१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

नक्कली नोटको अनुसन्धान फितलो

लक्ष्मी साह

बारा — प्रहरीले गत जेठ १६ मा हजार दरका १० नेपाली नक्कली नोटसहित रौतहट जिल्ला मौलापुर नगरपालिका–९, सोनरनियाँ घर भएका २७ वर्षीय शिवदयाल महतोलाई बाराको कोल्हवी नगरपालिका–२, झुरझुरेबाट पक्राउ गर्‍यो ।

नक्कली नोटको अनुसन्धान फितलो

पूर्व–पश्चिम राजमार्गमा पर्ने निजगढ बजारबाट कोल्हवी व्यापारिक बजार हुँदै घरतर्फ जाँदै गर्दा प्रहरीले जाँचका क्रममा उनलाई नोटसहित पक्राउ गरेको थियो । उनी ना९प ५४५२ नम्बरको बाइकसहित पक्राउ परेका हुन् । प्रहरीले उनीमाथि खोटा चलनअन्तर्गत मुद्दा दर्ता गरी अदालतमा पेस गरेको थियो । अदालतले उनलाई मुद्दाको थप पुष्टिका लागि अनुसन्धान गर्नुपर्ने भन्दै थुनछेक आदेश गरेपछि उनी जेलमा छन् ।


‘प्रहरीले उक्त नक्कली रकम शिवदयालले कहाँबाट ल्याए ? कहिलेदेखि यो धन्दा गर्दैछन् ? भन्ने अनुसन्धानबाट खुलाउन सकेन,’ अपराध अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालय जनकपुरबाट परिचालित सादा पोसाकका एक प्रहरी अधिकृतले भने, ‘तीन सातासम्म प्रहरी हिरासतमा रहेका शिवदयालले उक्त नक्कली नोटबारे न भित्री पोल खोले न अनुसन्धान अधिकृतले खुलाउन सके ।’


शिवदयालले प्रहरी समक्ष मेलामा लंगुरबुर्जा खेल्ने क्रममा आफूले उक्त नक्कली रकम हात पारेको बयान दिएका छन् । प्रहरी उनले दिएको बयानसम्म मात्र सीमित भएकाले आरोपितले नक्कली नोटको धन्दा गर्ने सञ्जालबारे बयानमा विस्तृत नबताएको ती अपराध अनुसन्धान अधिकारीको भनाइ छ ।


‘भित्री कुरा खुलाउन गहिरो अनुसन्धानतिर गएनन्,’ उनले भने, ‘सुराकीको सूचनाले पक्राउ गर्‍यो । मुद्दा चलायो, सक्कियो । योबाहेक थप अनुसन्धान नै गर्दैनन् ।’ यसैगरीे यो घटनाको पाँच दिनपछि जेठ २१ मा रौतहटको गरुडा प्रहरीले कटहरिया नगरपालिका–५ कटहरिया मुख्य बजारबाटै सोही नगरपालिका–७ वगहीका ६१ वर्षीय जियालाल महतो १ लाख नेपाली नक्कली नोटसहित पक्राउ परे ।


उनीसँगै कटहरिया नगरपालिकाको छिमेकी मौलापुर नगरपालिका–७ पिपरिया गाउँका ४० वर्षीय विहारी साह तेली १ लाख नेपाली नोटसितै सोही ठाउँबाट छुट्टाछुट्टै पक्राउ परे । दुवैले प्रहरीसमक्ष अरू अपरिचित व्यक्तिले नोट थमाएर गएको बयान दिएका छन् ।


तिनीहरूबाटसमेत प्रहरीले अनुसन्धानबाट नक्कली नोटको सञ्जालबारे खासै खुलाउन सकेको छैन । उनीहरूमाथि समेत खोटा चलन मुद्दा चलाइएको छ । प्रहरीले उनीहरूलाई सोमबार सरकारी वकिल कार्यालयमार्फत रौतहट जिल्ला अदालतमा पेस गरेको छ ।


बारा जिल्लामा पक्राउ परेका शिवदयाल र रौतहट जिल्लाको कटहरियामा पक्राउ परेका विहारी रौतहटको मौलापुर नगरपालिकाका हुन् । यसैगरी रौतहट कटहरिया बजारबाट पक्राउ परेका जियालाल मौलापुर नगरपालिकाको छिमेकी कटहरिया नगरपालिका निवासी हुन् ।


यसरी छुट्टाछुट्टै तीनवटा घटनामा प्रहरीले तीन जनालाई नक्कली नोटसहित पक्राउ गर्दा नक्कली नोटको छपाई र यसको सञ्जालबारे गहिरो अनुसन्धान गर्न सकेको छैन् । ‘नक्कली नोटबारे गहिरो अनुसन्धान गर्न खोज्यौं । तर थुप्रै तहबाट यो कारोबार हुने गरेकाले जरोसम्म पुग्न अप्ठयारो भयो,’ बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जितसिंह राठौरले भने, ‘यसबारे प्रहरीको विभिन्न अनुसन्धान टिमबाट थप अनुसन्धान भइरहेको छ ।’


केही समययतादेखि तराईका विभिन्न ठाउँमा नेपाली नक्कली नोट छ्याप्पछ्याप्ती पाइएको छ । केही वर्षअघि भारतीय नक्कली नोटको बजारमा बिगबिगी हुँदा भारत सरकारले नोटबन्दी गरेपछि भारतीय नक्कली नोट बरामदका घटना कम हुन थालेका छन् । तर, नेपाली नोट छुयाप्पछ्याप्ती पाइने गरेका छन् । मेला, हाटबजार र स्थानीय बजारमा नक्कली नोट पाइने गरिएको छ ।

प्रकाशित : असार १७, २०७६ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?