सवारी आयात घट्यो

कान्तिपुर संवाददाता

पर्सा — वीरगन्ज/आईसीपी भन्सार नाकाबाट चालु आर्थिक वर्षमा सवारीसाधनको आयात घटेको छ । चालु आर्थिक वर्षको जेठसम्ममा जिप, कार, भ्यान र मोटरसाइकलजस्ता सवारीसाधनको आयातमा कमी आएको हो । 

भन्सार कार्यालयको तथ्यांकअनुसार चालु आवको जेठ महिनासम्ममा यो नाका हुँदै ८ अर्ब ६३ करोड रुपैयाँ बराबरको ८ हजार ५ सय ८८ थान जिप, कार, भ्यान आयात भएका छन् । जसबाट १८ अर्ब ३९ करोड रुपैयाँ राजस्व संकलन भएको छ । गत आवको यसै अवधिमा ९ अर्ब ७६ करोड रुपैयाँ बराबरको ११ हजार ५४ थान आयात भएका थिए । जसबाट १९ अर्ब ३९ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।

तुलनात्मक रुपमा हेर्दा गत वर्षको भन्दा २ हजार ४ सय ६६ थान सवारी कम आयात भएका छन् । आयात घट्दा यसबाट संकलन हुने राजस्वमा पनि गिरावट आएको छ । गत आवको भन्दा चालु आवमा १ अर्ब ९१ लाख ३ हजार रुपैयाँ कम राजश्व संकलन भएको छ । यता मोटरसाइलकको आयात पनि ह्वात्तै घटेको छ । चालु आवको जेठ महिनासम्ममा यो नाका हुँदै ८ अर्ब ३२ करोड रुपैया बराबरको ९७ हजार ९ सय ५६ थान मोटरसाइकल आयात भएको छ ।

जसबाट ९ अर्ब १७ करोड रुपैया राजस्व संकलन भएको छ । गत आवको यसै अवधिमा १० अर्ब ५४ करोड रुपैया बराबरका १ लाख २२ हजार ३ सय ३५ थान मोटरसाइकल भित्रिएका थिए । तुलनात्मक रुपमा यस वर्ष २४ हजार ३ सय ७९ थान कम मोटरसाइकल भित्रिएका छन् । मोटरसाइकलको आयातबाट गत आवको भन्दा चालु आवमा १ अर्ब ९१ लाख रुपैया राजस्व पनि कम संकलन भएको छ ।

वीरगन्ज भन्सारले संकलन गर्ने राजस्वमा सवारी साधनबाट आउने राजश्वले महत्त्वपूर्ण भूमिका खेल्ने गर्छ । सवारीसाधनको आयात
घट्दा यो भन्सारले लक्षित राजस्व संकलन गर्न सक्दैन । त्यसको परिणामस्वरूप चालु आवको अधिकांश महिनामा यो भन्सारले मासिक राजस्व असुली लक्ष्य भेट्टाउनसकेको छैन ।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत मनिष महतो जिप, कार, भ्यानमा क्षमताको सीसीअनुसार भन्सार महसुल लाग्ने बताउँछन् । औसतमा सबै खाले शुल्क गरी मूल्यको १ सय ५० देखि २ सय ५० प्रतिशतसम्म भन्सार महसुल लाग्छ । मोटरसाइकलको पनि सिसीअनुसार नै भन्सार महसुल लाग्छ । यसमा औसत मूल्यको ८५ देखि १ सय ५० प्रतिशतसम्म भन्सार महसुल लाग्छ ।

पछिल्ला केही महिनामा जिप, कार, भ्यान र मोटरसाइकलको आयात क्रमश ः ओरालो लाग्दो रहेको महतो पनि बताउँछन् । क्षनाका परिवर्तनको कारणले भनौ भने अन्य नाकाबाट पनि यी सवारीको आयात बढेको देखिँदैन । गत आवको जेठ महिनामा उत्साहजनक रुपमा नया सवारी साधन आयात भएका थिए, तर यस वर्ष जेठ महिनामा पनि त्यस्तो उत्साह देखिएन,’ उनले भने, ‘बजारमा तरलताको अभाव पनि भएको हुन सक्छ ।बैंकबाट सहजै अटो लोन नपाउँदाको अवस्थामा पनि यसो भएको हुन सक्छ ।’

