कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

नेकपा जिल्ला समिति चयनमा विवाद

भरत जर्घामगर

(सिरहा) — नेकपा प्रदेश २ कार्यालयले चयन गरेको जिल्ला सदस्यको नामावली सार्वजनिक भएसँगै सिरहामा विवाद चुलिएको छ । असन्तुष्टि जनाउँदै साविक माओवादी केन्द्र पक्षधर सिरहाका असन्तुष्ट केन्द्रीय सदस्य, प्रदेश सभा सदस्यले पत्रकार सम्मेलन गरी सच्याउन माग गरेका छन् ।  

नेकपा जिल्ला समिति चयनमा विवाद

उनीहरूले सिरहाको मिर्चैयामा मंगलबार पत्रकार सम्मेलन गरी प्रदेश नेतृत्वले पदीय शक्तिलाई दुरुपयोग गरी स्वेच्छाचारी ढंगले जनयुद्धकालीन कार्यकर्तालाई पाखा लगाई आफ्ना नातागोता, आसेपासे र पार्टीको आन्तरिक गतिविधिमा क्रियाशील नरहेकालाई जिल्ला कमिटि सदस्य चयन गरेको आरोप लगाए । उनीहरूले प्रदेश समितिले जबरजस्ती निर्णय कार्यान्वयन गर्न खोजे त्यसको प्रतिबाद र प्रतिरोध गर्न बाध्य हुने चेतावनी दिए ।


साविक माओवादी केन्द्र र एमालेबीच पार्टी एकीकरण भएपछि बनेको नेकपा प्रदेश २ कार्यालयले सिरहा जिल्ला समितिका लागि एमालेबाट ८२ र माओवादी केन्द्रबाट ८१ गरी १ सय ६३ जना सदस्यको नामावली गत असार ११ मा सार्वजनिक गरिएको थियो । जिल्ला पदाधिकारी एवं केन्द्रीय सदस्यको परामर्शका आधारमा असार ९ मा बसेको प्रदेश कार्यालयको बैठकले जिल्ला सदस्यको नामावली चयन गरेको उल्लेख छ । सार्वजनिक जिल्ला सदस्यको नामावलीप्रति असन्तुष्टि जनाउँदै केन्द्रीय सदस्य महेन्द्र पासवान, केन्द्रिय सदस्य एवं प्रदेशसभा सदस्य जगत प्रसाद यादव, पार्टीको प्रदेश समिति सदस्य फुलगेन नायक, मिरचैया नगरपालिकाका प्रमुख श्रवण यादवलगायत ५३ जनाद्वारा हस्ताक्षरित विज्ञप्ति मंगलबार जारी गरेका छन् । यसमा विगतमा भएका छलफलको निष्कर्ष, केन्द्रिय सदस्यको परामर्श, सहमति र सुझावलाई बेवास्ता गरी माओवादी केन्द्रबाट प्रतिनिधित्व गरिरहेका प्रदेश पदाधिकारीले सर्वसहमतिबाट टुंगो लागेका नामहरू अन्तिम क्षणमा हटाएर स्वेच्छाचारी ढंगले पदीय शक्तिलाई दुरुपयोग गरिएको उल्लेख छ ।


पत्रकार सम्मेलनमा नेकपा केन्द्रीय सदस्यद्वय महेन्द्र पासवान र प्रदेशसभा सदस्यसमेत रहेका जगतप्रसाद यादवले प्रदेश पदाधीकारीले पदीय दुरुपयोग गरी नातागोता र आसेपासेलाई सदस्य चयन गरेकाले यसबाट पार्टी क्रान्तिकारी बन्न नसक्ने, बरु विघटनतर्फ लैजान्छ भन्दै निर्णय अविलम्व सच्याएर सहमतिको आधारमा जिल्ला सदस्यको छनौट गर्न माग गरे । ‘हामीले पार्टीको विरुद्धमा पत्रकार सम्मेलन गरेका होइनौं,’ केन्द्रीय सदस्यद्वय पासवान र यादवले भने, ‘पदीय दुरुपयोग गलत ढंगले गरेकाले त्यसको विरोध गरेका हौं, जनयुद्ध लडेका साथीलाई पाखा लगाउने काम गरिएको छ ।’


नेकपा प्रदेश २ कार्यालयका सहइन्चार्ज विश्वनाथ साहले गत जेठ १८ मा बर्दिबासमा पार्टीको विस्तारित बैठकको निर्णय र सम्बन्धित जिल्ला पदाधिकारी एवं केन्द्रिय सदस्यको परामर्शका आधारमा जिल्ला सदस्य चयन गरिएको र जिल्ला समितिको सीमित संख्या तर नाम धेरैको आएको कारण केही नाम छुट्न गएको बताए । उनले जनयुद्धकालीन साथीलाई पाखा लगाउने काम नभएको र नातागोता, आसेपासे राखेको आरोप पूर्वाग्राही, गलत, काल्पनिक भएको दाबी गरे ।


प्रकाशित : असार १८, २०७६ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?