१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

अस्पताल तोडफोडपछि बन्द

सर्लाही — सर्पले डसेर उपचारका लागि अस्पताल भर्ना भएकी एक बालिकाको मृत्यु भएपछि मृतकका आफन्तले सर्लाहीको नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा सोमबार राति तोडफोड गरेका छन् । तोडफोडपछि केन्द्रको सेवा ठप्प छ । 

अस्पताल तोडफोडपछि बन्द

हरिवन नगरपालिका–९ का पुष्कर बुढाथोकीकी अढाई वर्षीया छोरी सम्पदालाई सर्पले डसेपछि अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना भएर उपचार सुरु भएको केही घण्टापछि सम्पदाको मुत्यु भएपछि आक्रोशित आफन्तले अस्पताल तोडफोडमा उत्रेका थिए । तोडफोडबाट अस्पतालको आईसीयू, भेन्टिलेटरलगायतका उपकरणसहित झ्याल र ढोकामा समेत क्षति पुगेको छ ।

अस्पतालमा कार्यरत चिकित्सकले सुरक्षाको प्रत्याभूति नभएसम्म काममा नफर्कने जनाएका छन् । चिकित्सकको लापरबाहीले बालिकाको मृत्यु भएको भन्दै मृतकका आफन्त तोडफोडमा लागेपछि अस्पताल परिसर तनावग्रस्त बनेको थियो । बालिकाका आफन्तलाई जनप्रतिनिधि र सुरक्षा अधिकारीले सम्झाइ बुझाइ गरेपछि मात्र मृतकको शव आफन्तले बुझेका थिए ।


उपचार केन्द्रका व्यवस्थापक बोधराज काफ्लेले बालिकाको उपचारमा कुनै किसिमको लापारबाही नभएको दाबी गरे । उनले बालिकालाई हरसम्भव प्रयास गर्दा पनि बचाउन नसकिएको जानकारी दिए । व्यवस्थापक काफ्लेले राति बालिकाको आफन्तबाट गरिएको तोडफोडबाट अधिकांश उपकरणमा क्षति पुगेको हुनाले तत्काल सेवा सुचारु गर्न सक्ने अवस्था नरहेको बताए । ‘बालिकालाई दुई ठाउँमा गोमन सर्पले टोकेको थियो, चिकित्सकलाई बालिकाको नसा पत्ता लगाउनै गार्‍हो पर्‍यो, जसका कारण बालिकाको ज्यान गयो,’ उनले भने ।


सर्पदंशका बिरामी बढिरहेका बेला उपचार केन्द्र बन्द भएपछि उत्तरी क्षेत्रका नागरिक मारमा परेका छन् । सर्पको बिगबिगी हुने बेलामा उपचार केन्द्र बन्द भएपछि बिरामीलाई उपचार गराउन समस्या हुने स्थानीय सुदर्शन रिजालले बताए । ‘गर्मी बढेसँगै विषालु सर्पको बिगबिगी छ, नजिक उपचार केन्द्र हुँदा बिरामीलाई जोगाउन सजिलो थियो, सर्पदंशको मुख्य समयमा तोडफोड भएर उपचार केन्द्र बन्द भएपछि हामी मारमा परेका छौं ।’


नवलपुरबाहेकका जिल्लाको पश्चिम क्षेत्रमा पर्ने बरहथवा प्राथमिक स्वस्थ्य केन्द्र र जिल्ला अस्पताल मलंगवामा सर्पदंशका बिरामीको उपचार हुँदै आएको छ । गर्मी बढेसँगै जिल्लामा सर्पको टोकाइबाट चार जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित : असार २५, २०७६ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?