२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

‘हत्यालाई दुर्घटना बनाउन खोजियो’

पवन यादव

सिमरा — पीडकहरूको दबाबमा बारागढी गाउँपालिका ५ सिंहासनीका गोविन्दर साह तेलीको हत्यालाई दुर्घटनामा रूपान्तरण गर्न प्रहरीले प्रयास गरिरहेको आरोप मृतकका आफन्तले लगाएका छन् । 

बारागढी ५ सिहासनी टोल र टोकरी टोलको बीचमा जोखु चौधरीको खेतमा जेठ ९ गते राति हत्या भएको परिवारको दाबी छ । श्रीमान्को हत्या गरी त्यस स्थानबाट शव उठाई एसएस रिडर इङ्लिस बोर्डिङ स्कुलदेखि पूर्वमा रहेको मूल सडक खण्ड तामागढी र सिम्रौनगढ सडक खण्डमा ल्याई राखिदिएको आरोप मृतककी धर्मपत्नी वविता साहले लगाएकी छन् ।


‘विपक्षीहरू राजनीतिक पहुँचवाला भएको र उनीहरू घटनाबाट जोगिन जालझेल गरिरहेका छन्,’ उनले आरोप लगाइन्, ‘मेरो श्रीमान्को हत्या नै उनीहरूले गरेका हुन् ।’ गाउँको पञ्चायतीमा जायज कुरा बोलेको भन्दै श्रीमान् गोविन्दरलाई उनीहरूले ज्यान मार्ने धम्की दिंदै आएका थिए ।


उनीहरूले दिंदै आएको धम्कीलाई जेठ ९ गते राति यथार्थमा बदलिदिएको उनले आरोप लगाइन् । प्रहरीले पनि उनीहरूकै साथ दिइरहेको उनले गुनासो गरिन् ।


आफू अन्यायमा परेको र न्याय दिलाउन पहल गरिदिन उनले स्थानीय सञ्चारकर्मी, नागरिक समाजलाई समेत गुहारेकी छन् । गाउँमा भएको पञ्चायतीमा विपक्षीको तर्फबाट बोलेकाले उनको हत्या भएको साह पत्नी वविताले बताएकी छन् ।


तामागढीदेखि सिम्रौनगढसम्म निर्माण भइरहेको सडक पानीबाट भिजाएको विषयलाई लिई स्थानीयसँग भएको झैझगडामा आफ्नो पति गोविन्दरले सच्चाइको पक्ष लिएको उनले जानकारी दिइन् ।


केही स्थानीयले मिलेर पतिको हत्या गरेकाले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न उनले माग गरिन् । प्रहरीले राम्रोसँग अनुसन्धान नगरेको कोल्हवीमा स्कार्पियो चालकलाई हिरासतमा राखिएको र पछि छाडिएको मृतकका आफन्तले जनाएका छन् ।


कोल्हवीमा स्कार्पियो चालकलाई प्रहरीले सकार्न दबाब दिएको पीडित पक्षले दाबी गरेको छ । त्यसको केही दिनपछि जिल्ला प्रहरी कार्यालयमा बस चालकलाई ठक्कर दिएको सकार्न यातना दिइएको दाबीसमेत पीडित परिवारले लगाएको छ । व्यक्ति तथा हत्या गर्ने कारणबारे प्रस्ट जानकारी दिंदादिंदै पनि ती व्यक्तिमाथि अनुसन्धान नगरिएको उनीहरूले गुनासो गरेका छन् ।


हत्या भएकोबारे केही व्यक्तिहरूलाई थाहा भएको र ती व्यक्तिको नाम दिंदादिंदै पनि प्रहरीले ती व्यक्तिलाई गलत बयान दिन कुटपिटसमेत गरेको दाबी मृतक परिवारको छ । प्रभावशाली व्यक्तिको प्रभावमा परी प्रहरीले काम गरिरहेको आरोपसमेत पीडित पक्षले लगाएको छ ।


सत्य तथ्य अनुसन्धान गर्न र वास्तविक दोषीलाई पक्राउ गरेर कारबाही गर्न मागसमेत पीडित परिवारको छ । कुनै दबाब तथा प्रलोभनमा नपरी प्रहरीलाई न्यायको पक्षमा काम गर्न मागसमेत गरिएको छ ।


हत्यालाई दुर्घटना बनाउने खेल बन्द गर्न माग गरिएको छ । भरतपुरमा गरिएको पोस्टमार्टम रिपोर्टलाई केन्द्रमा राखी अनुसन्धान प्रक्रिया अगाडि बढाउने पीडित पक्षको माग हो । जिल्ला प्रहरी कार्यालय बारामा किटानी जाहेरी दिन जाँदा पनि प्रहरीले जाहेरी दर्ता गर्न नमानेको पीडितले आरोप लगाए ।


‘इलाका प्रहरी कार्यालय कोल्हवीले घटनाको सुरुमा अनुसन्धान गर्दा गोविन्दरलाई मारेर सडकमा ल्याई राखेको प्रारम्भिक अनुसन्धानको क्रममा बताएको थियो,’ पीडितले भने, ‘तर घटनाको अनुसन्धान जिल्ला प्रहरी कार्यालय सम्म पुग्दा दुर्घटनाको स्वरूप दिन थालियो ।’

प्रकाशित : असार ८, २०७६ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?