१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

असारे विकासको अनुगमन

आर्थिक वर्ष सकिन लाग्दा गुणस्तरहीन काममा मनलाग्दी खर्च गरेर बजेट सक्ने प्रपञ्चलाई टोलीको अनुगमनले निरुत्साहित गर्ने 
भरत जर्घामगर

(सिरहा) — जिल्ला समन्वय समितिको नेतृत्वमा प्रशासनसहितको टोलीले सिरहाका स्थानीय तहले गरेका योजनाको अनुगमन सुरु गरेको छ । जिल्ला स्थानीय तहले आर्थिक वर्ष समाप्ती हुन लाग्दासमेत विकास योजनाका काम जारी राखेको गुनासो बढेको बेला टोलीले अनुगमन थालेको हो ।

असारे विकासको अनुगमन

जिल्ला समन्वय समिति सिरहाका प्रमुख रामचन्द्र ठाकुर, उप प्रमुख सरोजकुमार यादव, प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, प्राविधिक सहितको टोलीले जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिकाले चालु वर्षका विकास योजनाको अवलोकन गरेको छ । टोलीले चालु वर्षमा सम्पन्न आरसीसी ढलान सडक, पुल, कालोपत्रे सडक लगायत पूर्वाधार निर्माणका कामको स्थलगत अवलोकन गरेको थियो ।


टोलीले सखुवानन्कारकट्टी–३ स्थित सरन्चिया, महादेवा, वडा ४ स्थित गाउँपालिका केन्द्र जोड्नका लागि ६०/६० लाख रुपैयाँ लगानीका ४ सयमिटर लम्बाईका आरसीसी ढलान सडकको अवलोकन गरेको थियो ।


त्यसैगरी टोलीले ४ करोड ९२ लाख रुपैयाँ लागतमा ८० प्रतिशत निर्माण भइसकेको कटनिया खोलाको पुल, मिर्जापुर चौकदेखि सरन्चियासम्मको ३८ लाख ५० हजार रुपैयाँ लागतमा निर्मित २ सय मिटर कालोपत्रे, रिटेनिङ पर्खाल, कल्भर्टको अवलोकन गरेको छ । डेढ करोड रुपैयाँ लागतमा निर्माण थालिएको नमुना उन्मुख विद्यालयको ४ कोठे पक्की भवनसहित चारैतिर वाउन्ड्री वालको टोलीले अवलोकन गर्‍यो ।


अवलोकनका क्रममा सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जिल्लाका स्थानीय तहहरूले माटो पुर्ने, ग्राभेल भर्ने काममा रकम खर्चने प्रवृत्ति रहेका बेला त्यसलाई निरुत्साहित गर्दै सखुवानन्कारकट्टी गाउँपालिकाले आरसीसी ढलान, कालोपत्रे, विद्यालय भवनलगायत पूर्वाधार विकास जस्ता ठोस काममा खर्च गरेको बताए ।


‘गाउँपालिकाले ठोस योजनामा काम गरेको देखियो,’ उनले भने, ‘जिल्ला समन्वय समितिको नेतृत्वमा अन्य स्थानीय तहमा भएका योजनाको अवलोकन थाल्छौं ।’ योजनाको अवलोकनले स्थानीय तहमा हुने अपारदर्शी खर्च रोक्न र सच्याउन सहयोग पुग्ने भएकाले यसको थालनी गरिएको टोलीमा संलग्न पदाधिकारीको भनाइ छ ।


अवलोकन टोलीका नेतृत्व एवं जिल्ला समन्वय समिति सिरहाका प्रमुख रामचन्द्र ठाकुरले स्थानीय तहलाई पारदर्शी र ठोस विकास योजनामा बजेट खर्चन सहयोग पुगोस भन्ने हेतुले अनुगमन सुरु गरिएको बताए ।


सखुवानन्कारकट्टी गाउँपालिका अध्यक्ष केदारनाथ यादवका अनुसार विनियोजित बजेटमध्ये अधिकांश आरसीसी ढलान सडक, कालोपत्रे, पुल, विद्युतीकरण, खानेपानीलगायत ठूला विकास पूर्वाधारका योजनामा बजेट विनियोजन गरेको थियो । ‘अधिकांश विकास योजनाका काम सम्पन्न भइसकेका छन्,’ उनले भने ‘क्रमागतरूपमा रहेका योजनाको काम मात्र बाँकी छन्, ती योजनाका काम समेत सूचारु छन् ।’


प्रकाशित : असार २६, २०७६ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?