२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

जग्गा विवादले विद्यालय तनावग्रस्त

शाहीमान राई

(जनकपुर) — वर्षौंदेखि विद्यालयले खेलमैदानका रूपमा भोगचलन गर्दै आएको जमिन जग्गाधनीले आफै उपभोग गर्ने भन्दै सीमास्तम्भ गाडेपछि विवाद चुलिएको छ । विद्यालय सञ्चालक समिति र जग्गाधनीबीच विवादले चुलिएको हो ।

धनुषाधाम नगरपालिका–९ धारापानीको मूलाबारी भिमानस्थित श्री माविले खेलमैदानको रूपमा उपभोग गर्दै आएको जमिन जग्गाधनी आफैले उपभोग गर्ने भन्दै नापी कार्यालयका सर्वेक्षकद्वारा नापजाँच गरी सीमास्तम्भ गाडेपछि विवादले भएको हो । धनुषाको बटेश्वर–३ की पशुपतिकुमारी लामाले नापी कार्यालयबाट खटिएका सर्वेक्षकद्वारा नापजाँच गरी सीमांकन गरेर सीमास्तम्भ गाडेपछि विद्यालय मैदान तनावग्रस्त बनेको छ । विद्यालयले दानमा पाएको भन्दै लामाको नाममा रहेको जग्गामा स्वामित्व दाबी गरेको छ ।


लामाले आफ्नो नाममा रहेको कित्ता नं ५८८ को ३ धुर, ५८९ को २ धुर, ५९० को २ धुर र ५९२ को ७ कठ्ठा २ धुर गरी सात कठ्ठा २ धुर जमिन उपभोग गर्ने अधिकार आफूहरूको भएकाले विद्यालयले सहज रूपमा छाड्नुपर्ने भन्दै जिल्ला प्रशासन, मालपोत र नापी कार्यालयमा निवेदन दिएकी छन् । प्रशासनले सुरक्षाको व्यवस्था गरी नापीलाई सर्वेक्षक खटाई नापजाँच गराउन निर्देशन दिएअनुसार शनिबार सर्वेक्षक राजेन्द्रप्रसाद साह र धिरेन्द्र ठाकुरसहितको टोलीले नापजाँच गरी सिमाना छुट्याइदिएका थिए । सर्वेक्षकले देखाइदिएको सिमानामा गाडिएको सीमास्तम्भ स्थानीयवासीले केहीबेरमा उखेलिदिएका थिए ।


विद्यालय मैदान जग्गाधनीले उपभोग गर्ने भएपछि आइतबार विद्यार्थीले विरोधमा प्रदर्शन गरे । विद्यालय व्यावस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण मण्डलले आफूलाई जानकारी नै नगराई प्रहरी प्रशासनको आडमा विद्यालयको खेलमैदान नापजाँच गरेको बताए । तर, नापी कार्यालय विद्यालय, वडा कार्यालय र धनुषाधाम नगरपालिका लगायत साँधसधियारलाई पत्र पठाएको नापी कार्यालय प्रमुख शत्रुघ्न यादवले जनाए । जिल्ला प्रशासनले समेत संविधानमा व्यक्तिको सम्पत्ति सुरक्षाको प्रत्याभूति दिएकाले नगरपालिकालाई आवश्यक समन्वय गरी जग्गाको खिचलो समाधान गर्न पटक पटक पत्राचार गरेको थियो । ०२० मा स्थापित विद्यालयले ०३३ मा दान स्वरूप पाएको जमिन नछाड्ने विद्यालय व्यावस्थापन समितिका अध्यक्ष मण्डलले बताए । उनले सोमबार प्रशासन , नापी कार्यालयको ध्यानाकर्षण गराएको जनाए । तर प्रशासनले जग्गा खिचलो मिलाउने काम स्थानीय तहका जनप्रतिनिधिको भएकाले स्थानीय तहमै जान सुझाव दिएको मण्डलले बताए । उनले उक्त जग्गा लामाकै मावली हजुरबुबा करनबहादुर स्याग्बोले दान स्वरुप प्रदान गरेको भर्पाइ सुरक्षित रहेको बताए । मण्डलका अनुसार करनबहादुरले ०३३ कात्तिक १३ मा भर्पाइ गरी कित्ता नं ६० को जमिन दानस्वरूप प्रदान गरेको कागज विद्यालयसित सुरक्षित छ ।


उक्त भर्पाइ कागजमा तत्कालीन सञ्चालक समितिको तर्फबाट साक्षीका रूपमा छे दोर्जे लामा र विषबहादुर कार्कीको औंठाछाप छ । तर, करनबहादुर आफ्नो हजुरबुबा नभएको र जग्गा दान गरेको समेत थाहा नभएको जग्गाधनि लामाले बताइन् । उक्त जग्गा दान प्राप्त गरेको दाबी गरे पनि विद्यालयसित लालपुर्जा छैन । विद्यालय व्यावस्थापन समितिका अध्यक्ष मण्डलले विद्यालयसित लालपुर्जा नहुनु कमजोरी रहेको बताए । पूर्वपश्चिम राजमार्गमा पर्ने तत्कालीन यज्ञभूमी–९ का कर्णवीर स्याङ्बोले भोगचलन गर्दै आएको कित्ता नं ५८ मा १३ कठ्ठा ८ धुर, कित्ता नं ५९ मा एक विघा २ कठठा १२ धुर जमिन ०२३ को नापीमा आफ्नो नाममा नापजाँच गराएका थिए । त्यसमध्येबाट छोरी स्यामकुमारीलाई कित्ता नं ५८८, ५८९, ५९० र ५९२ पास गरिदिएका थिए । उक्त जग्गा स्यामकुमारीले समेत छोरी पशुपतिकुमारीको नाममा रजिस्ट्रेसन पास गरिदिएकी छन् । जग्गाको लालपुर्जा लामासित रहेको र मालपोत रकम समेत बर्षेनी तिर्दै आएकाले आफ्नो जग्गा विद्यालयले अतिक्रमण गरी संरचना निर्माण गरेको बताइन् । जग्गामा विद्यालयको खेलमैदान, दुई वटा शौचलाय, भान्छा घर र भण्डार कोठा छ । विद्यालयले ४५ बर्षदेखि उपभोग गर्दै आएकाले कुनै हालतमा पनि नछाड्ने विद्यालयका प्रधानाध्यापक प्रदीप सिंहले बताए ।


प्रकाशित : असार १८, २०७६ ११:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?