आदर्शनगरलाई ट्रान्सपोर्ट मुक्त गरिँदै

शंकर आचार्य

पर्सा — वीरगन्ज महानगरको आदर्शनगर क्षेत्रलाई ट्रान्सपोर्ट मुक्त बनाउने पहल थालिएको छ । ग्रिन सिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रले यसका लागि पहल कदमी गरेको छ । 

स्थानीय घरधनी समेतको सहमति र अग्रसरतापछि अब आदर्शनगरमा नयाँ ट्रांन्सपोर्टलाई प्रवेश नदिइने र हाल संचालित ४० बढी ट्रान्सपोर्टका कार्यालय तथा गोदामलाई पनि व्यवस्थित गरेर आवाशीय क्षेत्रबाट अन्यत्र सारिने भएको छ । गत साता सम्पन्न सर्वपक्षीय बैठकबाट यस्तो निर्णय गरिएको संस्थाक अध्यक्ष जयप्रकाश खेतानले बताए ।

बाक्लो जनघनत्व तथा महानगरको अन्य क्षेत्र भन्दा तुलनात्मक रुपमा व्यवस्थित समेत मानिएको आदर्शनगर क्षेत्रका बासिन्दालाई लामो समयदेखि यहाँ रहेको ढुवानी सेवाका कार्यालय तथा गोदामका कारण कठिनाई हुँदै आएको छ । ढुवानी सेवाको ठूलाठूला ट्रक र लरीका कारण बाटो जाम हुने, हिंडडुल गर्न समेत समस्या हुने, दुर्घटना हुने जस्ता समस्या स्थानीयले भोग्दै आएका हुन् ।

ग्रिन सिटी क्षेत्रमा जनघनत्व र ट्राफिक चाप बढेको हुदा यहाको आवाशिय वातावरणमा जोखिम तथा नकारात्मक असर पर्न गएकाले अब उपरान्त नया ट्रान्सपोर्ट कम्पनी खोल्न संचालन गर्न नपाइने र यहाका घरधनीहरूले ट्रान्सपोर्टलाई भाडामा लगाउन नपाइने सहमति भएको उनले बताए ।

हालसम्म सञ्चालित भई आएको ट्रान्सपोर्ट कम्पनीहरूलाई पनि व्यवस्थित गर्ने र आवाशीय क्षेत्रबाट अन्यत्र सार्न आग्रह गरिएको छ । साथै यस क्षेत्रमा बढै गएको ट्राफिक जाम समस्यालाई सबै टोलबासी तथा सरोकारवालाले ट्राफिक व्यवस्थित गरी सहयोग गर्ने काम पनि भई रहेको उनले बताए ।

यहाँका ढुवानी व्यवसायीले लामो समयदेखि राजधानी तथा मुलुकका अन्य जिल्लाहरूमा मालसामान ढुवानीको सेवा दिंदै आएका छन् । मुलुकको मुख्य नाका भएकाले भारत तथा तेश्रो मुलुकबाट आयातित मालबस्तुहरू गन्तव्यसम्म पुर्‍याउन यहाँका ढुवानी सेवाले भूमिका खेल्दै आएका छन् ।

करीब ४ दशक अघि देखि आदर्शनगर क्षेत्रबाट सञ्चालित ढुवानी कम्पनीहरूका कारण भने पछिल्लो केही बर्ष यता आफूहरूलाई सास्ती भएको गुनासो स्थानीयले गर्दै आएका छन् । तर यहाँबाट ढुवानी कम्पनीहरू अन्यत्र जान चाहेका छैनन् ।

वीरगन्ज महानगरपालिकाको कार्यालयले महानगरको परवानीपुर क्षेत्रमा ट्रान्सपोर्ट कम्पनीहरूलाई स्थानान्तरण गरेर आदर्शनगर क्षेत्रलाई शान्त र व्यवस्थित बनाउने योजना रहेको बताउँदै आए तापनि व्यवहारमा भने योजना कार्यान्वयनहुन सकेको छैन ।

प्रकाशित : असार २, २०७६ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्

मन्दिर परिसर खाली नहुँदा ढिलाइ

कान्तिपुर संवाददाता

जनकपुर — जानकी मन्दिरका महन्त रामतपेश्वर दास र उनका उत्तराधिकारी रामरोशन दासले मन्दिर परिसरमा रहेको पूजा सामग्रीको पसल हटाउन नमान्दा मन्दिर परिषर पुनर्निर्माण योजनामा ढिलाइ भइरहेको निर्माण कम्पनीले आरोप लगाएको छ । 

यसअघि मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले ठेकेदारको कारणले मन्दिर सौन्दर्यीकरण आयोजनामा ढिलाई भएको आरोप लगाएका थिए । मन्दिर परिसरमा यत्र तत्र राखिएका निर्माण सामग्रीका कारण मन्दिर फोहरको ढुंगुर बनेको तथा श्रद्धालुलाई आउजाउ गर्न कठिन भएको आरोप दासको छ ।

मंसिर तेश्रो साता प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत ‘ मुख्य मन्त्री स्वच्छता अभियान ’ को आरम्भ जानकी मन्दिर सौन्दर्यीकरण आयोजनाबाटै गरेका थिए । ८ करोडको उक्त आयोजना अन्तर्गत जानकी मन्दिरमा मार्बल र ग्रेनाईट जडान, तीन मुख्यद्वार पुनर्निर्माण तथा ढलनिकास आदिको निर्माण भई रहेको छ ।

मन्दिर परिसरमा वालुवा, ह्युमपाईप, गिटीलगायतका निर्माण सामग्रीहरू यत्रतत्र थुपारिएको तथा पुराना संरचनाहरू भत्काईएकाले मन्दिर परिसर सांगुरो भएको आरोप स्थानीयवासीको छ । यसका साथै मन्दिर परिसरमै फूलमाला, पर्सादी लगायतको पसल समेत थापिएकाले श्रद्धालुलाई सास्ती भएको छ । फूलमाला, प्रसादी चूराको पसलथाप्नेसंग मन्दिर व्यवस्थापनले दैनिक तथा मासिक भाडा लिन्छ ।

ठेकेदार ठाकुरले भने,‘मन्दिर परिसरमा लगाइएको पसल हटाउन हामीले पटक पटक महन्तजीसंग आग्रह गर्यौ । स्थानीय प्रहरी प्रशासनलाई पनि भन्यौ तर हटाईएन । परिसर खाली नभएसम्म निर्माण कार्यलाई कसरी निरन्तरता दिने ?’ यसका साथै मन्दिर भित्र रहेको आधा दर्जन अधिक सौचालयमध्ये एककोमात्र सेफ्टी टैंक भएको तथा बाकीका मलमूत्र अव्यवस्थित रहेको जानकारी पनि ठेकेदार ठाकुरले दिए । ठाकुरका अनुसार – सौचालयहरूको मलमूत्र व्यवस्थापन ठुलो समस्या बनेको छ ।

प्रकाशित : असार २, २०७६ १०:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्