कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

बल्ल गाउँमा बिजुली

ओमप्रकाश ठाकुर

सर्लाही — जिल्लाको सबैभन्दा पिछडिएको नगरपालिका लालबन्दी, त्यसमा पनि नारायणखोलामा शनिबार बिजुली पर्‍याइयो । स्थानीय रोशन दोङलाई बत्ती आएपछि औधी खसी भए । दुर्गम भएकै कारण बिजुली नपुगेको यो क्षेत्रमा स्थानीय टुकीको भरमा रात काट्दै आएका थिए । 

सडक सञ्जालमा समेत नजोडिएको जिल्लाको एक मात्र साविकको नारायणखोला गाविसमा लालबन्दी नगरपालिका र नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्रको पहलमा बिजुली पुर्‍याइएको हो ।


हाल लालबन्दी नगरपालिका–१४ मा पर्ने सिन्धुली जिल्लासँग सीमा जोडिएको चुरेभेगको नारायणखोलामा बिजुली पुगेपछि त्यहाँका ४ सयभन्दा बढी घरधुरी लाभान्वित हुने नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्रले जनाएको छ ।


मुलुकमा लोडसेडिङ अन्त्य भइसक्दा पनि नारायणखोलाका स्थानीय टुकी बत्ती र सोलारको भरमा बस्दै आएका थिए । गाउँमा बिजुली नहुँदा विद्युतीय उपकरण चलाउन समस्या भइरहेको बेलामा बिजुली आएपछि दैनिकी सहज हुने दोङको भनाइ छ । ‘टुकी र सोलार बालेर जसोतसो रात काट्दै थियौँ तर, विद्युतीय उपकरण सञ्चालन गर्न समस्या भइरहेको थियो, दोङले भने, ‘गाउँमा बिजुली पुगेपछि हामी निकै नै खुसी छौँ, अब हाम्रो पनि दैनिकी सहज हुनेछ ।’ गाउँमा बिजुली पुगेपछि दोङ जस्तै चार सय घर परिवार खुसीले गदगद छन् ।


नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्रले नारायणखोलाको सत्रकठ्ठा, घुमाउने र मोटरदोभानसम्म बिजुली पुर्‍याएको जनाएको छ । प्राधिकरण र विभिन्न निकायको सहयोगबाट जिल्लाको दुर्गम ठाउँमा बिजुली पुर्‍याइएको केन्द्रका प्रमुख विजय महतोले बताए । ‘नारायणखोलासम्म बिजुली पुर्‍याउन प्राधिकरणको मात्रै ८० लाख हाराहारीमा खर्च भएको छ, नगरपालिका, प्रदेशसभा सदस्य बेची लुंगेलीको क्षेत्र विकास कोष र तराई–मधेस समृद्धि कार्यक्रमबाट समेत आर्थिक सहयोग पाएका छौँ, उनले भने, ‘सबैको सहयोगपछि मात्र दुर्गम ठाउँमा बिजुली पुर्‍याउन सफल भएका छौँ ।’


पहिलोपटक गाउँमा बिजुली पुगेपछि स्थानीयले घर–घरमा बत्ती बाल्न विद्युत् मिटर माग भएको र केही दिनभित्रै मिटर उपलब्ध गराइने लालबन्दी वितरण केन्द्रले जनाएको छ । भौगोलिक रूपमा विकट क्षेत्र रहेकाले विद्युत् प्रवाहमा समस्या आउँदा मर्मत सम्भारको काम गर्न जटिल हुने प्राधिकरणका प्राविधिकहरूले बताएका छन् ।


नारायणखोलामा बिजुली पुर्‍याउन पूर्वमन्त्री शम्भुलाल श्रेष्ठको पालादेखि नै पहल गरिएको थियो । स्थानीय सरकार गठन भएपछि निर्वाचित जनप्रतिनिधिले पनि दुर्गम गाउँमा बिजुली पुर्‍याउन पहल गरिरहेका थिए । निरन्तरको पहलपछि भौगोलिक रूपमा विकट मानिएको नारायणखोलामा बिजुली पुर्‍याउन पाउँदा खुसी लागेको लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्काले बताए ।

प्रकाशित : असार २४, २०७६ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?