कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सप्तरीमा डेंगु संक्रमण :  जनस्वास्थ्य अनभिज्ञ

अवधेशकुमार झा

(राजविराज) — सप्तरीमा डेंगु देखापरेको छ । केही समयअघि सुनसरीको धरानमा फैलिएको यो संक्रमण सप्तरीको कञ्चनरुप नगरपालिकामा देखिएको हो । कञ्चनरुप नगरपालिका ६ जमुवाका २७ वर्षीय रामाकान्त चौधरीमा डेंगुको संक्रमण पुष्टि भएको नगरपालिकाका स्वास्थ्य प्रमुख डम्बर गुप्ताले जानकारी दिए ।

सप्तरीमा डेंगु संक्रमण :  जनस्वास्थ्य अनभिज्ञ

कडा ज्वरो आएपछि प्राथमिक स्वास्थ्य केन्द्रमा परीक्षण गर्दा चौधरीमा डेंगुको संक्रमण भएको पुष्टि भएको गुप्ताले जनाए । हाल उनको कोसी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।


‘धरानमा डेंगु फैलिएको र त्यहाँ ग्रिल उद्योगमा काम गर्दै आएका चौधरी घर फर्किएपछि बिरामी परेका थिए । परीक्षणका क्रममा उनका डेंगुको संक्रमण पुष्टि भएको हो,’ गुप्ताले भने, ‘धरानमै उनमा संक्रमण भएको हुनसक्छ ।’


डेंगु सरुवा रोग हो । एकजनामा डेंगु भएको पुष्टि भएपछि कडा ज्वरोका अन्य बिरामीको समेत परीक्षण सुरु गरिएको छ । परीक्षण गरिएका ६ जना बिरामीमा परिणाम नेगेटिभ आएको गुप्ताले जनाए । हाल नगरपालिकाले सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको उनले बताए ।


डेंगुको संक्रमण पुष्टि भए पनि जिल्ला प्रशासन कार्यालय र जिल्ला जनस्वास्थ्य कार्यालय भने अझै अनभिज्ञ छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले कञ्चनरुपमा डेंगु देखिएको आफूलाई जानकारी नभएको बताए । उनले त्यसबारे बुझेर आवश्यक काम गर्ने बताए । जिल्ला जनस्वास्थ्य प्रमुख निरञ्जन यादवले जिल्लामा डेंगुको संक्रमण भेटिएको विषयमा आफूलाई जानकारी नरहेको बताए । ‘मलाई कुनै जानकारी छैन, जानकारी राख्न पनि चाहँदिन, किनभने मेरो कार्यालयमा एक रुपैयाँ बजेट छैन, मुखले मात्र कुरा गरेर हुँदैन, त्यही भएर थाहा नभएकै बेस ।’


किट अभाव

नगरपालिकामा डेंगु देखापरेको भए पनि डेंगु परीक्षण गर्ने किटको अभाव छ । स्वास्थ्य प्रमुख गुप्ताले सरुवा रोग तथा महामारी नियन्त्रण महाशाखासित मेडिकल किट माग गरिएको जानकारी दिए । उनले लामखुटे नियन्त्रण गर्न स्प्रेका लागि मेसिनको समेत अभाव भएको जानकारी दिए ।


सीमामा सतर्कता अपनाइएन

सीमावर्ती बिहार राज्यको मुजफरपुर जिल्लामा चमकी ज्वरोका कारण १ सय ५० भन्दा बढी बालबालिकाको मृत्यु भइसके पनि नेपाल भारत सीमामा अझै पनि स्वास्थ्यको दृष्टिले सतर्कता अपनाइएको छैन । दैनिक हजारौ मानिस ओहोर–दाहोर गर्ने सीमा नाकामा ती रोगबारे सतर्कता अपनाउन कुनै पनि टोली परिचालन गरिएको छैन । जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख निरञ्जन यादवले भने, ‘विगतमा बिहारमा कुनै महामारी फैलिँदा सीमामा स्वास्थ्य परीक्षण टोली राखिन्थ्यो तर अहिले पैसाको अभाव छ, स्वास्थ्यकर्मी पैसा बिना जान मान्दैनन् त्यसकारण कुनै पनि सतर्कता टोली राख्न सकिएको छैन ।’ प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बिहारमा ज्वरोका कारण सयभन्दा बढी बालबालिकाको मृत्यु भइसकेकाले सीमामा सर्तकता अपनाउन सरोकारवाला निकायसित समन्वय गर्ने बताए ।


डेंगुबाट सावधान रहन आग्रह

प्रदेश २ को सप्तरीमा डेंगुका बिरामी फेला परेपछि प्रदेश निर्देशनालयले निरोधात्मक सेवालाई तदारुकता दिएको छ । निर्देशक प्रमोद यादवका अनुसार डेंगु रोग लाग्नुभन्दा पनि लाग्नै नदिने रणनीतिमा प्रदेश सरकार काम गर्दैछ । यसका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको तथा आधारभूत स्वास्थ्य केन्द्रलाई हाई एलेर्टमा राखिएको उनले बताए ।


डेंगुबाट बच्न पानी जम्मा हुने स्थानमा नियमित सफाई, ज्वरो आउने, शरीरको कुनै भागबाट रक्तश्राव हुने, छालामा दाग देख्ने बित्तिकै चिकित्सकसँग जाँच गराउने सल्लाह पनि डा. यादवले दिएका छन् । सीमावर्ती विहारमा फैलिएको मस्तिष्क ज्वरोको जोखिम प्रदेश २ मा नरहेको स्पष्टीकरण पनि उनले दिएका छन् । उनले भने, ‘प्रदेश सरकारले मस्तिष्क ज्वर (इनसेफ्लाइटिस) विरुद्धको खोपलाई निरन्तरता दिएको छ । हाम्रा बालबालिका सुरक्षित छन् ।’ उनले बच्चाहरूलाई खाली पेट नराख्न आग्रह समेत गरेका छन् ।


प्रकाशित : असार ७, २०७६ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?