जनप्रतिनिधि विवादले नगरपालिकामा ताला

ओमप्रकाश ठाकुर

सर्लाही — आर्थिक मसान्त सक्न केही दिन मात्र बाँकी छँदा जिल्लाका अधिकांश स्थानीय तहमा विकासे चटारो छ । तर दक्षिण पश्चिम क्षेत्रमा पर्ने बलरा नगरपालिकामा भने बुधबारबाट ताल्चा लगाइएको छ । याहाँ निर्वाचित जनप्रतिनिधिबीच कुरा नमिल्दा विकास निर्माण ठप्प छ । 

मेयर अभयकुमार सिंहले मनोमानी ढंगले नगरपालिका चलाएको भन्दै नगरकी उपमेयर रामसखी देवीसहित ८ जना वडाध्यक्षले नगरपालिका कार्यालयमा तालाबन्दी गरेका हुन् । उनीहरूले बुधबार दिउँसो नगरपालिका कार्यालयको मूलेगेटमै तालाबन्दी गरेका छन् । आर्थिक वर्ष सक्न केही दिन मात्र बाँकी रहँदा नगर र वडाबाट सञ्चालित कतिपय योजनाको सम्झौता नै हुन सकेको छैन ।


केही योजनाको उपभोक्ता समिति गठन भए पनि कार्यादेश दिइएको छैन । भने केही योजनाको बल्ल असार ३ गते कार्यादेश दिइएको छ । तर कार्यादेशमा पुरानो मिति रहेको भन्दै वडाध्यक्षहरूले कार्यादेश बुझ्न अस्विकार गर्दै आक्रोश व्यक्त गरेका छन् ।

नगरका विभिन्न वडामा सडक ग्राभेल गर्ने, माटो पुर्ने, ढलान गर्ने, भवन निर्माण लगायतका योजनाहरू नगर सभाबाट पास भएको ११ महिना बितिसकेको छ ।


तर, नगर प्रमुख सिंहले समयमा कार्यादेश नदिएको भन्दै वडाध्यक्षहरू आन्दोलित बनेका छन् । ‘समयमा योजनाको सम्झौता भएन, कार्यादेश त बल्ल आइपुग्यो, त्यो पनि पुरानो मितिमा, नगर प्रमुखले चाहेको असारे विकासमा हामी लाग्दैनौं,’ बलरा नगरपालिका–९ का वडाध्यक्ष रामदरेश दासले भने, ‘मेयर अभय सिंहले बजेट सक्ने दाउ मात्र बनाउन खोज्दै छन्, हामी बजेट सक्नका लागि मात्र विकास निर्माणको काममा जुट्दैनौं, असारे विकासको विरोधका लागि हामीले ताल्चा लगाएका हौं ।’


वर्षाको बेला आइसकेकाले वडाका अधिकांश योजना सक्न कठिनाई हुने र सक्न खोजे पनि गुणीतरहीन हुने बलरा–८ का वडाध्यक्ष रवीकुमार साहले बताए । यता बलरा नगरपालिका–५ का वडाध्यक्ष मनोजमोहन कुमार सिंहले बल्ल आएको कार्यादेशले वडास्तरीय योजनाको काम सुरु नै हुन नसकेको बताए । उनले नगरस्तरीय योजनामा नगर प्रमुखले भागबण्डा खोजेको आरोप लगाए ।


वडाध्यक्ष सिंहले नगरस्तरीय योजनाको गाउँ भेला गरेर उपभोक्ता समिति गठन गरेर पठाए पनि मेयरले अर्को उपभोक्ता समिति गठन गरेको बताए । वडाध्यक्ष सिंहले भने, ‘मेयरले नगरको योजनामा भागवण्डा गर्न खोजिरहेका छन् ।’ नगरका अधिकांश वडाध्यक्षहरूले मेयरका कारण विकास निर्माण हुन नसक्दा जनतालाई मुख देखाउन लाजमर्दो भएको बताए । उनीहरूले मेयर सिंहले योजनाको कामलाई पछाडि धकेल्दै काम सक्ने बेला लुटतन्त्र मचाउन खोजेको आरोप लगाए ।


मेयर सिंहको कार्यशैलीविरुद्ध केही समय अघिमात्रै उपमेयर र वडाध्यक्षहरूले झण्डै तीन महिना नगरपालिकामा तालाबन्दी गरेका थिए । बुधबारदेखि पुनः नगरपालिकामा तालाबन्दी भएपछि नगरवासी भने निराश भएका छन् । नजिकको स्थानीय तहहरूमा धमाधम विकास भैरहँदा आफूहरूको नगरमा भने मेयर, उपमेयर र वडाध्यक्षबीचको विवादले नगरपालिका बन्द भएको भन्दै नगरबासीले चिन्ता व्यक्त गरेका छन् ।


‘हाम्रो नगरमा यो आर्थिक वर्षमा दोस्रो पटक तालाबन्दी भएको छ, नजिकको स्थानीय तहमा धमाधम विकास भइरहेको छ तर हाम्रो नगरमा निर्वाचित जनप्रतिनिधिकै विवादका कारण विकास देखिरहेका छैनौं,’ स्थानीय रामाशंकर कुशवाहाले भने, ‘केही व्यक्तिले नगरलाई एकलौटी चलाउन खोजिरहेका छन्, जसले विकास निर्माण प्रभावित बनेको छ ।’


उपमेयर रामसखी देवीले मेयरले एकलौटी गरी नगरपालिकामै नआइ कार्यालय सञ्चालन गरेपछि पुनः आन्दोलनमा उत्रिनु परेको बताइन् । तालाबन्दी गर्नेमा नगरप्रमुखकै पार्टीबाट निर्वाचित उपमेयर सहित वडाध्यक्षहरू समेत छन् । नगरपालिकामा लगाइएको तालाबन्दीमा कार्यपालिका सदस्यले समेत समर्थन जनाएका छन् । २१ जना बोर्ड सदस्य रहेको नगरमा उपमेयर र ८ वटा वडाध्यक्ष सहित १४ जना मेयरका विरुद्धमा छन् ।


मेयर अभयकुमार सिंहले उममेयर र वडाध्यक्षहरूको पेसा नै तालाबन्दी गरिरहने भएको बताएका छन् । उनले नगरपालिकामा धमाधम विकासका काम भइरहेको दाबी गरे । वडाध्यक्ष र उममेयरले मनमौजी गर्न नपाउँदा तालाबन्दी गरेको मेयर सिंहको आरोप छ ।


उनले नगरस्तरीय योजना नगरको अधिनमा रहेकाले वडाध्यक्षको कुनै अधिकार नरहने स्पष्ट पारे । ‘वडाध्यक्षहरूलाई वडाको योजना छँदैछ त्यसमा मेरो कुनै अवरोध छैन, तर नगरको योजनामा उहाँहरूको कुनै अधिकार छैन,’ मेयर सिंहले भने, उहाँहरूको पेसा नै तालाबन्दी गर्ने भइसक्यो ।’

प्रकाशित : असार ६, २०७६ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?