कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

तीन स्थानीय तहले गरेनन् सभा

ओमप्रकाश ठाकुर

सर्लाही — जनप्रतिनिधिबीचको विवाद र कर्मचारी अभावका कारण जिल्लाका तीन स्थानीय तहले बजेट ल्याउन सकेका छैनन् । केही स्थानीय तहले भने विवादका बावजुद पनि बजेट ल्याउन सफल भएका छन् । 

मुलुकमै सबभन्दा बढी अर्थात २० स्थानीय तह रहेको जिल्लामा १७ स्थानीय तहले मात्र समयमै नगर तथा गाउँ सभा गरी बजेट ल्याएका छन् ।


जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बलरा नगरपालिका, हरिपूर्वा नगरपालिका र रामनगर गाउँपालिकाले नगर सभा गर्न नसकेका हुन् । नगर तथा गाउँ सभा नहुँदा ती स्थानीय तहले वार्षिक नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेका छैनन् । हरिपुर्वा र बलरा नगरपालिकामा जनप्रतिनिधिबीचको किचलो छ । भने रामनगर गाउँपालिकामा कर्मचारी अभाव छ ।


जिल्लाको दक्षिण पश्चिम क्षेत्रमा पर्ने बलरा नगरपालिका राजनीतिक विवादमा फसेको छ । नगरकी उपप्रमुख रामसखी देवीसहित अधिकांश वडाध्यक्षहरूले मेयर अभय सिंहले एकलौटी गरेको भन्दै नगरपालिकामा तालाबन्दी गरेका छन् । यता मेयर सिंहले वैकल्पिक कार्यालय खोलेपछि विवाद झन चर्कदो छ । यही विवादका कारण नगरपालिकाको नगर सभा हुन सकेको छैन । नगरमा वैकल्पिक कार्यालय खोलिए पनि महत्त्वपूर्ण कागजात नगरपालिकामै थुनिएको र आन्तरिक विवाद नमिलेकाले नगर सभा गर्न नसकिएको नगरका मेयर अभय सिंहले बताए ।


‘काम गर्ने मुख्य समयमा नगरको कार्यालयमा तालाबन्दी भएको छ, वैकल्पिक कार्यालय खोलिए पनि जनप्रतिनिधिबीचकै विवाद मिल्न सकेको छैन, जसका कारण नगर सभा गर्न समस्या भएको छ,’ उनले भने, ‘विवाद मिलाउने प्रयासमा छु, विवाद समाधान हुने बित्तिकै नगर सभामा जोड दिन्छौं ।’ यस्तै जिल्लाको दक्षिणी–पूर्वी क्षेत्रमा पर्ने हरिपुर्वा नगरपालिका पनि विगत लामो समयदेखि राजनीतिक खिचातानीमा परेको छ ।


यहाँ विवाद बढेपछि झण्डै ५ महिना नगर प्रमुख सियाराम राय कार्यालय आउनै छाडेका थिए । नगर प्रमुख नै कार्यालय नआएपछि यस आर्थिक वर्षको विकास निर्माणको काम समेत अवरुद्ध छ । राजनीतिक खिचातानीका कारण यहाँ पनि नगर सभा हुन सकेको छैन । नगरमा निर्वाचित जनप्रतिनिधिबीचको विवादका कारण विकास निर्माण ठप्प बनेको र अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउन नसकिएको नगरका प्रमुख प्रशासकीय अधिकृत मोहम्मद महफुज अहमदले बताए ।


‘नगर लामो समयदेखि राजनीतिक खिचातानीमा परेको छ, राजनीतिक द्वन्द्वका कारण यस आर्थिक वर्षको विकास निर्माण प्रभावित बनेको छ, भने अगामी वर्षको बजेट ल्याउन सकिएको छैन,’ उनले भने, ‘नगर प्रमुखले राजनीतिक विवाद अन्त्य गर्न पहल गरिरहनु भएछ, अब चाँडै समस्या समाधान हुन्छ र अगामी वर्षको बजेट ल्याउँछौं ।’


यता रामनगर गाउँपालिकामा भने कर्मचारी अभाव छ । एक जना सुब्बाको भरमा चल्दै आएको गाउँपालिकामा कर्मचारी अभावकै कारण गाउँ सभा गर्न नसकिएको गाउँपालिकाका अध्यक्ष कृष्ण वर्माले बताए ।


नजिकको स्थानीय तहबाट कर्मचारी ल्याएर अस आर्थिक वर्षको योजनाको काम गरिरहेको गाउँपालिकाले अगामी वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउन सकस भएको जनाएको छ । ‘कर्मचारी अभावका कारण विगत लामो समयदेखि समस्या भोग्दै आएका छौं, गाउँ एक जना सुब्बाको भरमा चलिरहेको छ, कर्मचारी अभावकै कारण गाउँ सभा गर्न सकस भएको छ,’ उनले भने, ‘कर्मचारी नै नभएपछि कसरी नीति तथा कार्यक्रम बनाउनु र बजेट ल्याउनु ।’

प्रकाशित : असार १३, २०७६ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?