वीरगन्जमा सडक विस्तार हुने

शंकर आचार्य

पर्सा — सडक डिभिजन कार्यालय हेटौंडाले आफ्नो कार्यक्षेत्रअन्तर्गतका दुई राजमार्गको दायाँबायाँ सडक २५/२५ मिटर विस्तार गर्ने भनेको छ । यसबारे शनिबार सूचना प्रकाशित गरेसँगै वीरगन्जको मुख्य सडक विस्तारको चर्चा बढेको छ ।

कार्यालयको सूचनामा महेन्द्र राजमार्गको धन्सार पुल (बारा) देखि लोथर पुल (मकवानपुर) सम्म तथा त्रिभुवन राजपथको वीरगन्ज भन्सारदेखि मकवानपुरको दामे चौरसम्म राजमार्गछेउको २५/२५ मिटर अतिक्रमण हटाउन आह्वान गरिएको छ ।


यो सूचनासँगै सामाजिक सञ्जालमा अब वीरगन्जको मुख्य सडक पनि विस्तार हुने नहुने विषयमा बहस चल्न थालेको छ । युवा अभियन्ता सरोज चौरसियाले फेसबुकमा लेखेका छन्, ‘सडक विभागको सूचनाले वीरगन्जको मुख्य सडकको दुवैपट्टि २५/२५ मिटर टुट्ने सम्भावनालाई अझ बलियो पारेको छ ।’


उनको पोस्टलाई मन पराउँदै धमाधम सेयर गरिन थालिएको छ । सडक विभागको यो सूचनासँगै लामो समयदेखि थाती रहेको वीरगन्ज महानगरअन्तर्गतको मुख्य सडक विस्तारको मुद्दाले अब निकास पाउने संकेत देखिएको होटल व्यवसायी हरि पन्त बताउँछन् ।


वीरगन्ज महानगरका मेयर विजयकुमार सराबगी भने कुनै पनि हालतमा सडक विभागको सूचना र आदेश कार्यान्वयन गरिने अडानमा छन् । बिना मुआब्जा हामी एक इन्च पनि सडक विस्तार हुन दिनेछैनौं,’ उनले भने, ‘सरकारले मुआब्जा देओस्, अनि जति चाहिन्छ सडक विस्तार गरोस्, बसेको सहर त्यत्तिकै उजाड्न कहाँ पाइन्छ, यत्रा मानिस उठिबास भएर कहाँ जान्छन्, उचित मुआब्जा पाए पो अन्यत्र घरजम गर्न सक्छन् ।’ त्रिभुवन राजपथ पथलैया, सिमरा, जितपुर, परवानीपुर हुँदै गण्डक, पावरहाउस चोक भएर महानगरभित्र प्रवेश गर्छ ।


हाल महानगरको मुख्य सडकको रूपमा प्रयोग हुँदै आएको यो राजपथ घण्टाघर, माईस्थान चोक, आदर्शनगर चोक, अलखिया चोक, छपकैंया हुँदै रक्सौल सीमामा पुगेर अन्त्य भएको छ । पावरहाउस चोकदेखि घण्टाघरसम्म त्रिभुवन राजपथको समानान्तर पश्चिमतर्फ महानगरपालिकाको कार्यालय अर्को २ लेन सडक निर्माण गरेको छ ।


तर घण्टाघरदेखि दक्षिणतर्फ त्रिभुवन राजपथ भने अझै पनि २ लेनमै सीमित रहेको छ । मुलुककै जेठो राजमार्ग त्रिभुवन राजपथको अझै विस्तार नहुँदा महानगरवासीलाई सास्ती हुँदै आएको छ । साँघुरो सडकका कारण विशेषगरी घण्टाघरदेखि छपकैंया क्षेत्रमा आवागमनमा बढी समस्या छ । सबै खाले सवारी साधन मुख्य सडकबाटै चलाउउने गरिएको र सडकले सवारी साधनको चाप धान्न सकिरहेको छैन ।


मुलुकका अन्य सहरहरूको सडक विस्तार भई सहरले मुहार फेरिसक्दा मुलुकको प्रवेशद्वार वीरगन्जको सडक भने अझै पनि विस्तार हुन सकेको छैन । यो सडक विस्तारको चर्चा झन्डै ३ दशकदेखि हुदै आएपनि त्यसले मूर्तरूप लिन सकेको छैन ।


यस अवधिमा थुप्रै सरकार परिवर्तन र त्यससँगै सडक विस्तारसँग सरोकार राख्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी फरक–फरक दल तथा पृष्ठभूमिबाट आएका मन्त्रीले पाउँदै आएका छन् । उनीहरूले पनि वीरगन्जको मुख्य सडक निकट भविष्यमै विस्तार हुने दाबी गर्दै आए तापनि त्यसो हुन सकेको छैन ।


५ वर्षअघि सडक विस्तारको चर्चा चलेसँगै घरधनीहरूले सडक विस्तार कार्यलाई रोक्न संघर्ष समिति नै गठन गरेर संघर्षका कार्यक्रम पनि गरेका थिए । कहिले सडक छेउका घरधनीले अदालतमा रिट दायर गरेर त कहिले शक्तिकेन्द्रहरूलाई प्रभावमा पारेर सडक विस्तारको काममा अवरोध हुँदै आएको छ । वीरगन्ज महानगरपालिकाको नगरसभाले गत वर्ष महानगरको मुख्य सडक १५/१५ मिटर विस्तारका लागि नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय

गरेको थियो ।


वीरगन्जको मुख्य सडकमा महानगरका अधिकांश ठूला उद्योगी व्यवसायी तथा व्यापारिक घरानाका निवास तथा व्यापारिक प्रयोजनले निर्माण गरिएका भवन छन् । जसका कारण उनीहरूले आफ्नो पहुँच प्रयोग गरेर पटक पटक सडक विस्तारको योजनालाई तुहाउँदै आएको आरोप लाग्दै आएको छ । वीरगन्ज महानगरको छिमेकी बाराको जितपुर सिमरा उपमहानगरपालिका अन्तर्गत जितपुर बजारदेखि परवानीपुर हुँदै वीरगन्जको गण्डक क्षेत्रसम्मै २ साता यता राजमार्गको दुवैतर्फ २५ मिटर सडक विस्तार भइसकेको छ ।

प्रकाशित : असार ८, २०७६ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?