भारतीय प्रहरीबाट नेपाली युवा कुटिए

ओमप्रकाश ठाकुर

(सर्लाही) — भारतीय प्रहरी एस एसबीले एक नेपाली युवालाई निर्घात कुटपिट गरेका छन् । कुटपिटबाट युवा घाइते छन् । झण्डै २४ घण्टा युवालाई नियन्त्रणमा राखेको भारतीय प्रहरीले स्थानीयको दबाबपछि छोडेका थिए । 

गाउँकै एक चेलीको भारतमा बिहे भएकोमा दाइजोका लागि तनाव दिँदा समस्या समाधान गर्न भारतको कन्हौलीमा पुगेका पर्सा गाउँपालिका–५ का भगवान् मिश्रलाई भारतीय प्रहरीले कुटेका हुन् । गाउँका मुखियासँगको सहमतिपछि दाइजो विवाद मिलाएर घर फर्कंदै गरेका मिश्रलाई भारतको सोनवर्षास्थित एस एसबीका बडाबाबुले कुटेको मिश्रको भनाई छ ।


विश्व हिन्दु परिषदको जिल्ला संगठन प्रमुख समेत रहेका मिश्रलाई दाइजो विवाद मिलाउन महिलाका पिताले भारत लगेका थिए । ‘गाउँकै एक चेलीको भारतमा बिहे भएको थियो, दाइजोका कारण घरका परिवारले तनाव दिएपछि माइत पक्षको अनुरोधमा म विवाद मिलाउन पुगेको थिएँ,’ मिश्रले भने, ‘विवाद मिलाउन अलि ढिलो भएपछि घर फर्कंदै गर्दा एस एसबीका बडाबाबुले निर्घात कुटपिट गरे, झण्डै एक दिन नियन्त्रणमा नै राखे ।’


शनिबार राति अबेर घर फर्कंदै गरेका मिश्रलाई राति किन हिंडेको भन्दै भारतीय प्रहरीले नियन्त्रणमा लिएर कुटेका थिए । यता मिश्रले भने गाई तस्करको साँठगाँठमा भारतीय प्रहरीले नियन्त्रणमा लिएर कुटेको आरोप लगाए । ‘जिल्लाको पूर्वी नाका भएर हुने गाई तस्करीमा मैले अवरोध गर्दै आएको थिएँ, तस्करले भारततिर लाने गाई नियन्त्रणमा लिएर भन्सार बुझाउँदै आएको थिएँ,’ उनले भने, ‘पछिल्लो समय तस्करको तारो बनेको थिएँ, तर उनीहरूले नसकेर भारतीय प्रहरीलाई कुट्न लगाएका हुन् ।’ नियन्त्रणमा लिने क्रममा भारततिर आउने गाईलाई मैले रोकेको छैन भने तँ रोक्ने को हो भन्दै कुटेको मिश्रको आरोप छ ।


मिश्रलाई आइतबार राति मात्र स्थानीयको दबाबपछि भारतीय प्रहरीले छोडेको थियो । पक्राउ परेका बेला साथमा रहेको एक थान मोबाइल र १० हजार नगद लिएर राखेका भारतीय प्रहरीले छोड्ने बेलामा मोबाइल मात्र फर्काएको तर नगद दिन नमानेको मिश्रले बताए । उनले भारतीय प्रहरीबाट कुटिने र लुटिने दुवै काम भएको बताए । दुई देशबीच रोटी बेटीको सम्बन्ध भएकाले नेपाल भारत नाका खुला छ । खुला नाकाकै कारण नेपालीहरू सीमा पारी पुग्ने गरेका छन् ।


नेपालीहरू सीमा नजिकको बजार अथवा आफन्तकोमा पुगेका बेला भारतीय प्रहरीको गालीगलौज र कुटपीट कुनै नौलो कुरा होइन । सीममा बारम्बार यस्ता घटना दोहोरिदै आएको छ । भारतीय बजारबाट दैनिक प्रयोग हुने सामान होस् वा आफन्तको बाट ल्याउने सामान भारतीय प्रहरीले चेकजाँचको नाममा गालीगलौज गर्ने र कुटपिट गर्ने गरेको स्थानीयको भनाइ छ ।

प्रकाशित : असार २१, २०७६ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?