नेपालमै नया सवारी साधन र त्यसमा पनि जिप, कार, भ्यानको मुख्य बजार नै राजधानी हो । राजधानीमा ग्राहकले बुक गरे लगत्तै आयातकर्ता कम्पनीले यहाँबाट सवारी साधन जाँचपास गराएर लग्छन् । समुद्री मार्गबाट भारतको कोलकाता बन्दरगाह सम्म ल्याइने तेश्रो मुलुकबाट आयातित सवारी साधन देखि भारतमै निर्मित सवारी साधन पनि भौगोलिक निकटता र यहाबाट राजधानी लग्न छोटो दूरी पर्ने भएकाले पनि आयातकर्ताले सवारी साधन आयातका लागि वीरगन्ज नाका नै रुचाउने गर्छन् ।

प्रकाशित : असार १०, २०७६ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्

ल्यान्डफिल नहुँदा सेतीमा फोहोर

प्रताप रानामगर

दमौली — तनहुँको भिमाद नगरपालिकामा ल्यान्डफिल साइट नहुँदा बजारको फोहोर सेती नदीमा फाल्ने गरिएको छ । अव्यवस्थित रुपमा फालिने फोहोरका कारण नजिकको बस्तीमा दुर्गन्ध फैलिएको छ भने नदी पनि प्रदूषित हुने गरेको छ । 

भिमाद–६ साँढेहुलस्थित नदी किनारमा फोहोर फालिँदा नजिकैको जनज्योति क्याम्पस र म्याग्दे–५ छाङपाटन बस्तीमा दुर्गन्ध फैलिएको हो । दुर्गन्धले गाउँमा बसिनसक्नु भएको स्थानीय मीरा थापाले बताइन् । ‘फोहोरको दुर्गन्धले बसी खप्नु छैन,’ उनले भनिन्, ‘घरमा बस्दा पनि नाक थुन्नुपर्छ ।’ पशुजन्य हाडखोर र सडेको छाला र फोहोरमा आगो लगाउँदा गन्धले सासर्फेर्न गाह्रो हुने उनले बताइन् ।

फोहोर नफाल्न भिमाद नगरपालिकालाई पटकपटक अनुरोध गरे पनि सुनुवाइ नभएको स्थनीयले बताएका छन् । फोहोरको दुगर्न्धले गाउँका २ सय घर परिवारलाई असर पारेको छ । म्याग्दे–५ का वडाध्यक्ष शिवबहादुर आलेले फोहोरको दुर्गन्धले छाङपाटनमा असर परेको बताए । ‘फोहोरले पारेको असर र जनताको गुनासो भिमादलाई पत्राचार गरी जानकारी गराएका छौं,’ उनले भने, ‘तर, सुनुवाइ भएन ।’

गाउँपालिकाले पनि पत्राचार गर्दै फोहोर व्यवस्थापन गर्न भनेको उनले बताए । फोहोरको दुर्गन्ध जनज्योति क्याम्पसमा परिसरसम्म आएको क्याम्पस प्रमुख केशवराज काफ्लेले बताए । फोहोरमैलाको व्यवस्थापन गर्न सकिएन भने पठनपाठनमा समस्या देखिने उनको भनाइ छ ।

भिमादको प्रमुख समस्या ल्यान्डफिल साइड रहेको नगरप्रमुख मेखबहादुर थापाले बताए । ‘यो दीर्घकालीन समस्याको रूपमा छ,’ उनले भने, ‘ल्यान्डफिलका लागि जग्गाको खोजी भइरहेको छ । तर टुंगो लागेको छैन ।’ वडा ६ र ७ बाटै स्थायी ल्यान्डफिल साइडको खोजी भइरहेको उनले बताए ।

रातढुंगा क्षेत्रमा ल्याण्डफिलका लागि अध्ययन भइरहेको उनको भनाइ छ । बजारबाट निस्केका फोहोरलाई व्यवस्थित गर्नका लागि फोहोरको वर्गीकरण गर्नुको विकल्प नभएकाले कुहिने र नकुहिने वर्गीकरण गरेर व्यवस्थापन गर्ने तयारी भइरहेको उनले बताए ।

तनहुँ उद्योग वाणिज्य संघ भिमाद बजार एकाइले नगरपालिकाको सहयोग र समन्वयमा ५ वर्षदेखि फोहोरमैला व्यवस्थापन गर्दै आएको छ । संघका सचिव दयानिधि पौडेलले बजारलाई सफा र स्वच्छ बनाउन फोहोरमैला संकलन गरेर व्यवस्थापन गरेको बताए । भिमाद बजारबाट सातामा १२ देखि १४ ट्याक्टर फोहोर संकलन हुन्छ । बजारका एक हजार ५ सय १० घरधुरीबाट रकम उठाएर फोहोर संकलन गरिन्छ ।

प्रकाशित : असार १०, २०७६ १०:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्