कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

प्रदेशको घाउ 'एचआईभी’

- भारत र खाडी मुलुकबाट फर्किनेमा संक्रमण बढी 
 - रोग लुकाउँदा त्यसको असर पुस्तामा पर्दै 
अजित तिवारी

(जनकपुर) — एचआईभी/एड्स रोगले थलिएका महोत्तरीका ३५ वर्षीय युवक जनकपुर अञ्चल अस्पतालको मेडिकल वार्डमा उपचार गराइरहेका छन् । परिवारसँग रोग लुकाउन नियमित खानु पर्ने औषधि  छोडेपछि उनको स्वास्थ्य गम्भीर बनेको हो ।

प्रदेशको घाउ 'एचआईभी’

परदेशबाटै एचआईभीको घाउ बोकेर फर्किएका उनी काठमाडौंको टेकुस्थित शुक्रराज सरुवा रोग अस्पतालमा केही वर्ष नियमित औषधि सेवन गरे । गाउँ फर्किएपछि परिवारले थाहा पाउने डरले उनले औषधि खान छाडे । ज्वरो र डायरियाले थलिएका उनलाई गत साता उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा भर्ना गरियो । अनि मात्र उनले परदेशबाट ल्याएको एड्सको बारेमा परिवारलाई बताए ।


‘औषधि खान छाडेकाले उनको स्वास्थ्य दिनदिनै बिग्रँदो छ,’ अस्पतालका एचआईभी/एड्स शाखाका प्रवीण यादवले कान्तिपुरसँग भने, ‘हामीले हरसम्भव प्रयास जारी राखेका छौं । तर, स्वास्थ्यमा सुधार हुन सकेको छैन ।’ भारतमै एचआईभी पोजेटिभ देखिएपछि परिवारको एक्लो सहारा उनलाई जागिर छोडेर घर फर्किनुपर्‍यो । एचआईभीले थलिँदा उनको परिवार विक्षिप्त छ । श्रम गर्न भारत र खाडी मुलुक पुग्ने कामदारमा एचआईभी/एड्सको संक्रमण बढी देखिएको छ ।


वैदेशिक रोजगारमा जाने कामदारको संख्या धनुषा नेपालकै पहिलो स्थानमा पर्छ । दोस्रो बढी मजदुर प्रदेश २ बाट वैदेशिक रोजगारमा पुग्छन् । धनुषामा दैनिक ६३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिने तथ्यांक छ । रोजगार र रेमिट्यान्सले घरपरिवार र मुलुकलाई भरथेग गरे पनि त्यससँगै भित्रिएको एचआईभीले समाजलाई झस्काएको छ । स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार प्रदेश २ मा ६ हजार ४ सय २२ जनामा एचआईभीको संक्रमण देखिएको छ । जसमध्ये ३ हजार ६ सय ७९ जना पोजेटिभ छन् । १ हजार ९ सय ११ जना भने नियमित औषधि सेवन गरिरहेका छन् । प्रदेश २ का स्वास्थ्य निर्देशक डा. प्रमोद यादवका अनुसार एचआईभी/एड्स संक्रमितमध्ये धेरैजसो वैदेशिक रोजगारबाट फर्किएका व्यक्ति हुन् ।


‘प्रदेश २ मा एचआईभीको अवस्था डरलाग्दो छ,’ निर्देशक डा. यादवले भने, ‘डोटी, अछामलाई पनि उछिनेको छ । वैदेशिक रोगजारको यो विकृत पाटोमा ध्यान दिनु जरुरी छ ।’ जनकपुर अञ्चल अस्पतालमा ४ सय ५३ जना एचआईभी/एड्स संक्रमितले दिनहुँ औषधि सेवन गरिरहेका छन् । स्वास्थ्य निर्देशनालयका अनुसार वीरगन्जको नारायणी क्षेत्रिय अस्पतालमा १ हजारभन्दा बढी र राजविराजको अस्पतालमा ७ सय जनाले एचआईभी/एड्सको औषधि दैनिक खाइरहेका छन् । जनकपुर अञ्चल अस्पतालका एचआईभी शाखाका यादवका अनुसार २० देखि ३५ वर्षका मानिसमा एचआईभीको संक्रमण बढी देखिएको छ ।


एचआईभी/एड्स निवारणको क्षेत्रमा कार्यरत्त जनकपुरको स्पर्स नेपालका कार्यक्रम प्रबन्धक नवीन मल्लिकले प्रवासी कामदारमा यो रोगको संक्रमण बढिरहेको बताए । भारत वा अन्य मुलुकमा काम गर्न ६ महिना बढी बसेका कामदारमा एचआईभी/एड्सको संक्रमण बढेको हो । मल्लिकका अनुसार भारतको मुम्बई, पञ्जाब, औरंगाबाद, असाम र पश्चिम बंगालबाट फर्किएका नेपाली कामदारमा एचआईभी/एड्सको संक्रमण उच्च छ । ‘पढदै नपढेका र कम लेखपढ गरेका मजदुरमा एचआईभीको संक्रमण बढी पाइएको छ,’ स्पर्स नेपालका कार्यक्रम प्रबन्धक मल्लिकले भने, ‘त्यस्ता व्यक्तिले नियमित औषधि सेवन नगर्ने र उपचारमा हेल्चक्र्याइँ गर्दा स्थिति झन् भयावह बनेको छ ।’


परिवारमै सार्दै

भारत र खाडी मुलुकबाट एचआईभी/एड्स बोकेर फर्किने कामदारले श्रीमती र बच्चामा पनि रोगको संक्रमण सार्न थालेका छन् । घरपरिवारसँग रोग लुकाउँदा त्यसको असर पुस्तामा पनि परिरहेको छ । परिवारले थाहा पाउने डरले महोत्तरीका ३५ वर्षीय ती युवाले औषधि सेवन छोडेर आफ्नो स्वास्थ्यलाई हानि त पुर्‍याए, रोग सारे कि भन्ने आशंकामा जनकपुर अञ्चल अस्पतालको एचआईभी शाखाले उनको श्रीमतीको पनि स्वास्थ्य परीक्षण गरेका छन् ।

प्रदेश २ को स्वास्थ्य निर्देशनालयका अनुसार १ सय ५८ बालबालिका एचआईभी/एड्सको संक्रमित छन् । ‘महिला र बालबालिकामा पनि एचआईभीको संक्रमण बढदो छ,’ निर्देशनालयका कर्मचारी राजेश ठाकुरले भने, ‘प्रवासमा बस्दा एचआईभी संक्रमित भएकाले घर फर्किंदा श्रीमती र बच्चामा रोग सारेको घटना बढी छन् ।’ ठाकुरका अनुसार लोकलाज र परिवारले थाहा पाउने डरले रोग लुकाउँदा त्यसको असर परिवारको अन्य सदस्यले भोगिरहेका छन् । स्पर्स नेपालले एचआईभी संक्रमित खोज्न २३ जना स्वास्थ्यकर्मी धनुषामा खटाएका छन् ।


प्रकाशित : असार १८, २०७६ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?