कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कालोपत्रे एकसातामै उप्कियो

ठेकेदारले डेढ करोडमा टेन्डर सकार गरी ढिला काम थालेको र काम छिटो सक्ने नाममा गुणस्तरहीन काम भएको स्थानीयको आरोप
शिव पुरी

रौतहट — डिभिजन सडक रौतहटले ठेक्का लगाएको कालोपत्रे (पिच) गरेको एक साता नबित्दै उप्किएको छ । ठेकेदारले डेढ करोडमा टेन्डर सकार गरी ढिला काम थालेको कालोपत्रे मानिस र गाडी गुड्न नपाउँदै भटाभट उप्किदै गएको हो ।

कालोपत्रे एकसातामै उप्कियो

चालु आर्थिक वर्ष सकिन लाग्दा ठेकेदारले हतारमा गुणस्तरहीन काम गरेको यो सडकको कालोपत्रेले प्रष्ट पारेको छ ।


चन्द्रपुर नगरपालिका–९ चेतनगर स्थित सिन्धुरेघारीदेखि चेतनगर सम्मको करिब २ किलोमिटर सडकमा कालोपत्रे गरेको एक सातामै उप्किएको हो । कालोपत्रे निर्माण हुँदै गर्दा स्थानीयले रोक्ने प्रयास गरेका थिए । ठेकेदारले धम्की र निर्माणको काम नरोक्ने बताएपछि स्थानीय पछि हटेका थिए । पछिल्लो पटक निर्माणको काम अझै बाँकी हुँदै गर्दा गुणस्तरहीन भन्दै स्थानीयले रोकेका छन् ।


सडकमार्फत् बन्दना भगवती/कामख्या जेभी बत्तिसपुतली काठमाडौंले उक्त सडक कालोपत्रे गर्ने जिम्मा पाएको हो । यो समनपुर हुँदै गौरसम्म पुग्ने सहायक मार्ग हो । सन्दुरेघारीदेखि बिनुवा टोलसम्मको १८ सय मिटर सडक कालोपत्रे गर्न ठेकेदारले १ करोड ६० लाखमा जिम्मा लिएको हो ।


यसको ठेक्का दुई वर्ष अघि लागे पनि ठेकेदारले चालु आर्थिक वर्षबाट काम थालेको हो । कम्पनीले कालोपत्रेको काम सुरु गरेको एक साता पनि नबित्दै उप्किन थालेपछि स्थानीय आक्रोशित छन् । ठेकेदार कम्पनीले गुणस्तरहीन सामग्री प्रयोग गरेकाले बन्दै गरेको सडक भत्कन थालेको स्थानीय गोकुल तिमल्सिनाले बताए । ‘काम गुणस्तर भएन भन्दा ठेकेदारले उल्टै धम्क्याउँछ,’ उनले भने, ‘कालोपत्रे गर्न नपाउँदै उप्किन थालेको छ । यो कति दिन टिकाउ हुन्छ ।’ ठेकेदार रामनारायणले कालोपत्रे गर्ना साथ गाडी हाक्न नहुने र एक महिनासम्म सडकमा छाता ओढाएर राख्नु पर्ने भनेपछि स्थानीय आक्रोसित बनेका हुन् ।


स्थानीयले गुणस्तरहीन पिच भत्काएर पुन निर्माण गर्नुको विकल्प नरहेको बताएका छन् । सरकारले दिगो विकासको लक्ष्य लिएको बेला निर्माण कम्पनीले गुणसतरहीन काम गरी बजेटको दुरुपयोग गरेको उनीहरूको आरोप छ । कालोपत्रे भइरहेका बेला सडकका कुनै पनि प्र्रविधिकहरू नबसेको भन्दै कारबाही गर्न माग गरेका छन् ।


गुणस्तरहीन काम गर्ने यस्ता निर्माण कम्पनीलाई समेत कारवाही हुनु पर्ने स्थानीय दीपक तिमल्सिनाले बताए । निर्माण स्थलमा सडक निर्माणको जानकारी दिने कुनै किसिमको होडिङ्बोर्ड समेत राखिएको छैन । कालोपत्रे कसले र कतिको लागतमा गरेको भन्ने स्थानीय अनभिज्ञ छन् । डिभिजन सडकका ईन्जिनियर मदनमोहन सिंहले कुन कालोपत्रेलाई गुणस्तर र कुनलाई गुणस्तरहीन भन्नेमा आफू अन्योलमा परेको बताए ।


‘ठेकेदारले काम राम्रो गरेन भन्ने गुनासो आएको छ,’ उनले भने, ‘यस बिषयमा हामी साइडमा हेर्छौ ।’ कालोपत्रे सकिए पछि गाडी चलाउँदा कुनै असर नपर्ने इन्जिनियर सिंहले बताए । ‘नयाँ कालोपत्रेमा जति गाडी चल्यो त्यति राम्रो र बलियो हुन्छ, ‘उनी भन्छन्, ‘ठेकेदारले गाडी चलाउनु हुँदैन भनेको गलत हो ।’ ठेकेदारले एक महिनासम्म गाडी नचलाउनु उर्दी गरेका थिए ।


स्थानीय ठेकेदारका अनुसार कुनै पनि सडक कालोपत्रे गर्नु अगाडि ग्रेडिङ गरेर लेबल मिलाउनु पर्छ । र त्यसमा मिक्स ग्रेभल राख्नु पर्छ । त्यस पछि क्रसरको गिटी राखेर माथिबाट लोडर चलाउनु पर्छ । यसले सडकको बेस बलियो बनाउँछ । त्यसमा मट्टितेलयुक्त अलकत्रा घोलेर प्राइम हाल्नु पर्छ । त्यसपछि मात्र कालोपत्रे गर्न लायक हुन्छ ।


ठेकेदारले यो सडकमा कुनै पनि मापदण्ड पूरा नगरेको यही क्षेत्रका सांसद देवप्रसाद तिमल्सिनाले बताए । ‘मैले सडकको अवस्था हेरें । कालोपत्रे गरेको पनि देखे,’ उनले भने, ‘यस्तो पनि कालोपत्रे हुन्छ ? बनाउन नपाउँदै उप्किन थालिसक्यो ।’ उनको घर अगाडिको कालोपत्रे समेत उप्किएको छ । सांसद तिमिल्सिनाले सडक र ठेकेदारको लापरबाहीले कालापत्रेको काम गुणस्तरहीन भएकाले छानबिनको काम गरे । डिभिजन सडकको लापरबाही बारे सदनमा समेत कुरा उठाउने उनले सुनाए ।


यो सडकमा सुरुदेखि नै ठेकेदारको लापरबाही देखिएको छ । उसले क्रसरको गिटी समेत हालेको पाइँदैन । डिभिजन सडक चन्द्रनिगाहपुरका प्रमुख इन्जिनियर दरोगा साहले एक दुई स्थानमा त्रुटि भएकाले सच्चाउन निर्देशन दिएको बताए । चालु आर्थिक वर्ष सकिन लाग्दा ठेकेदारले हतारमा काम गरेको देखिएको छ । निमार्ण कम्पनीका प्रतिनिधि रामनारायणले स्थानीयले कामलाई गुणस्तरहीन भनेर आरोप मात्र लगाएको बताए । उनले गुणस्तर काम भएको दाबी गरे ।

प्रकाशित : असार २, २०७६ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?