३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

ठेकेदारविरुद्ध सडक अवरुद्ध

रवीन्द्र उप्रेती

(महोत्तरी) — निर्धारित समयमा सडक नबनाएको भन्दै स्थानीयबासीले जलेश्वर–जनकपुर सडकमा प्रदर्शन गरेका छन् । ठेकेदारविरुद्ध नाराबाजी गर्दै निस्केका स्थानीयबासीले जलेश्वरको जिरो माइलमा ढाट तेर्स्याएर तीन घण्टा सडक अवरुद्ध पारे । 

ठेकेदारविरुद्ध सडक अवरुद्ध

प्रचण्ड गर्मीमा सडकमा धर्ना बसेका स्थानीयबासीले माग सुनुवाई नभए दैनिक एक घण्टा प्रदर्शन गर्ने जनाएका छन् । यातायात अवरोधले गन्तव्यमा जान नपाउँदा यात्रु बिचल्लीमा परे । अत्यधिक गर्मीमा महिला यात्रु तथा तीनका नाबालक थप विजोगमा देखिन्थे । तीन घण्टासम्म सडक अवरुद्ध हुँदा यात्रु झोला पोका पन्तुरा बोकेर पैदल हिँडन बाध्य थिए । आन्दोलनको नेतृत्व गरेका जलेश्वर २ का वडाध्यक्ष वरुण दाहालले बहुचर्चित जलेश्वर जनकपुर सडक र नगर सडक निर्माण कार्यले अपेक्षित गति लिन नसकेको बताए । निर्माण पूरा नभए वर्षा लागेपछि सडक हिलाम्मे भई आवगमन अवरुद्ध हुने भएकाले ठेकेदारलाई दबाब दिन बाध्य भएर आन्दोलनमा उत्रनु परेको दाहालको भनाई छ ।


प्रशासन कार्यालयमा छलफल गर्दा ठेकेदारले जिरो माइलदेखि खयरा चोकसम्म एक लेन सडक जेठभित्र तयार गर्ने प्रतिबद्धता जनाए । ‘तर असार बित्न लाग्दा माटोको कामसमेत नसकिएपछि जनताले आन्दोलन नगरे के गर्ने ?’ वडाध्यक्ष दहालले प्रश्न गरे । ०७३ भदौमा ठेक्का सम्झौता भई ०७६ भदौसम्म काम सम्पन्न भइसक्नुपर्ने जनकपुर जलेश्वर भिट्ठामोड सडक ठेकेदारको लापरबाहीले असार बित्न लाग्दा माटोको कामसमेत सकिएको छैन । महोत्तरी–धनुषा र भारतको सीमा बजार भिट्ठामोड जोड्ने यो सडकको लम्बाई १८ किलोमिटर छ । दुईवटा ठेकेदार कम्पनीले निर्माण गर्दै आएको सडक सम्झौताअनुसार प्रगति हुन नसक्दा बेला–बेला जनता सडकमा ओर्लन बाध्य छन् ।


ठेकेदारको लापरबाही प्रशासनका लागि समेत टाउको दुखाई बनेको छ । आवागमनमा समस्या भएपछि जनता समस्या बोकेर प्रशासन धाउने गरेका छन् । तर, प्रशासनको हातमा कारबाही गर्ने अधिकार नहुँदा सम्झाएर मात्र नपुगेको बताउँछन् । प्रशासनले दिएको सुझाव ठेकेदारले बेवासता गरेको बताउँछन् । ‘आफूले पाएको जिम्मेवारी ठेकेदार र हुलाकी सडक आयोजनाले बुझनु पर्ने हो,’ प्रमुख जिल्ला अधिकारी उमेश ढकालले भने, ‘जनता गुनासो पोख्न आएपछि हामीले ठेकेदारलाई बोलाएर सम्झाउने गरेका छौं ।’


सडकको नियमन गर्ने जनकपुरस्थित हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरका अनुसार चार लेनमा स्तरोन्नति भइरहेको यो सडकको पिपरा, सहोडवा र विन्धिमा भने सर्विस लेन थप गरिएको छ । जनकपुरदेखि महोत्तरीको विग्ही पुलसम्म पहिलो खण्डको ९ किमि ४३ करोड ५४ लाखमा प्रतिभा वाईपी जेभीले ठेक्का लिएको छ । त्यसदेखि दक्षिण जलेश्वर हुँदै भारतीय सीमासम्म पर्ने दोस्रो खण्डमा आशिष पप्पु रोशन जेभीले साढे ९ किमि ४९ करोड ८९ लाखमा पाएको छ । अहिलेसम्म काम अन्तिम चरणमा पुग्नु पर्ने हो तर प्रगति ७० प्रतिशत पनि नपुगकोले स्थानीयमा आक्रोस बढेको छ ।

प्रकाशित : असार २१, २०७६ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?