कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

गर्मीले विद्यार्थी बेहोस

मध्य मधेसमा तापक्रम दैनिक रूपमा बढदै गएपछि विद्यार्थी बेहोस हुने, टाउको दुख्ने, तनावमा पर्ने जस्ता लक्षण देखिन थालेका छन्
अवधेशकुमार झा

राजविराज — विद्यालयमा छुटी हुने बेलामा गर्मीका कारण सोमबार राजविराजस्थित दुर्गा सेकेन्ड्री स्कुलका एक विद्यार्थी बेहोस भए । विद्यालय प्रशासनले तत्कालै उनलाई कक्षाबाट बाहिर ल्याई प्रारम्भिक उपचार गरे । केही बेरपछि उनी होसमा आए । दुर्गा स्कुलमा सोमबार भएको यो घटना पछिल्लो समय सप्तरीका धेरै विद्यालयका विद्यार्थीमा देखिन थालेको छ । 

गर्मीले विद्यार्थी बेहोस

तापक्रम दैनिक रूपमा बढदै गएपछि विद्यार्थी बेहोस हुने, टाउको दुख्ने, तनावमा पर्ने जस्ता लक्षण देखिन थालेका छन् । जिल्लाका धेरै विद्यालयमा टिनको छानो भएको घर तथा बिनापंखामा विद्यार्थी अध्ययन गर्नुपर्दा समस्या झनै थपिएको छ ।


गर्मी बढदै जाँदा केही स्थानीय तहले टिफिनसम्म मात्र पढाइ गर्ने गरिए पनि अझै पनि जिल्लाका सबै विद्यालयमा अत्यधिक गर्मीबीच अध्ययन अध्यापन भइरहेको छ । ‘अहिले गर्मी खपिनसक्नुभएको छ,’ राजविराजका अभिभावक कन्हैया मिश्राले भने, ‘यो मौसम विद्यार्थीका लागि पढ्ने खालको होइन, विद्यार्थी तनावमा गएर पढ्न सक्दैनन् ।’


विद्यालय सञ्चालन गर्नु बाध्यता भएको दुर्गा सेकेन्ड्रीका प्रिन्सिपल चन्द्रशेखर देवले बताए । ‘हाम्रोमा त टिनको छानो भएको कक्षाकोठा छैन,’ उनले भने, ‘सबै कक्षामा पंखासमेत छ जसका कारण केही हदसम्म विद्यार्थी जोगिएका छन् ।’ उनले असार १२ देखि परीक्षा लिएर मात्र बिदा दिन सकिने बाध्यता रहेको सुनाए ।


तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले गर्मी अत्यधिक बढदै गएपछि आफ्नो गाउँपालिका क्षेत्रभित्रका सबै विद्यालयमा टिफिनसम्म मात्र अध्यापन गराउन निर्देशन दिइएको बताए । ‘पूरा समय बढाउन सक्ने खालको मौसम छैन,’ अध्यक्ष सिंहले भने, ‘मौसम यसैगरी प्रतिकूल भइरहे विद्यालय बिदा नै गर्नुपर्ने स्थिति छ ।’


पछिल्लो केही दिनदेखि गर्मी अत्यधिक रूपमा बढेपछि आइतबार र सोमबार भने ३९ डिग्रीमा तापक्रम पुगेको छ । राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादवले पनि प्रतिकूल मौसमका कारण विद्यार्थीलाई अध्ययन गर्न सक्ने अवस्था नरहेको स्विकारे । उनले गर्मी अत्यधिक बढेकाले सरोकारवालासित छलफल गरी विद्यालयमा बिदा दिने तयारी गरिएको बताए ।


लामो समयदेखि पर्याप्त वर्षा नहुँदा भूमिगत जलको स्तर निक्कै तल गएका कारण खानेपानीका ट्युबवेलमा पानी आउनेक्रम समेत कम भएको छ । ग्रामीण क्षेत्रमा रहेका पोखरी सुक्न थालेका छन् । धेरै स्थानमा ट्युबवेलमा पानी आउने छोडेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय राजविराजका इन्जिनियर शैलेन्द्रकुमार झाले बताए । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले गर्मीका कारण जिल्लाको जनजीवनमा प्रभाव परेको बताए ।


बिहान हुनेबित्तिकै चर्को घामसँगै तापक्रम अत्यधिक बढ्ने गरेको छ । सप्तरीसँगै प्रदेश २ का अन्य जिल्लामा पनि अत्यधिक गर्मीले असहज स्थिति उत्पन्न भएको हो । झाका अनुसार जिल्लाको उत्तरी र पश्चिमी क्षेत्रमा भूमिगत जलको स्तर निक्कै तल गएका कारण ट्युबवेलमा पानी आउन छोडेको हो । ‘रूपनगर र धर्मपुरलगायत उतरपूर्वी क्षेत्र तथा पातोलगायतका पश्चिमी क्षेत्रमा भूमिगत जलको स्तर निक्कै तल गएको छ,’ इन्जिनियर झाले भने, ‘ती क्षेत्रका धेरै ट्युबवेलमा पानी आउन छोडेको छ ।’


गर्मीका कारण अस्पतालमा बिरामीको चाप थेगिनसक्नुभएको छ । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासमा अनुसार अत्यधिक गर्मीसँगै अस्पतालमा बिरामीको चाप अत्यधिक बढेको छ । अहिले ओपीडीमा दैनिक रूपमा डेढ सयदेखि दुई सयसम्म बिरामी आउने गरेको डा दासले जानकारी दिए । अहिले आउने बिरामीमा ज्वरोका बिरामी अत्यधिक रहेको उनले बताए । ‘महामारीकै रूपमा कुनै रोगका बिरामी आएका छैनन्,’ डा. दासले भने, ‘तर केही दिनअघिको तुलनामा अहिले गर्मी बढेसँगै बिरामीको चाप भने ह्वातै बढेको छ ।


उनका अनुसार गर्मी अत्यधिक बढदा खानपानमा सचेतना नहुँदा बिरामी भई अस्पताल पुग्नेको संख्या बढदै गएको हो । अस्पतालमा बालबालिका अत्यधिक आउने गरेको उनले सुनाए ।


दिउँसो तातो हावा, चर्को घाम र गर्मीका कारण बजार क्षेत्रमा सर्वसाधारणको चहलपहल कम देखिन्छ भने सरकारी कार्यालयमा पनि सेवाग्राहीको उपस्थिति पातलिने क्रममा छ । गर्मीकै कारण राजविराजलगायतका पूर्वका बजारमा दिउँसोका बेला सर्वसाधारणको चहलपहल कम हुने गरेको छ ।


खासगरी मजदुरी गर्ने, रिक्सा र ठेला चलाएर गुजारा गर्नेहरू गर्मीको मारमा परेका छन् । गर्मी बढदै गएपछि बजार क्षेत्रमा अहिले चिसो पेय पदार्थ, कागतीको रस, उखुको रसको बिक्री पनि हवात्तै बढेको छ । बजारमा अहिले फ्रिज, कुलर र पंखाको बिक्री अत्यधिक छ । ती विद्युतीय सामग्रीको अत्यधिक प्रयोगका कारण सर्वसाधारणको खर्चलाई समेत बढाएको छ ।

प्रकाशित : असार ११, २०७६ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?