुन सक्दैन’ यादवले भने, ‘राजविराजमा सञ्चालित रहेका योजनामध्ये सबैभन्दा सुस्त गतिमा काम भइरहेको योजना बसपार्क निर्माण नै हो ।’


बजार विकास भएको ७७ वर्षपछि सप्तरी सदरमुकाम राजविराजमा आगामी तीन वर्षभित्र व्यवस्थित बसपार्क निर्माण हुने गरी काम सुरु भएको थियो । पञ्चायतकाल, प्रजातन्त्रकाल र अहिले गणतन्त्रकाल गरी तेस्रो पटक उक्त बसपार्क निर्माण कार्यको शिलान्यास भएको हो । यसअघि दुईपटक भएका शिलान्यासका काम हुन सकेको थिएन । यो तेस्रो पटकको कामको सुस्तताले पनि समयमै निर्माण कार्य सकिनेमा शंका रहेको स्थानीयहरू बताउँछन् ।


राजविराज नगरपालिका २ राजदेवी मन्दिर नजिक रहेको चार कट्ठा जग्गामा उक्त बसपार्क निर्माणका लागि सहरी विकास मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्मा र राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादवले ०७४ पुसमा संयुक्त रूपमा शिलान्यास गरेका थिए । शर्मा र यादवले गरेको शिलान्यास उक्त स्थलमा तेस्रो पटक हो । हदबन्दीमा परेको जमिन्दारको जग्गा सरकारी नाममा आएपछि २०४४ सालमा उक्त जग्गामा वीरेन्द्र हरित उद्यान निर्माणका लागि तात्कालीन प्रधानमन्त्री मरिचमान सिंहले शिलान्यास गरेका थिए ।


हरित उद्यान निर्माण हुन नसकेपछि प्रजातन्त्र पुनःस्थापनापछि २०५२ सालमा तात्कालीन मेयर शैलेश चौधरीको सक्रियतामा उक्त स्थानमा बसपार्क निर्माण गर्ने भन्दै कार्य अघि बढेको थियो । विस्तृत अध्ययन प्रतिवेदन तयार भएपछि तात्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले राजविराज बसपार्कको शिलान्यास गरेका थिए । देउवाले शिलान्यास गरेको २२ वर्षपछि फेरि उक्त स्थानमा बसपार्क निर्माणकै लागि सहरी विकास मन्त्रालयका सचिव शर्मा र राजविराज नगरपालिकाका मेयर यादवले तेस्रो पटक शिलान्यास गरेका हुन् ।


लामो समयदेखि राजविराजवासीको सपनाको रूपमा रहेको व्यवस्थित बसपार्क निर्माणका लागि पटक पटक शिलान्यास भई काम हुन सकेको थिएन । तर यसपटक तीन वर्षभित्र काम सम्पन्न हुने गरी सुरु भएको कार्यले पनि गति लिन सकेको छैन ।


विसं १९९७ सालमा राजविराज नगर बसाइ पनि यहाँ बसपार्क निर्माण हुन सकेको छैन । बसपार्क नहुँदा राजविराजमा विभिन्न स्थानमा सडक नै अवरोध गर्ने गरी बसहरू सञ्चालन हुँदै आएका छन् । रुपनी मोड, गजेन्द्र चोक, सखडा रोड लगायतका स्थानमा सडकबाटै बसहरू खुल्ने गरेको छ । बसपार्कको अभावमा सडकमै बसपार्क बनाइँदा नगरको सौन्दर्यमा समेत नकारात्मक प्रभाव पर्नुका साथै सडक जामकै स्थिति सृजना हुँदै आएको छ ।


काठमाडौंको कुलेश्वरस्थित सिनर्जी बिल्डर्स प्रालिले उक्त बसपार्क निर्माणका लागि ०७४ पुस १९ गते सम्झौता गरेको थियो । सम्झौताअनुसार निर्माण कम्पनीले आगामी २०७७ साल पुस १८ गतेभित्र बसपार्क निर्माण गरिसक्नुपर्ने छ ।

प्रकाशित : असार २, २०७६ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?