कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

ऋणीले धनीको जग्गा बेचेपछि...

अवधेशकुमार झा

राजविराज — जग्गा दृष्टिबन्धक राखी ऋण लिनेले नै धोखा दिएर धनीकै जग्गा आफ्नो नाममा राजिनामा पास गराउन खोजेपछि प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ ।

ऋणीले धनीको जग्गा बेचेपछि...

सप्तरी जिल्लाको सुरुङगा नगरपालिका २ भेडियाकी अगहनीदेवी कोइरीको नाममा रहेको १६ कठा ८ धुर जग्गा धोखा दिएर अर्काको नाममा पास गराउन खोजेको आरोपमा स्थानीय लक्ष्मण साहलाई नियन्त्रणमा लिइएको हो ।


वैदेशिक रोजगारीमा रहेका छोराले पठाएको रकम ब्याजमा स्थानीय गेनालाल चौधरीलाई दिने क्रममा अगहनियादेवी कोइरी छिमेकी लक्ष्मणसँगै मालपोत कार्यालय सप्तरी पुगेकी थिइन् । उनले गेनालाललाई १ लाख रुपैयाँ ऋण दिनुपूर्व उनको नाममा रहेको जग्गा दृष्टिबन्धक गरी आफ्नो नाममा गर्नका लागि मालपोत पुगेकी उनलाई लक्ष्मणले धोखामा पारेको अगहनीकी बुहारी शिवदेवी महतोले बताइन् ।


‘मेरी सासुको नाममा दृष्टिबन्धक भई जग्गा आउनुपर्नेमा उल्टै मेरी सासुको नाममा रहेको १६ कठा ८ धुरा जग्गा लक्ष्मण साह सहितकाले सत्यनारायण चौधरीको नाममा राजिनामा पास गराइदिए,’ बुहारी शिवदेवीले भनिन्, ‘सासुआमालाई धोखा दिएर उनीहरूले किर्ते काम गर्न खोजेका थिए ।’


दुईदिन अघि मालपोतबाट घर गएकी अगहनीदेवीलाई स्थानीय मानिसले जग्गा कति रुपैयाँमा बेचेको भन्दै प्रश्न गर्न थालेपछि मंगलबार उनी फेरि मालपोत कार्यालय सप्तरी आएकी थिइन् । मालपोत पुगेपछि आफ्नो जग्गा अरूको नाममा पास भएको राजिनामा देखेपछि मात्र उनी र उनको परिवार ठगिएको थाहा पाएका थिए ।


आफ्नो जग्गा धोखा दिएर अरूको नाममा पास भएको थाहा पाएपछि अगहनी र उनका परिवारसहित स्थानीय वासिन्दाले लक्ष्मणलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाएका थिए । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक भावेश रिमालले जग्गा सम्बन्धी विषयमा छानबिनका लागि लक्ष्मण साहलाई नियन्त्रणमा लिइएको र थप अनुसन्धानपछि मात्र सबै कुरा बताउन सकिने बताए ।


जिल्ला मालपोत कार्यालय सप्तरीका प्रमुख भिष्म भट्टराईले जग्गा राजिनामा पास भई अर्काको नाममा जानु अघि नै कुरा बाहिर आएकाले मालपोत कार्यालयका कर्मचारीको संलग्नता नरहेको दाबी गरे । ‘सही छाप सबै बाहिरबाटै गरेर ल्याएको हुन्छ, पास हुने बेलामा बिक्री गर्नेलाई कर्माचारीले रकम पाए नपाएको सोध्ने गरिन्छ,’ प्रमुख भट्टराईले भने, ‘पास हुने स्थानभन्दा पहिला नै अगहनीदेवी ठगिएको भन्दै आएपछि उक्त जग्गाको प्रक्रिया त्यही रोकियो ।’

प्रकाशित : असार १२, २०७६ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?