कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

वीरगन्जको मुख्य सडक विस्तार सुरु

शंकर आचार्य

पर्सा — सडक डिभिजन कार्यालय हेटौंडाबाट खटिएका कर्मचारीले आइतबारदेखि वीरगन्ज महानगरको मुख्य सडकको दायाँबायाँ चिह्न लगाउन सुरु गरेका छन् । कार्यालयले आफ्नो कार्यक्षेत्र अन्तर्गतका दुई राजमार्गको दायाँबायाँ सडक २५/२५ मिटर बिस्तार गर्ने १५ दिने सूचना यसअघि प्रकाशित गरेको थियो । त्यस अनुरुप वीरगन्जमा पर्ने त्रिभुवन राजपथको गण्डकदेखि वीरगन्ज भन्सार सम्मको राजमार्गको दुवैतर्फ चिह्न लगाउन सुरु गरिएको हो ।

वीरगन्जको मुख्य सडक विस्तार सुरु

कार्यालय प्रमुख सुमन योगेशका अनुसार कार्यालयबाट खटिएका कर्मचारीलाई गण्डकदेखि भन्सारसम्म करिब ६ किमि राजमार्गको दायाँबायाँ चिह्न लगाउन करिब ५ दिन लाग्नेछ । त्यसपछि चिह्नभित्र पर्ने भौतिक संरचना डोजर लगाएर हटाउन सुरु गरिनेछ ।


सडक विस्तारका लागि वीरगन्ज महानगरपालिकाको कार्यालयलाई पत्राचार गर्नु आवश्यक नरहेको उनले बताए । ‘सडक विस्तारको क्रममा आवश्यक शान्ति सुरक्षाका लागि स्थानीय प्रशासनलाई अनुरोध गर्ने हो,’ उनले भने, ‘यस काममा महानगरपालिकाको कार्यालयको सहकार्य वा अनुमति चाहिँदैन ।’


उनले राजमार्ग दुवैतर्फ २५ मिटर विस्तार गर्ने पुरानै निर्णय कार्यान्वयन गरिने बताए । कार्यालयले १५ दिनअघि आफ्नो कार्यक्षेत्र अन्तर्गतको महेन्द्र राजमार्गको धन्सार पुल (बारा) देखि लोथर पुल (मकवानपुर) सम्म तथा त्रिभुवन राजपथको वीरगन्ज भन्सारदेखि मकवानपुरको दामे चौरसम्म राजमार्ग छेउको २५/२५ मिटर अतिक्रमण हटाउन आह्वान गरेको थियो ।


वीरगन्ज महानगरपालिकाको नगरसभाले गत वर्ष महानगरको मुख्य सडक १५/१५ मिटर बिस्तारका लागि नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको थियो । वीरगन्ज महानगरका मेयर विजयकुमार सरावगीले यसअघि नै कुनै पनि हालतमा सडक विभागको सूचना र आदेश कार्यान्वयन नगरिने बताइसकेका छन् । उनले मुआब्जा बिना एक इन्च पनि सडक विस्तार हुन नदिने कान्तिपुरलाई बताएका थिए ।


कांग्रेस पर्साले पनि महानगरको मुख्य बजार क्षेत्रमा सडक विस्तारको योजना स्वीकार्य नहुने र आवश्यक परे बजारका घर तथा जग्गा धनीहरूसँग मिलेर संघर्ष गर्न तयार रहेको घोषणा गरिसकेको छ । उता नेकपाका जिल्ला अध्यक्ष प्रभु हजराले महानगरको मुख्य सडक २५ मिटर विस्तारको कुनै विकल्प नरहेको बताए । उनले वीरगन्जको मुख्य सडक बिस्तार नहुदा सडक अत्यन्त साघुरो भई दैनिक बिहान देखि बेलुकासम्म जाम लाग्ने भई आवतजावतनै प्रभावित हुने भएकाले कुनै पनि हालतमा सडक बिस्तार गरिनु पर्ने बताए ।


मुख्य सडक बाहेकका अन्य महानगरबासी मध्ये अधिकांश सडक विस्तारको पक्षमा रहँदै आएका छन् । मुलुककै जेठो राजमार्ग त्रिभुवन राजपथको बिस्तार नहुँदा महानगरबासीले दैनिक जसो जामको समस्या भोग्दै आएकाले सडक विस्तार आवश्यक रहेको अधिकांशको तर्क छ ।


त्रिभुवन राजपथ पथलैया, सिमरा, जितपुर, परवानीपुर हुँदै गण्डक, पावरहाउस चोक भएर महानगरभित्र प्रवेश गर्छ । हाल महानगरको मुख्य सडकका रूपमा प्रयोग हुँदै आएको यो राजपथ घण्टाघर, माइस्थान चोक, आदर्शनगर चोक, अलखिया चोक, छपकैंया हुँदै रक्सौल सीमामा पुगेर अन्त्य भएको छ ।


पावरहाउस चोकदेखि घण्टाघरसम्म त्रिभुवन राजपथको समानान्तर पश्चिमतर्फ महानगरपालिकाको कार्यालय अर्को २ लेन सडक निर्माण गरेको छ । तर घण्टाघरदेखि दक्षिणतर्फ त्रिभुवन राजपथ भने अझै पनि २ लेनमै सीमित छ ।


वीरगन्ज पथलैया व्यापारिक मार्ग तथा परवानीपुर गण्डक सडक निर्माणको क्रममा सडक विभागले राजमार्गको दायाँ बायाँ २५/२५ मिटर सडक बिस्तार गरिसकेको छ । हाल त्यस सडक खण्डमा क्रमशः ६ तथा ४ लेन सडक निर्माणाधीन छन् । ५ वर्षअघि सडक विस्तारको चर्चा चलेसँगै घरधनीहरूले सडक बिस्तार कार्यलाई रोक्न संघर्ष समिति गठन गरेर संघर्ष समेत गरेका थिए ।

प्रकाशित : असार २३, २०७६ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?