कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सहिद परिवारलाई दुधालु भैंसी

मधेस आन्दोलन, जनआन्दोलन र माओवादी विद्रोहका क्रममा सहिद भएका र सख्त घाइते भएका परिवारलाई दुधालु भैंसी र गोठ सुधारका लागि ३० हजार मन्त्रालयले प्रदान गर्दै
अवधेशकुमार झा

राजविराज — प्रदेश २ को भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले मधेस आन्दोलन, जनआन्दोलन र माओवादी विद्रोहका क्रममा सहिद भएका र सख्त घाइते भएका परिवारलाई दुधालु भैंसी वितरण गर्न सुरु गरेको छ ।

सहिद परिवारलाई दुधालु भैंसी

कृषिमन्त्री शैलेन्द्रप्रसाद साहले आइतबार राजविराज ९ मलेठस्थित सहिद स्मारक नजिक आयोजित कार्यक्रममा मधेस आन्दोलनका क्रममा भारदहमा भएका सहिद राजीव राउतकी श्रीमती नीलमलाई भैंसी हस्तान्तरण गर्दे उक्त कार्यको शुभारम्भ गरे ।


सहिद र घाइते परिवारलाई जीविकोपार्जनका लागि आर्थिक आर्जन गर्न भैंसी वितरण गरिएको मन्त्री साहले बताए । वितरण गरिएका भैंसी कम्तीमा पाँच लिटर र बढीमा ९ लिटरसम्म दूध दिने किसिमको रहेको छ । भैंसीसँगै मन्त्रालयले भैंसी पाउने परिवारलाई प्रतिपरिवार ३० हजार रुपैयाँसमेत वितरण गरिरहेको छ ।


भैंसीलाई राख्नका लागि गोठ सुधार तथा प्रारम्भिक चरणमा आहाराका लागि रकम दिने गरिएको मन्त्रालयका सचिव विजयचन्द्र झाले जानकारी दिए ।


आइतबार मलेठमा २० जनालाई उक्त भैंसी वितरण गरिएको छ भने सोमबार भारदहमा थप १४ भैंसी वितरण गर्ने कार्यक्रम रहेको छ । सप्तरी जिल्लामा १८ सहिद र १६ जना सख्त घाइतेका परिवारलाई भैंसी वितरण गर्ने योजना छ । मन्त्री साहका अनुसार सिरहामा ४, सप्तरीमा १८, धनुषामा ३, महोत्तरीमा ९, सर्लाहीमा ७, रौतहटमा ५, बारामा ५ र पर्सामा ७ गरी कुल ५८ सहिद परिवारलाई भैंसी वितरणको कार्यक्रम चालु आर्थिक वर्षमा रहेको छ ।


यसैगरी सिरहामा १४, सप्तरीमा १६, धनुषामा ५, महोत्तरीमा २, सर्लाहीमा ९, रौतहटमा ४, बारामा ४ र पर्सामा १० गरी कुल ६४ सख्त घाइते परिवारलाई पनि भैंसी वितरण गरिने मन्त्री साहले जानकारी दिए । वितरण गरिएका भैंसी तीन वर्षसम्म बेच्न नपाइने गरी सम्झौता गर्ने गरिएको पशुपक्षी विकास महाशाखा प्रमुख इन्द्रदेव साहले बताए ।


यसवर्ष प्रक्रियामा छुट भएकालाई अर्को वर्ष पनि वितरण गरिने मन्त्री साहले जानकारी दिए । ‘हामीले चाहेर पनि सहिद र घाइते परिवारका लागि धेरै गर्न सकिइरहेका छैनौं,’ मन्त्री साहले भने, ‘तर संघीयता प्राप्तिमा प्राणको आहुति दिने सहिद परिवार र आफ्नो जीवनको परवाह नगर्ने घाइते परिवारलाई सक्दो सहयोग गर्न प्रदेश सरकार प्रतिबद्ध छ ।’


मधेस आन्दोलनका सहिद परिवारलाई प्रदेश सरकारको पहिलो मन्त्रिपरिषदको निर्णयबाट एक परिवार एक रोजगारको सन्दर्भमा हरेक सहिद परिवारलाई नियुक्ति पत्र दिई सकिएको र व्यवस्थापन मिलाउने क्रममा रहेको मन्त्री साहले जानकारी दिए । प्रदेश सरकारले क्रमैसँग मधेस आन्दोलनका घाइते परिवारलाई आर्थिक सहयोग उपलब्ध गराइरहेको उनले जानकारी दिए ।


सहिदका बालबालिकाको अध्ययनका लागि प्रदेश सरकारले विशेष छात्रवृत्ति योजना ल्याएको जानकारी दिँदै मन्त्री साहले त्यसको सदुपयोग गर्न सबैमा आग्रह गरे । ‘सहिद परिवारको आँखामा आँसु आए त्यो हाम्रा लागि श्रापसरह नै हुनेछ,’ मन्त्री साहले भने, ‘त्यसैले सहिद परिवारलाई हरसम्भव सहयोग गर्न प्रदेश सरकार प्रतिबद्ध छ ।’

प्रकाशित : असार ९, २०७६ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?