१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

नगरपालिकामा ताला, मेयरको वैकल्पिक कार्यालय

सर्लाही — दक्षिणी क्षेत्रमा पर्ने बलरा नगरपालिकामा जनप्रतिनिधिबीचको विवाद बढिरहेको छ । उपमेयर, वडाध्यक्षसहित नगरका बोर्ड सदस्यले नगरपालिका प्रमुखले मनोमानी तरिकाले चलाएको भन्दै ताला लगाएपछि प्रमुख अभयकुमार सिंहले आफ्नै गाउँमा वैकल्पिक कार्यालय सुरु गरेका छन् । 

नगर प्रमुख सिंहले कार्यालयमा लगाइएको ताला खुलाउनुको साटो वैकल्पिक कार्यालयको स्थापना गरेपछि विवाद झन् चर्केको छ । नगर प्रमुख सिंहले आइतबार दिउँसो एक कार्यक्रमको आयोजना गरी वैकल्पिक कार्यालय खोलेका हुन् । वैकल्पिक कार्यालयको उद्घाटन समन्वय समितिका सभापति मैथुर चौधरीले गरेका थिए । समन्वय समितिले स्थानीय तहमा बढेको विवादलाई सुल्झाउन समन्वयकारी भूमिका निभाउनुपर्नेमा वैकल्पिक कार्यालयको उद्घाटन गरिएको हो ।


तालाबन्दीपछि नगरपालिकाको अवरुद्ध सेवालाई निरन्तरता दिने भन्दै नगर प्रमुख सिंहले बलरा नगरपालिका–१, हथियौलमा वैकल्पिक कार्यालय खोलेको बताए । मेयर सिंहले मनोमानी ढंगले नगरपालिका चलाएको भन्दै नगरकी उपमेयर रामसखी देवीसहित ८ वडाध्यक्षहरूले असार ४ गते नगरपालिका कार्यालयमा तालाबन्दी गरेका थिए ।


आर्थिक वर्षको अन्त्यमा नगरपालिकामा तालाबन्दी भएपछि आगामी आर्थिक वर्षका लागि योजना छनोट तथा चालु आर्थिक वर्षमा पूरा गर्नुपर्ने योजनाको भुक्तानी र नयाँ योजनाको सम्झौता गर्न समस्या हुने भएपछि वैकल्पिक कार्यालय स्थापना गर्नुपरेको नगर प्रमुख सिंहको भनाइ छ । ‘आर्थिक वर्षको अन्त्य आइसक्यो, यहीबेला उहाँहरूले तालाबन्दी गर्नुभएको छ, जसले आगामी आर्थिक वर्षको योजना छनोट र यस वर्षको भुक्तानीलगायतको काम गर्न कठिन भयो,’ मेयर सिंहले भने, ‘बेलैमा काम सक्नुपर्ने भएकाले वैकल्पिक कार्यालय मात्र खोलेका छौं ।’


सिंहको कार्यशैलीविरुद्ध केही समय अघिमात्रै उपमेयर र वडाध्यक्षहरूले झन्डै तीन महिना नगरपालिकामा तालाबन्दी गरेका थिए । सो समयमा मेयर सिंहले कार्यालय खुलाउनका लागि आफै धर्नामा बसेका थिए । यस पटकको तालाबन्दीमा भने उनले वैकल्पिक कार्यालय खोलेका हुन् ।


मेयर सिंहले वैकल्पिक कार्यालय खोलेपछि उपमेयर रामसखीसहित वडाध्यक्षहरूले मेयरको एकलौटीको पराकाष्ठा नाघेको प्रतिक्रिया दिएका छन् । ‘यो उनको एकलौटी नगर चलाउने योजना हो,’ बलरा नगरपालिका–५ का वडाध्यक्ष मनोज मोहनकुमार सिंहले भने, ‘नगरमा भइरहेको विवाद मेयरले मिलाउनुको साटो झन् चर्काउन खोजेका छन् ।’ उनीहरूले विगतमा भएको सहमति पनि पालना नभएको गुनासो गरे ।


बलरा नगरपालिकामा पुनः तालाबन्दी भएपछि नगरवासी भने निराश छन् । नजिकको स्थानीय तहमा धमाधम विकास भइरहँदा आफूहरूको नगरमा भने मेयर, उपमेयर र वडाध्यक्ष आन्तरिक कलहमा रुमल्लिँदा नगरवासी चिन्तित बनेका हुन् । ‘जनप्रतिनिधिको आन्तरिक कलहका कारण हाम्रो नगर विकास निर्माणमा पछि परेको छ, यो आर्थिक वर्षमा मात्र दुई पटक तालाबन्दी भइसक्यो,’ स्थानीय अनिलकुमार सिंहले भने, ‘हाम्रा जनप्रतिनिधिमा नेतृत्व गर्ने क्षमताको कमी महसुस भएको छ ।’

प्रकाशित : असार ११, २०७६ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?