२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

जबर्जस्ती मोही

भूमाफियाको चलखेल
ओमप्रकाश ठाकुर

सर्लाही — समान्यतया घर भएको जग्गामा मोही कायम हुँदैन । मोही भएको जग्गामा बैंकले ऋण पनि दिँदैन । तर, हरिवन नगरपालिका–११ कि तारा कुमारी देवीको नाममा रहेको जग्गामा वर्षौंअघि बनेको घर छ । एक वर्षअघि उनले बैंकबाट ऋणसमेत लिएको जग्गामा मोही किन कायम नगर्ने भनी उच्च अदालत जकपुरबाट जवाफ माग्दै उत्प्रेषण आदेश आएको छ ।

वर्षौंदेखि घर बनाएर बस्दै आएको हरिवनको १ कट्ठा ३ धुर जग्गामा मोहीका लागि अदालतबाट पत्र आएपछि उनी तनावमा छिन् ।


तारा देवीले जग्गा खरिद गर्दा मोही नरहेको जग्गामा मोही कसरी कायम भयो भनेर बुझै जाँदा माओवादी द्वन्द्वकालमा मालपोत तथा भूमिसुधार कार्यालयका सम्पूर्ण कागजात जलेपछि भूमाफियाले यसको फाइदा उठाउँदै मोही कायमको प्रयासमा जुटेका रहेछन् । २०६२ साल चैत २३ गते माओवादी आक्रमणमा मालपोत तथा भूमिसुधार कार्यालयका कागजात जलेका थिए । त्यसयता भूमाफियाहरू फिल्डबुकको प्रमाणका आधारमा सलबलाउन थालेका छन् । वर्षौं अघिदेखि घर बनाएर बसेको जग्गामा मोही कायमका लागि ८ महिना अघि अदालतमा मुद्दा परेपछि तारा देवीको परिवारमा तनाव बढेको हो ।


२०५३ सालमा तारा देवीले जमरुल हकसँग प्लटिङ गरेको जग्गा खरिद गरी घर बनाएकी थिइन् । भूमाफियाले सोही जग्गामा मोहीका लागि मुद्दा दर्ता गराई मालपोत तथा भूमिसुधार कार्यालयमा कुत बुझाएका छन् । ‘हामीले जग्गा खरिद गर्दा मोही थिएन, जग्गामा घर पनि बनाएर बसेका छौं, यही जग्गा नविल बैंकमा धितो राखेर कर्जा समेत लिएका छौं,’ उनले भनिन्, ‘यस्तो जग्गाको मालपोत तथा भुमिसुधार कार्यालयले कुत बुझेर भूमाफियाकै साथ दिइरहेको छ ।’


हरिवनको होलायत मियाँको नाममा रहेको १ बिघा जग्गामा २०३१ सालअघि स्थानीय बीजबहादुर गोलेको नाममा मोही कायम थियो । तर मियाँले २०३१ सालमा मोही कट्टा गराई ०३८ सालमा जमरुल हकलाई जग्गा बेचेका थिए । दुई दशकअघि जमरुलसँग जग्गा खरिद गर्ने तारा देवी जस्तै २१ जना चिन्तामा डुबेका छन् । सरकारी कार्यालयमा भएको कागजात जलेको र जग्गाको कारोबार र मूल्य बढेपछि भूमाफियाले आँखा लगाएर मोही कायम गराउने प्रयासमा लागेको जग्गाधनीहरू बताउँछन् । स्थानीय सवरा खातुनले भनिन्, ‘भूमाफियाका कारण हामी चिन्तामा डुबेका छौं ।’


मालपोत तथा भूमिसुधार कार्यालयको खातामा कुत बुझाएको रकम झन्डै २ करोडभन्दा बढी रहेको कार्यालयले जनाएको छ । मोही दाबी गर्नेको कुत कार्यालयमा नबुझे बैंक खातामा पनि सिधै जम्मा गर्ने प्रवधान रहेकाले कुत बुझैमा मोही कायम नहुने कार्यालय प्रमुख गोपालप्रसाद बरालले बताए । ‘कार्यालयको कागजात जलेकाले यस्तो समस्या प्रत्येक दिन आइरहेको छ,’ उनले भने, ‘हामीले कुत बुझैमा मोही कायम हुने होइन ।’

प्रकाशित : असार २३, २०७६ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?