१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

डेंगूका लार्भा मारिँदै

शिव पुरी

रौतहट — चन्द्रपुर नगरपालिकाको स्वास्थ्य शाखाले डेंगु रोग नियन्त्रण गर्न लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्न थालेको छ । त्यसका लागि गाउँ/गाउँमा स्वयम् सेविकाहरू परिचालन गरिएको छ । रोग सर्न नदिन नगरपालिकाले घरदैलो अभियान थालेको हो ।

डेंगूका लार्भा मारिँदै

नगरक्षेत्रमा डेंगु जोखिम पहिचान गरी डेंगु सार्ने एडिस एजेप्टाई नामको लामखुट्टेका लार्भा नष्ट गर्न थालिएको हो । नगरपालिकाको १ देखि ६ नम्बर वडामा ३४ जना स्वयम् सेविका परिचालन गरी लार्भा नष्ट गर्न थालिएको स्वास्थ्य शाखा प्रमुख अभय ठाकुले बताए । स्थानीयको घर पशलमा जमेको पानीमा लार्भा भेट्टिए भने त्यसलाई नष्ट गर्छौं,’ प्रमुख ठाकुरले भने, ‘डेंगुको जोखिम कम गर्न लार्भा नष्ट गर्न लागिएको हो । घर पशलमा राखिको टायर, भाँडामा जमेको पानीमा लामखुट्टेको लार्भा फेला पर्न सक्छ ।’


स्वयंसेविकाहरूले घर/घरमा गएर डेंगु रोग, यसको सर्ने तरिका, सावधानी अपनाउन, लामखुट्टेका लार्भा भए नभएको हेर्न र फेला परे घरधनीलाई नष्ट गर्न लगाउने छन् । संक्रमण हुने सिजन असोज र कात्तिक हो । समयमा सतर्कता अपनाउन अहिलेदेखि लार्भा नष्टको सुरुवात गरेको ठाकुरले सुनाए । स्वास्थ्य मन्त्रालयले यस वर्ष तराईमा समेत डेंगु रोग नियन्त्रणको कार्यक्रम ल्याएको थियो ।


वर्षा सकिएपछि विभिन्न स्थानमा पानीको अवस्था स्थायी रहने र लामखुट्टेले त्यस्तै पानीमा फुल पारी मानिसमा डेंगु सार्ने सम्भावना बढी हुन्छ । प्रत्येक वर्षको असोज र कात्तिकमा यस्तो संक्रमणको खतरा बढेको पाइएको छ । टायर, प्लास्टिक, कन्टेनर, ड्रममा साता दिनसम्म पानी जम्मा भयो भने त्यसैमा बासस्थान बनाएर लामखुट्टेले फुल पार्छ ।


सुख्खा समयमा पानी पर्दा फुलभित्र डेंगु भाइरस हुने र पछि त्यही लामखुट्टे बनेर टोक्दा रोग लाग्छ । लामखुट्टे २० देखि ३० डिग्रि सेल्सियस तापक्रममा बढी सक्रिय हुन्छ । वर्षा हुँदा तापक्रममा परिवर्तन हुने भएकाले लामखुट्टेको टोकाई बढ्छ । एउटा लामखुट्टेले ५ जना सम्मलाई रोग सार्छ । डेंगुको विषाणु भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्ने चिकित्सक बताउँछन् ।


यो ग्रामीणभन्दा सहरी क्षेत्रमा बढी पाइन्छ । यसबाट बच्न सुत्दा झुल टांग्ने, घर छेउका पानी जम्ने खाल्डाखुल्डी पुर्ने, झ्याल ढोकामा जाली लगाउने, लामा बाहुला भएको लुगा लगाउनु पर्ने चन्द्रपुर अस्पतालका चिकित्सक सुभाष चौधरीले सुझाव दिए । ‘समयमा सावधानी अपनाइएन भने रोगको चपेटामा परिन्छ,’ उनले भने, ‘डेंगुबाट बच्ने भनेको घर वरपर पानी जम्न नदिनु हो ।’


नगरपालिकाले अभियान सुरु गर्नुअघि सरोकारलाई बोलाएर डेंगुबारे जानकारी दिएको थियो । त्यसै क्रममा स्थानीय स्वयम् सेविकालाई बोलाएर लामखुट्टे, यसको बासस्थान र लार्भाका बारे जानकारी गराइएको थियो । उनीहरू प्रत्येक घरमा गई घरभनीलाई यसबारे जानकारी गराउँथे । घर वरपर पानी जमेको छ/छैन हेर्थे । प्रत्येक वडामा ४/४ दिनका दरले स्वयम् सेविकाहरूलाई खटाइएको प्रमुख ठाकुरले जनाए ।

प्रकाशित : असार २४, २०७६ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?